यतिबेला पश्चिम एशियामा पेलेस्टीन र इजरायलका बीच अर्को युद्ध छेडिएको छ । यसको बिश्व राजनीतिमा दूरगामी र ठूलो असर पर्ने बिश्लेषकहरु उल्लेख गरिरहेका छन् र भन्न थलेका छन् कि पश्चिम एशिया नयाँ यूक्रेन बन्न सक्छ । यसलाई बिद्यमान बिश्व ब्यवस्था नै कमजोर हुने र सम्भवतः धराशायी हुने संकेतकोरुपमा पनि उनीहरुले लिइरहेका छन् । अमेरिकाको नेतृत्वमा जस्तो प्रकारले पश्चिमा देशहरु यतिबेला रुसका बिरुद्ध यूक्रेनलाई हतियारले सुसज्जित तुल्याइरहेका थिए ठीक त्यसैबेला पेलेस्टीनहरुको स्वाधीनताका निम्ति बर्षौंदेखि संघर्ष गरिरहेकाको तर पश्चिमा शक्तिहरुले उग्रबादी करार गरिएको हमासले इजरायलका बिरुद्ध नयाँ युद्धको शायद तयारी गरिरहेको थियो । त्यसैले उसले इजरायलमाथि गरेको सैन्य आक्रमण अप्रत्याशित र सुनियोजित जस्तो धेरैलाई लागिरहेको छ । त्यसले गर्दा चौतर्फी सतर्क रहने गरेको इजरायली सेना पनि पेलेस्टिनी पछिल्लो हमलाका बेला हक्क न बक्क रहेको देखिएको पश्चिमा बिश्लेषकहरु नै औंल्याइरहेका छन् । हुन पनि इजरायलले पेलेस्टिनहरुको जुन क्षेत्रमा कब्जा गरी आवासीय क्षेत्र बनाएर बस्ती बसालेको थियो त्यस क्षेत्रमा रहेका यहूदीहरुको जन धनका लागि ठूलो संकट अहिले पैदा हुन आएको छ । सबैभन्दा आश्चर्यको कुरा त के औंल्याइदैछ भने हमासले पेलेस्टिी क्षेत्रमा तैनाथ इजरायलका प्रमुख सेना अधिकारी मेजर जनरल निमरोड एंलोनीलाई बन्दी बनाएको छ । त्यसका अतिरिक्त दर्जनौ इजरायली सेना हमासको कब्जामा रहेका छन् ।
इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले यस घटना क्रमलाई इजरायलमाथिकाो हमला भनिरहेका छन् । यसले प्रष्ट पार्दछ कि इजरायले जवाफी कारबाही गर्नेछ र गाजापट्टी समेत पेलेस्टिनी क्षेत्रमा ठूलो बर्बादी ल्याउने छ । यद्यपि दशकौदेखि स्वाधीनताका निमित्त लड्दै आएका पेलिस्टिनीहरुका लागि भने त्यस्तो इजरायली आक्रमण कुनै नयाँ कुरा होइन । नया कुरा त के हो भने लामो सयम पछि इजरायललाई पेलेस्टिनी क्षेत्र कब्जा गरेकोमा यतिबेला नोक्सानी ब्यहोर्नु परिरहेको छ । यो घटनालाई लिएर अमेरिका तथा पश्चिमा देशहरु सबै हमासलाई एक मुखले दोषी ठहराउन कस्सिएका छन् र निन्दा गरिहेका छन् । तर त्यो क्षेत्रलाई रक्त रञ्चित तुल्याउन ती देशहरु कम जिम्मेवार छैनन् । इजरायलको सुरक्षा तथा पेलेस्टिनहरुको न्यायसंगत अधिकारहरुको रक्षाका लागि यदि गम्भीर उपाहरुको अबलम्बन गरेको भए शायद यस्तो स्थिति उत्पन्न हुने नै थिएन ।
अर्को कुरा हमासको आक्रमण त्यस्तो बेलामा भएको छ जति बेला इजरायलमा राजनीतिक असन्तोष र अस्थिरताको महोल रहेको छ । नेतान्याहूले अघि सारेको सुधारको कार्यक्रमलाई लिएर त्यहाँ लामो समयदेखि बिरोध प्रदर्शनहरु भइरहेका छन् । त्यस्तो स्थितिमा सुरक्षा शक्तिले पनि आबश्यक सतर्कता लिन पाइरहेको हुँदैन । यस्तो स्थिति बिश्वका अन्य देशका लागि पनि बिशेष सन्देश हुनसक्छ । राष्ट्रिय असुरक्षाको गम्भीर स्थिति उत्पन्न हुन पनि सक्छ ।
बिश्व यो घटना क्रमलाई लिएर बिभाजित छ । हुन त पहिलादेखिनै पेलेस्टिनीहरुको स्वाधीन राज्यको पक्षमा बिश्व जनमत रहेको छ भने अमेरिका लगायत पश्चिमा देश प्राय सबै इजरायलको पक्षमा रहँदै आएका छन् । यतिबेला पेलेस्टिनी घटना क्रमलाई लिएर इरानले हमासको समर्थन गरिरहेको छ । इस्लामी देशहरु पेलेस्टिन र इजरायल दुबै पक्षलाई संयम बर्तिन अपिल पनि गरिरहेका छन् । यसमा इजरायलको जबाफी हमलाले गरेको बर्बादीको सूचना बाहिर आउँदछ त्यतिबेला इस्लामी देशहरु अझ मुखर भएर पेलेस्टिनहरुको पक्षमा खडा हुने देखिन्छ ।
अमेरिकाले हालै भारत र पश्चिम एशियाका देशहरुलााई लिएर बिभिन्न कूटनीतिक तथा आर्थिक पहल शुरु गरेको छ । हालै भारत र यूरोपका बीच पनि एउटा नया परिबहनको बाटो खोलिएको छ । जसमा भारत, संयुक्त अरब इमिरेट्स, साऊदी अबर, जोर्डन र इजरायल पनि सामेल छन् । युद्धको बर्तमान नयाँ स्थितिले ती पहलहरुमाथि प्रश्न चिन्ह खडा गर्दिएको छ । पूर्बी यूरोपमा यूक्रेन पछि यो पश्चिम एशिया क्षेत्रमा एउटा अर्को यूक्रेन बन्न जानाले अन्तर्राष्ट्रि चालु ब्यवस्थामाथि नै संकट पैदा भइसकेको छ । कतिपय देशका नेताहरुको आजको युग युद्धको युग होइन भन्ने कथन पनि फिका कुरा जस्तो मात्र प्रतीत हुन थालेको छ । भनिदैछ कि यूक्रेन संकटको समाधानका लागि यदि अमेरिका र पश्चिमा देशहरुले कूटनीति र बार्ताको सहारा लिएको भए सम्भवतः अहिले पेलेस्टिन–इजरायल युद्धको यो गम्भीर स्थिति उत्पन्न हुने थिएन ।
हुन त भन्नका लागि अमेरिका र पश्चिमा देशहरु पनि पेलेस्टिनहरुसँग सह–अस्तित्वको कुरा गर्न पछि पर्दैनन् । क्याम्प डेभिड बार्ताकोरुपमा यो पहल धेरै पहिला भएको पनि थियो । तर त्यो बार्तालाई पछिल्लो लामो समयदेखि बिर्सिएको स्थिति छ । किनभने त्यस क्याम्प डेभिड बार्ताको मर्म र भावना बिपरीत पेलेस्टिनी क्षेत्रमा यहूदी बस्तीहरुको निर्माणको कार्य इजरायलले तीब्र गतिमा अहिले पनि जारी राखेको छ । बिश्वमा न्याय, समानता र स्वाधीनताको खोजी गर्ने आवाज उठाउने देशहरुको यतिबेला के जिम्मेवारी हुन्छ भने यूक्रेन युद्धको अन्त्य गर्नका लागि नयाा सिराबाट गम्भीर प्रयास उनीहरुले शुरु गरुन् । यस कार्यमा चीन, भारत,दक्षिण अफ्रिका र ब्राजिल जस्ता देशहरुले अग्रसरता लिन र सकारात्मक भूमिका निर्बहन गर्न सक्दछन् भन्ने आशा पनि गरिदैछ । तिनका बीच रक्षा र गुप्तचरी सहयोग पनि उच्चतर स्तरमा रहेको समेत यस सन्दर्भमा उल्लेख गरिन्छ । बिश्वमाा धेरै देशहरु पेलेस्टिनहरुको स्वाधीनता र सुरक्षाका लागि बर्षौदेखि आवाज उठाउदै आएका पनि छन् । तर पश्चिमा हठले गर्दा त्यसको जग बस्न नै सकेको छैन ।
नेपालपत्र संवाददाता