बुधबार, भाद्र ३ गते २०८३

श्रीलंकामा खाद्य संकटकाल र लिनुपर्ने शिक्षा

भाद्र २१, २०७८ सोमबार
श्रीलंकामा खाद्य संकटकाल र लिनुपर्ने शिक्षा

हुन त अहिले बिश्वमा अफगािनस्तानकै खबर छाइरहेको छ । यो अस्वाभाबिक पनि होइन । तर कोरोनाका कारण नाजुक भएको अर्थतन्त्रले श्रीलंकामा जुन समस्या खडा भएको छ त्यसले नेपाल जस्तो देशले पनि समयमै शिक्षा लिएन भने त्यसबाट उत्पन्न हुने स्थितिले ठूला र अपूर्ब मूल्य चुकाउनु पर्ने खतरनाक स्थित देखिन्छ । यस क्रममा श्रीलंका सरकारले खानेपिनेका  कुनै पनि सामानको जम्माखोरी र मुनाफाखोरीका बिरूध्द कठोर कदमको घोषणा गरेको छ ।

यतिबेला श्रीलंकामा टाइम बम जस्तै गरी खाद्य संकट कालको घोषणा गरिएको छ । यस सम्बन्धमा जानकारहरू भनिरहेका छन् कि श्रीलंककाको यो संकट केवल खानेपिनेको संकट मात्र होइन, श्रीलंकाको अर्थब्यवस्थामा उत्पन्न भएको ठूलो संकटकै संकेत हो र वास्तवमा यो खाद्य मात्रै होइन, आर्थिक आपतकालकै घोषणा हो । बास्तबमा भन्ने हो भने कोरोना कालको स्थितिलाइ  हल्का किसिमले लिने या लिइरहेका मानिसहरूका लागि अत्यन्तै ठूलो खतराको घण्टी सरह हो ।

कोरोना कालमा श्रीलंकाको पर्यटन उद्योग प्रायः शून्य स्थितिमा पुग्यो । अनि श्रीलंका जुन चीजहरूको निर्यातमा निर्भर थियो त्यसमा पनि धेरै ठूलो गिरावट हुन पुग्यो । बिदेशी लगानीमा पनि कमी  मात्र आएन बिदेशी लगानीकर्ताहरूले शेयर बजारबाट पनि ठूलो परिमाणामा पैसा निकालेर लगे । यी दुबै कुराको असर श्रीलंकाको बिदेशी मुद्रा बजारमा पर्न गयो । जसले गर्दा मुद्रा बजारमा श्रीलंकाको पैसाको तुलनामा डलर ७.५ प्रतिशतभन्दा बढी मँहगो पर्न गयो । अनि गएको अगष्ट महिनामा मात्रै श्रीलंकामा मँहगीको दरमा छ प्रतिशतको उछाल देखियो ।

 बजारमा मूल्यको स्थिति मूल्यांकन गर्नुभन्दा पहिला के जान्नु जरूरी छ भने श्रीलंकामा एक भारतीय रूपैयाँमा २.७५ श्रीलंकाली रूपैया हुनजान्छ । अनि एक डलरको मूल्य श्रीलंकामा दुइ सय रूपैयाभन्दा बढी भइसकेको छ । यस सम्बन्धमा कोलम्बोको एउटा वेभ साइटले मँहगाइको स्थिति देखाउनका लागि केही कुराहरूको अगस्ट २०२० र अगस्ट २०२१ को मूल्य उल्लेख गरेको छ । त्यसले एक किलो हरियो मुँग ३४१ रूपैयाँबाट बढेर ८२८ पुगेको देखाइएको छ ।

त्यसैगरी प्याज रू.२१९बाट बढेर ३२२, दाल १६७ बाट २५० चिनी १३५बाट २२०, काबुली चना २४० बाट ३१४, सुखा माछा ६८८ बाट ९२६ रूपैया पुगेको देखाइएको छ ।यसरी स्पष्ट छ कि धेरैजसो बस्तुहरूको मूल्य ३० देखि २०० प्रतिशतसम्म बढेको छ ।

यसरी मूल्य मात्र बढेको छैन त्यहाँ सामानको अभाव पनि बढ्दै गएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले दिएको खबर अनुसार पसल बाहिर श्रीलंकामा क्रेताहरूको लामो लामो लर्काे देखिन थालेको छ ।

यस प्रकार श्रीलंकामा सामान अभावको सबैभन्दा ठूलो कारण श्रीलंकाले देशका लागि चाहिने ज्यादाजसो सामान पैठारी गर्ने गर्दछ । अनि यतिबेला श्रीलंकासँग पैठारीका लागि बिदेशी मुद्राको ठूलो अभाव छ ।

जतिबेला २०१९ मा श्रीलंकामा राजपाक्षे सरकार बनेको थियो त्यतिबेला श्रीलंकामा झण्डै ७.५ अर्ब डलर जति बिदेशी मुद्राको भण्डार थियो । तर यस बर्ष जुलाइको अन्त्यसम्ममा यसमा गिरावट भएर २.८ अर्ब डलर रहन गएको छ । त्यसयता पनि बैंकबाट बिदेशी पैसा निकाल्ने क्रम जारी रहेको छ ।बर्तमान सरकारको कार्यकालमा श्रीलंकाको मुद्राको मूल्य लगभग २० प्रतिशतले गिरावट भइसकेको छ । अर्काेतिर बिश्व बजारमा बस्तुहरूको मूल्य उछालिएको छ ।

यसको अर्काे परिणाम के भएको छ भने नीजी बैंकहरूले पैठारीका लागि दिन उनीहरूसँग पैसा(डलर) नभएको बताइसकेका छन् । उता सरकारी अधिकारीहरू   अनाज र चिनीको गोदाममा छापा मारेर तिनको स्टक पनि जफत गर्न थालेका छन् ।यसरी हजारभन्दा बढी छापामारी भइसकेको बताइन्छ । अनि खाद्य सामाग्रीको मूल्य पनि तोक्न थालिएको छ । राष्ट्रपति राजपाक्षेले आबश्यक बस्तुहरूको मूल्य नियन्त्रणको घोषाणा नै गरिसकेका छन् ।

यो संकट कोरोनासँगसँगै आएको थियो । अब २.२ करोड जनसंख्या भएको श्रीलंकामा दिनदिनै २०० जति कोरोना बिमारीहरू बढ्दै गएको बताइदैछ । केही समय पहिला श्रीलंकामा १६ दिनको कोरोना कर्फ्यू लगाइएको थियो । कोरोना कालमा निर्यातमा पनि ठूलो नकारात्मक असर परेको छ । हुन त जुलाइ महिनामा श्रीलंकबाट निर्यात कोरोनाभन्दा पहिलाको स्थितिमा पुगिसकेको थियो तर करेन्सीको गिर्दाे मूल्यका कारण त्यसको पनि श्रीलंकाले फाइदा उठाउन सकेन । अर्कातिर बिदेशबाट प्राप्त भइरहेका सामानहरूको बील तिर्न पनि ठूलो कठिनाइ भइरहेको थियो । यसकारण कोरोना संकट शुरू हुनुकासाथै धेरैजसो अनाबश्यक चीजहरूको पैठारीमा प्रतिबन्ध जस्तै छ । हालै सरकारका एक मन्त्रीले तेल बचाउनका लागि गाडीहरू कम चलाउन अपिल गरेबाट पनि यो कुरा प्रष्ट हुन्छ ।

संकट यति मात्र होइन, श्रीलंकामािथ बिदेशी ऋणको भारत पनि धेरै ठूलो छ । मुडीज नामको निगरानी संस्थाले जनाए अनुसार अबका चार–पाँच बर्षसम्म त केवल ऋण र ब्याज तिर्नका लागि नै श्रीलंकाका लागि प्रति बर्ष ५ अर्ब डलरको जरूरत पर्नेछ । यस्तो नाजुक अबस्था बन्दै गएको श्रीलंकाका लागि अहिले बिदेशी छिमेकीहरूले सहयोग पनि गरिरहेका छन् । शायद इतिहासमै पहिलो पटक बंगलादेशले श्रीलंकालाइ आर्थिक मद्दत गरेको छ बिदेशी मुद्रा उपलब्ध गराएर । यसभन्दा पहिला दक्षिण कोरिया र चीनले पनि श्रीलंकाका लागि ५०–५० करोड डलर ऋण दिसकेका छन् । चीनको केन्द्रिय बैंकले श्रीलंकाका लागि त्यस्तै डेढ अर्ब डलर स्वेप सम्झौता अन्तरगत दिएको छ । भारतसँग पनि श्रीलंकाले गएको जूनमा १० करोड डलर ऋण लिइसकेको छ । यसरी श्रीलंका कोरोना कालयता गहिरो संकटमा फँसेको छ । यसबाट बाहिर निस्कन धेरै कठिन छ ।श्रीलंकाको स्थितिबाट समयमै शिक्षा लिनु उचित हुनेछ ।