आइतबार, आश्विन १८ गते २०८३

रुकुमेली वाङमय अधिष्ठानको प्रथम साधारण सभा आज काठमाडौंमा सम्पन्न


आश्विन २०, २०८० शनिबार
रुकुमेली वाङमय अधिष्ठानको प्रथम साधारण सभा आज काठमाडौंमा सम्पन्न
 
सिर्जना शर्मा
 
काठमाण्डाै । नेपाली वाङमयको उत्थानका निम्ति रुकुम जिल्लाका स्रष्टाहरूद्वारा गठित रुकुमेली वाङमय अधिष्ठानको प्रथम साधारण सभा आज असोज २० गते काठमाण्डौमा सम्पन्न भएको छ । अधिष्ठानका तदर्थ समितिका अध्यक्ष भूपेन्द्रा मल्लको अध्यक्षतामा सन्चालित समारोहमा संस्थाका ज्येष्ठ सदस्य काशीनाथ उपाध्यायले कलशमा दीप प्रज्ज्वलन गरी सभाको उदघाटन गर्नुभएको थियो। सभामा संस्थाका सदस्य अभिराज आचार्यले वाङमय गठन गर्नुको औचित्य तथा महत्त्व र रुकुमेली साहित्य एवम् संस्कृतिको सम्बन्धमा प्रकाश पार्नुभएको थियो भने संस्थाका अर्का सदस्य पूर्वराज्यमन्त्री मिठ्ठू मल्लले रुकुमेली कला, साहित्य र संस्कृतिको उन्नयनको लागि चालिनुपर्ने कदमको विषयमा प्रकाश पार्नुभएको थियो ।
उक्त साधारणसभामा तदर्थ समितिका सचिव पूर्ण ओलीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सिर्जना शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने तदर्थ समितिका अध्यक्ष भूपेन्द्रा मल्लले कार्यसमितिले हालसम्म गरेका कामहरूको समीक्षा गर्दै कवितात्मक शुभकामना प्रकट गर्नुभएको थियो। साथै स्रष्टाहरू अरूणकुमार शाह, माधव थापा, जय देवकोटा, सुमित्रा बुढा तथा गोपाल पुनले लोकलयका सुमधुर गीत गाएर सहभागीहरूलाई मन्त्रमुग्ध पार्नु भएको थियो भने विवेक शर्मा गौतम र मन ओली केसीले रचना सुनाउनुभएको थियो ।
यसैबीच उक्त साधारण सभाले यसपूर्वको तदर्थ समिति भङ्गगरी भूपेन्द्रा मल्लको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा अरूणकुमार शाह, सचिव पूर्ण ओली, कोषाध्यक्ष सिर्जना शर्मा, सह-सचिव ज्ञानु बिसी, सदस्यहरूमा माधव थापा, गंगा बि.सी., केशवप्रसाद शर्मा, जय देवकोटा, रविप्रकाश मल्ल, कुमारी बाँठामगर, सुमित्रा बुढा र एक्कबहादुर के, सी. चयन हुनुभएको छ। साथै सभाले तदर्थ समितिमा रहनुभएका सम्मानित सदस्यहरू पूर्वमन्त्री लोकेन्द्र बिष्टमगर, पूर्व सहसचिव भरतकुमार शर्मा र पूर्व क्याम्पस प्रमुख मिनबहादुर पुनलाई सल्लाहकारमा राख्ने निर्णय गरेको छ । नयाँ कार्यसमिति चयन गर्नका काशीनाथ उपाध्यायको संयोजकत्वमा गठित निर्वाचक मन्डल को सदस्यहरूमा मिठ्ठू मल्ल र ऋशेश्वर शर्मा रहनुभएको थियो। संस्थाका सदस्य अरुणकुमार शाहको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सिर्जना शर्माले गर्नुभएको थियो।