शुक्रबार, कार्तिक ७ गते २०८३

वास्तुकला यस्तो हुनुपर्छ, जसले मानव हृदयलाई उत्प्रेरणा जगाओस्; सिर्जनशील काम हाम्रो जमानामा सामुहिक (संगठनात्मक) रुपले व्यक्त हुनुपर्छ.... : केन्जो टाङ्गे


आश्विन १५, २०८० सोमबार
वास्तुकला यस्तो हुनुपर्छ, जसले मानव हृदयलाई उत्प्रेरणा जगाओस्; सिर्जनशील काम हाम्रो जमानामा सामुहिक (संगठनात्मक) रुपले व्यक्त हुनुपर्छ.... : केन्जो टाङ्गे
केन्जो टाङ्गे (१९१३–२००५) प्रख्यात जापानी वास्तुविद (आर्किटेक्ट) हुन् । यिनले आर्किटेक्टमा सबभन्दा प्रतिष्ठित पुरस्कार तथा सम्मान पाएका थिए । २०३५ साल (सन् १९७८) मा लुम्बिनीस्थित बुद्ध जन्मस्थलको गुरुयोजना (मास्टर प्लान) उनैको सिर्जना हो । राष्ट्र संघका तत्कालीन महासचिव (१०६१-७१) उ थान्ट (१९०९-१९७४) ले लुम्बिनी गुरुयोजनाका लागि गम्भीरतापूर्वक चासो लिएपछि उनैको सल्लाहमा यी विश्व प्रख्यात आर्किटेक्टलाई लुम्बिनीको मास्टर प्लान तयार गर्न नेपाल सरकारले जिम्मा लगायो ।
उनले सो गुरुयोजनाका लागि करिब १३ सय विघा जमिन अधिग्रहण गर्नुपर्ने सल्लाह दिएका थिए । नेपाली योजनाकारका हातमा यो काम आएको भए उनीहरूले धेरैमा काठमाडौँको टुँडिखेल जति पनि जमिन अधिग्रहण गर्थे कि गर्दैनथे ।
यिनले हिरोशिमा राष्ट्रिय शान्ति उद्यानको गुरुयोजना (१९४९) बनाएपछि अन्तर्राष्ट्रिय ख्यातीमा आएका हुन्। शुरूमा स्विस आधुनिकतावादी ले कर्बुजरबाट प्रभावित भए पनि जापानी परम्परागत कलासँग आधुनिक वास्तुकलाको फ्युजन गर्नथालेपछि यिनको ख्याती बढ्दै गएको हो । नगर विकासका विषयमा विश्वविद्यालयको अध्ययन गरेका टाङ्गेले दोस्रो विश्वयुद्ध पछिको पुनर्निर्माणमा ठूलो प्रभाव छोडेका थिए ।
टोक्यो तथा युगोस्लाभियाको स्कोपिए नगरहरूको पुनर्योजनामा पनि यिनले काम गरे । इटलीको नेपल्स्स्थित प्रख्यात सेवा केन्द्र, टोक्यो ओलम्पिक एरेना, पाकिस्तानको सर्बोच्च न्यायालय, ओसाका प्रदर्शनी स्थल आदि आकर्षणका केन्द्रहरु यिनले निर्माण गरेका थिए । ताइवान र सिंगापुरमा पनि यिनले यस्तै कलात्मक र आकर्षक निर्माणको जिम्मा लिएका थिए ।
रिबा स्वर्ण पदक, अमेरिकन इन्स्टिच्युट अफ आर्किटेक्टस् को स्वर्ण पदक, फ्रेन्च राष्ट्रिय स्वर्णपदक, प्रिज्कर वास्तुकला पुरस्कार, ओलम्पिक डिप्लोमा अफ् मेरिट आदि यिनले पाएका केही प्रख्यातीसूचक पदक तथा सम्मान हुन् ।
टोक्योस्थित आफ्नै घरमा हृदयाघात भएर ९१ वर्षमा उनको निधन भयो । यी वास्तुकार तथा योजनाकारको योगदानप्रति हामी नेपाली कृतज्ञ छौं ।
साभार : गौतमजीको महाुरपुस्तिका