बुधबार, भाद्र ३ गते २०८३

हिन्दूका विषयमा फरक मत


कार्तिक ६, २०८० सोमबार
हिन्दूका विषयमा फरक मत
Hari Manjushree.jpg
हरि मञ्जुश्री
अचेल केही मानिसहरू हामी हिन्दू होइनौँ, हामी त वैदिक सनातनी हौँ, मस्टोपूजक हौँ, प्रकृतिपूजक हौँ, किरात हौँ, बौद्ध हौँ, जैन हौँ, इसाई हौँ, इस्लाम हौँ, यहुदी हौँ आदि भन्छन् । कोही सिन्धु शब्दबाट हिन्दू शब्द बनेको हो र हिन्दू भनेका वैदिक सनातनी हुन् भन्छन्, कोही मस्टोपूजक, प्रकृतिपूजक, किरात आदि हिन्दू होइनन् भन्छन् । आफूलाई वैदिक सनातनी, मस्टोपूजक, प्रकृतिपूजक, किरात, बौद्ध, जैन, इसाई, इस्लाम, यहुदी आदि भन्नेहरूले मानेका देवीदेवताले हामी फलानाका मात्रै देवीदेवता हौँ, हामी उनीहरूलाई मात्रै सहायता गर्छौं भनेको चाहिँ कतै पढिएको छैन ।
हिन्दू सभ्यता, हिन्दू सम्पदा, हिन्दू देवता, हिन्दू धर्म जस्ता हिन्दूसँग सम्बन्धित विषयलाई लिएर सामाजिक सन्जालमा अनेकौँ प्रसङ्गहरू आइरहेका हुनाले हिन्दू शब्दको वास्तविक अर्थ के रहेछ त भनेर खोज्ने प्रयास गरियो । जे भेटियो, त्यसका आधारमा मेरो बुझाइ अलि फरक किसिमको बन्यो । मैले बुझेको कुरो नै सत्य हो भन्ने दावी मेरो छैन । सत्यसम्म पुग्न कसैलाई सहयोग होला कि भन्ने आशयले मात्रै मैले भेटेका कुरा यहाँ प्रस्तुत गर्ने जमर्को गरेको हुँ ।
संस्कृत भाषामा लेखिएको ‘रामकोश’ नामक पुस्तकमा ‘हिन्दू’ शब्दको अर्थ खुलाइएको रहेछ । त्यो श्लोक रहेछ — ‘हिन्दूर्दुष्टो न भवति नानार्यो न विदूषकः । सद्धर्मपालको विद्वान् श्रौतधर्मपरायणः ।।’ यस श्लोकको अर्थ हो हिन्दूहरू दुष्ट हुँदैनन्, अनार्य या असभ्य हुँदैनन्, अरूको निन्दा गर्दैनन् । जो सत्यधर्मको पालना गर्छ, जो विद्वान् छ, जो परम्परागत धर्मप्रति आस्था राख्छ, त्यही नै हिन्दू हो ।
‘शाकपूणिसंहिता’ पुस्तकमा लेखिएको रहेछ — ‘हिनोति धर्मविज्ञानं नयत्यात्मानमुन्नतिम् । दुनोति दुष्टवृत्तस्थान् स वै हिन्दूरितिस्मृतम् ।।’ अर्थात् जसले अज्ञानलाई हटाउँछ, जसले आत्मालाई उन्नतिको मार्गतिर लैजान्छ र जसले खराब प्रवृत्तिलाई फालिदिन्छ, त्यसलाई हिन्दू भनिन्छ ।
‘गोषु भक्तिर्भवेद्यस्य सदाचरणतत्परः । स वै हिन्दूरिति प्रोक्तः श्रुतिस्मृतिपथेस्थितः ।।’ यो ‘†यम्बकरहस्य’ पुस्तकको श्लोक रहेछ । यस श्लोकले भने अनुसार जसले गाईलाई माया गर्छ, जो असल आचरणमा बसेको छ, जो सदाचारी हुन्छ, जो पूर्वजबाट थाहा पाएका कुराको अनुसरण गर्छ, त्यसैलाई हिन्दू भनिन्छ ।
‘हिनस्ति तपसा पापान् दैहिकान् दुष्टमानसान् । हेतिभिः शत्रुवर्गं च स हिन्दूरभिधीयते ।।’ यो श्लोक ‘पारिजातहरण’ नामक नाट्यपुस्तकमा रहेछ । यस श्लोकले भनेको छ जसले साधना गरेर आफ्नो शरीरमा भएको र मनलाई दूषित गराउने दोषहरू नाश गराउँछ र जसले काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता शत्रुलाई संहार गर्दछ, त्यो नै हिन्दू हो ।
यस्ता चरित्रका हिन्दूहरू पहिले पूर्वतर्फ पर्वतराज हिमालयको पल्लो छेउदेखि पश्चिमतर्फ इन्दुसरोवरसम्मको देवनिर्मित विस्तृत भूभागमा बस्ता रहेछन् । यस विषयमा ‘बृहस्पति आगम’ भन्ने पुस्तकमा लेखिएको रहेछ — ‘हिमालयं समारभ्य यावदिन्दुसरोवरम् । तं देवनिर्मितं देशं हिन्दूस्थानं प्रचक्षते ।।’ यस श्लोकका अनुसार हिमालयको प्रारम्भ भएको ठाउँदेखि सुरु भएर इन्दुसरोवर भएको ठाउँसम्म फैलेको देवनिर्मित देशलाई हिन्दूस्थान भन्नुपर्ने रहेछ । हिमालयको प्रारम्भ भएको ठाउँ हालको भुटानको पूर्वी भागदेखि पश्चिम इन्दुसरोवर अथवा हाल इन्डियाको हिमाचल प्रदेशमा पर्ने चन्द्रताल (इन्दु भनेको चन्द्र, सरोवर भनेको ताल) सम्म फैलेको भूभाग नै हिन्दूस्थान रहेछ । त्यो क्षेत्र पूर्व–पश्चिम करिब २४ सय किलोमिटरमा फैलेको रहेछ । पछि त्यो हिन्दूस्थान हालको अफगानिस्थानसम्म पुगेछ । त्यसैले पहिलेको नेपाल राष्ट्रको अधिकांश भूभाग हिन्दूस्थान रहेछ । अहिलेको इन्डियालाई हिन्दूस्थान भनेको त ब्रिटिसहरूले रहेछ । नेपाल राष्ट्र पहिल्यैदेखि रहेछ, इन्डियाचाहिँ पछि बनेको राष्ट्र रहेछ । नेपालको दक्षिणी भूभागलाई ब्रिटिसहरूले हिन्दूस्थान भन्न थालेकाले पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दूस्थान भन्नुपरेको रहेछ ।
असली हिन्दूस्थानमा बस्ने हिमाली सभ्यताका ती सनातनीहरू ‘कृण्वन्तो विश्वमार्यम्’ अर्थात् विश्वभरिका मानिसलाई सभ्य बनाऊँ भन्दै पूर्व, पश्चिम, उत्तर, दक्षिण चारै दिशातिर लागेका रहेछन् । उनीहरूले विश्वभरिका मानिसलाई सभ्य बनाउँदै जाँदा जहाँ–जहाँ पुगेछन्, त्यहाँ–त्यहाँका मानिसले तिनै सनातनीहरूले दिएको शिक्षाका आधारमा अनेकौँ पन्थ खडा गरेछन् । कालान्तरमा तिनै पन्थहरूलाई ‘धर्म’ भन्न थालिएछ । फलतः विभिन्न नाउँका धर्महरू देखिएछन् । त्यसैले ‘धर्म’ नाउँ दिइएका जति पनि पन्थहरू छन्, ती सबैको मूल सनातन वैदिक धर्म नै रहेछ ।
यी सबै उदाहरणबाट ‘हिन्दू’ शब्द ‘सिन्धु’ बाट बनेको होइन, बरू मानिसको चरित्रसँग सम्बन्धित संस्कृत भाषाको शब्द हो भन्ने थाहा हुँदो रहेछ । चरित्रले मूल स्वभाव चिनाउने र मूल स्वभाव नै धर्मको रूप हुने भएकाले हिन्दू शब्दलाई धर्मभन्दा पृथक् अर्थमा लिइरहनु आवश्यक रहेनछ । त्यसैले मस्टोपूजक, प्रकृतिपूजक, किरात, बौद्ध, जैन आदिजस्ता वैदिक सनातनी र इसाई, इस्लाम, यहुदी आदि जुनसुकै पन्थी भए पनि जो असल चरित्रको छ त्यो हिन्दू हो र जो खराब चरित्रको छ त्यो हिन्दू होइन भन्नुपर्ने रहेछ । बौद्ध, जैन, इसाई, इस्लाम, यहुदी जस्ता कुनै पनि पन्थको भए पनि कुनै मानिस ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत्’ भन्ने सिद्धान्तको अवलम्बन गर्ने सच्चरित्रवान् रहेछ भने उसलाई वैदिक सनातनीबाट छुट्टिएको फलानोपन्थी हिन्दू भन्नुपर्ने रहेछ । यसबाट के बुझिन्छ भने उल्लिखित चरित्र भएका वैदिक सनातनीहरूलाई हिन्दू भनिएको रहेछ र हिन्दू बन्नका लागि ती चरित्र धारण गर्नुपर्ने रहेछ ।
(यहाँ मैले बौद्ध, जैन, इसाई, इस्लाम, यहुदी आदिलाई पन्थ लेखेको छु, धर्म शब्द प्रयोग गरेको छैन । धर्म भनेको पर–भाव होइन, स्व–भाव हो । आगोको स्वभाव पोल्नु हो, त्यसैले पोल्नु नै आगोको धर्म हो । आगोले वैदिक सनातनी, बौद्ध, जैन, इसाई, इस्लाम, यहुदी सबैलाई पोल्छ । मानिसको स्वभाव मानिसको कल्याण गर्नु हो र मानिसको धर्म पनि त्यही हो । यो कुरा जुनसुकै पन्थीले पनि स्वीकारेका छन् । त्यसैले जुनसुकै नाउँ दिए पनि या नाउँ नै नदिए पनि धर्म एकभन्दा बढी हुँदैन, पन्थचाहिँ जतिसुकै पनि हुन सक्छन् ।)
Hindu.jpg
 
साभार - हरिमञ्जुश्रीकाे मुहारपुस्तिकाबाट