शनिबार, आश्विन १७ गते २०८३

सोमबार १६२ अंकले बढ्यो परिसूचक, शेयर बजारमा हरियाली

भाद्र २१, २०७८ सोमबार
सोमबार १६२ अंकले बढ्यो परिसूचक, शेयर बजारमा हरियाली

 

सेयर बजारको मूल्य परिसूचक नेप्से १६२ अंकले वृद्धि भएको छ । केहि दिन यता निरन्तर ओरालो लोगको परिसूचक आज बढेर २९८० अंकमा पुगेको हो । 

दिनभरमा १८५ वटा कम्पनीको सेयर किनबेच भएकोमा सबै कम्पनीको सेयर मूल्य वढेको छ । त्यसमा ४२ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिशतका आधारमा ५.७४ प्रतिशतले मूल्य वृद्धि भएको छ भने ९ अर्ब ८२ करोड रुपैयाँ बराबर भएको छ ।

आइतबार मात्रै बजारमा १०८ अंकले गिरावट आएको थियो भने पाँच प्रतिशतले बजार घटेपछि नेप्सेमा सर्किट ब्रेक लागेको थियो । 

मूल्यमा उच्च गिरावट आएपछि लगानीकर्ताको एउटा समूहले आईतबार नै गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेको थियो भने सोमबार विरोध प्रर्दशन गर्दै राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ।

लगानीकर्ताको साहानुभूति लिन अर्थमन्त्री जनार्दन शर्माले सोमबार विहान गभर्नर अधिकारीसँग टेलिफोन कुराकानी गरेको र सेयर बजारप्रति नकारात्मक असर पार्ने नीतिमा परिमार्जन गर्न निर्देशन दिएका हुन् । 

सम्पत्तिको हकमाथि प्रहार गार नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको सिमा लगाएको समितिको आरोप छ । मौद्रिक नीतिमार्फत समग्र पुँजी बजारको विकासको बाधक बनेको भन्दै यो व्यवस्था तुरुन्त खारेज गर्न समितिले माग गरेको छ ।

लघुवित्त कम्पनीहरुले रिजर्व राख्नुपर्ने अनुचित र अव्यवहारिक व्यवस्थालाई तत्काल खारेज गर्न, असल कर्जा सम्बन्धी व्यवस्थालाई तत्काल संशोधन गरी १ प्रतिशत नै कायम गर्न र बैंक तथा वित्तिय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोकिएको विद्यमान समयावधिलाई संशोधन गरी १२० दिनको औसत मूल्य कायम गर्न उनीहरुले माग गरेका छन् । 

लगानीकर्ताले लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउन र प्रोभिजनिङको व्यवस्था परिमार्जन गर्न समेत माग गरिएको छ ।