शुक्रबार, कार्तिक ७ गते २०८३

बीमा भुक्तानीलाई सहज बनाउन निर्देशन

आश्विन १२, २०८० शुक्रबार
बीमा भुक्तानीलाई सहज बनाउन निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा दाबी भुक्तानीलाई सरल बनाउन बीमा प्राधिकरणलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणसँगको छलफलमा उनले बीमा सुरु गर्दा सजिलो भए पनि भुक्तानी प्रक्रिया सजिलो नभएको उल्लेख गरे । ‘बीमा गराउँदा कम्पनीहरुले जति सजिलो गरी गराउनुहुन्छ दाबी भुक्तानीमा त्यति सजिलो देखिँदैन’, मुख्यमन्त्री पाण्डेले भने, ‘दाबी भुक्तानी भएन भनेर सर्वसाधारण नागरिकले गुनासो गर्नुहुन्छ, बीमा प्राधिकरणले यो सुधार्नुपर्छ ।’बीमा गराउँदा दिएको आश्वासन दाबी भुक्तानीमा नपाएपछि बीमित निराश हुन सक्नेतर्फ ध्यान दिन मुख्यमन्त्रीले सुझाव दिए ।

उनले कृषि, पशु, व्यवशाय बीमामा पनि प्राथमिकता दिन बीमा प्राधिकरणलाई आग्रह गरे । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशले नीति बनाउँदा बीमासम्बन्धी व्यवस्थालाई प्राथमिकता दिन आग्रह गरे । गण्डकी प्रदेशभित्र २७.४३ प्रतिशत नागरिक बीमाको पहुँचमा छन् । प्राधिकरणले नेपालमा जीवन बीमाको पहुँच धेरै रहेको प्राधिकरणले जनाएको छ । कृषि तथा पशुपंक्षी बीमामा संघ सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत गरी सतप्रतिशत अनुदानको व्यवस्था रहेको बीमा प्राधिकरणले जनाएको छ ।