बुधबार, भाद्र ३ गते २०८३

 हो चि मिन्हको ५२औं स्मृति दिवसका बेला काका हाेकाे संघर्षशील जीवनकाे स्मरण !

भाद्र १७, २०७८ बिहीबार
 हो चि मिन्हको ५२औं स्मृति दिवसका बेला काका हाेकाे संघर्षशील जीवनकाे स्मरण !
Ho-Chi-Minh.jpg
-लाेकनारायण सबेदी
‘म भीडको अघिल्तिर उभिएर कराएझैं कराएँ –‘आदरणीय शहीदहरु, देशबासीहरु ! यही हो हाम्रो मुक्तिको बाटो ।’
– कमरेड हो चि मिन्ह
 
        अत्यन्तै सादा जीवन र उच्च बिचारका अप्रतिम ब्यक्तित्व काका हो चि मिन्हले भनेका छन् — प्रथम विश्वयुद्धपछि म फ्रान्समा फोटोग्राफरकोमा फोटो धुलाउने र ‘पुराना चिनियाँ भाँडाकुँडा’ (फ्रान्समा बनेको) मा रङ लगाउने मान्छेको रुपमा रहेँ । मैले त्यतिबेला फ्रान्सेली उपनिवेशवादीहरुले भियतनाममा गरेका अपराधहरु कबोल गरिएका पर्चाहरु पनि बाँडेँ ।

 
ती भियतनामी नामी नेताले आफु क्रान्तिकारी गतिबिधिमा लाग्दै गरेको बेलाका महत्वपूर्ण परिबेशको उल्लेख यसरी गरेका छन् — ‘त्यसबेला मैले अक्टोबर क्रान्तिको समर्थन त्यसको ऐतिहासिक महत्व ठम्याएर होइन, लहैलहैमा लागेर गरेको थिएँ । म लेनिनलाई प्रेम र मुरीमुरी प्रशंसा गर्थे किनभने उनी महान् देशभक्त थिए, जसले आफ्ना देशवासीहरुलाई स्वतन्त्र बनाए । त्यस बेलासम्म मैले लेनिनको एउटा पनि किताव पढेको थिइनँ ।
 
ती क्रान्तिकारी कम्युनिष्ट नेताले आफु फ्रान्सको समाजबादी पार्टीमा किन लागेको थिए भन्ने प्रष्ट पार्दै उल्लेख गरेकाछन् — म फ्रेञ्च समाजवादी पार्टीमा लाग्नुको कारण उनीहरुले मप्रति र शोषित उत्पीडित जनताहरुको सङ्घर्षप्रति सहानुभूति दर्शाउनु नै थियो । तर, म पार्टी,ट्रेड यूनियन, समाजवाद या साम्यवादका बारेमा भुत्त्तोभाङ केही पनि जान्दिनथेँ ।
प्रष्टबादी र सत्यनिष्ठ भियतनामी जनताका महान् नेता र शोषित पीडित श्रमजीबी जन समुदायका प्रिय र प्रेरणादायी ब्यक्तित्वले फ्रान्सको समाजवादी पार्टीको त्यतिबेलाको स्थितिका बारेमा भनेका छन् — ‘त्यतिबेला पार्टीका शाखाहरुमा समाजवादी पार्टी दोस्रो इन्टरनेसनलमा रहने कि नरहने, कि अर्को अर्ध–दोस्रो इन्टरनेसनल खोल्ने अथवा लेनिनको तेस्रो इन्टरनेसनलमा पो सामेल हुने हो कि भन्नेजस्ता बहसहरु ठूला गरमागर्मीकारुपमा चल्थे । म हप्तामा दुइ या तीनपटक बैठकमा उपस्थित हुन्थे र ध्यानपूर्वक छलफल सुन्थे । पहिला त मैले राम्ररी कुरा बुझ्दा पनि बुझिनँ । किन यति साह्रो चर्काचर्की भइरहेको छ ? दोस्रो, अर्थात् दोस्रो या तेस्रो जुनसुकै इन्टरनेसनलले क्रान्ति गर्ने हो भने किन यस्तो बाझाबाझ ? अनि पहिलो इन्टनेसनल चाँही के भयो त ?’
 
जनता र राष्ट्रको मुक्तिको क्रान्तिकारी बिचार, दृष्टिकोण र ब्यवहारप्रति कति जिज्ञाषु, कति उत्सुक र ठूलो हुटहुटीकासाथ उनी अघि बढ्दै रहेछन् भनने कुरा उनको यस कथनबाट स्पष्ट हुन्छ — ‘बास्तवमा मैले एकदमै जान्न चाहेको कुराचाँहि कुन इन्टरनेशनल औपनिवोशिक मुलुकहरुको पक्षमा छ त भन्ने थियो तर यस विषयमा बैठकमा जोडदार रुपमा कुनै प्रश्न उठ्दैनथे । मैले यो कुरा बैठकमा उठाएँ । केही कमरेडहरुले भन्नुभयो–‘औपनिवेशिक मुलुकहरुको पक्षमा दोस्रो होइन, तेस्रो इन्टरनेसनल छ । मलाई एकजना कमरेडले लेनिनको ‘जातीय र उपनिवेशबारेको थेसिस’ पढ्न दिनुभयो जुन IUhumnite ले प्रकाशन गरेको थियो’ ।
 
आफुभित्रको मेधावी ज्ञान चक्षु कति तीक्ष्ण र कति ब्यग्र बनेको रहेछ भन्ने कुरा उनको अध्ययनमा केन्द्रित भएको यस कुराले औंल्याउँदछ : लेनिनको उक्त थेसिस (प्रस्थापना) मा मैले नबुझ्ने थुप्रै राजनीतिक शब्दहरु थिए । तर घुडा धसेर पटक पटक पढेपछि मैले त्यसको चुरो कुरा अठ्याएँ । त्यसले ममा कस्तो आवेग, आशा, प्रष्ट दृष्टिकोण र आत्मविश्वास पैदा ग¥यो । म त त्यस खुसीले रोएँ । कोठामा एक्लै बसेको बेलामा पनि म भीडको अघिल्तिर उभिएर कराजस्तै जोडले कराएँ –‘आदरणीय सहिदहरु, देशबासीहरु ! हामीले चाहेको यही हो, यही हो हाम्रो मुक्तिको बाटो ।’ एउटा अग्रतम क्रान्तिको बाटोमा हिडेको यूवा नेतामा बिश्वास भर्ने लेनिनका गहनतम रचना र लेखहरुले कसरी प्रभाव पारेको थियो भनेर उनले उल्लेख गरेका छन् —‘‘त्यसपछि लेनिन र तेस्रो इन्टरनेशनलप्रति मेरो पूरै भरोसा बढ्यो ।’’
 
यसबारे अझ प्रष्ट पार्दै उनले आफ्नो शुरुको स्थिति र लेनिनका क्रान्तिकारी र ब्यवहारिक रचनाहरु पढेपछिको आफ्नो स्थितिका बारेमा भनेका छन् – ‘‘शुरुशुरुमा पार्टी शाखाका बैठकहरुमा हुने छलफलहरु म सुन्थेँ मात्र, मलाई त्यहाँ उठ्ने कुराहरु सबै तार्किक लाग्थे, कुन सही हो र कुन गलत हो भन्ने कुरा म छुट्याउन सक्दिनथेँ । त्यसपछि भने म पनि बहसमा होमिन थालेँ र जमेर बहस गर्न थालेँ । त्यसबेलासम्म पनि म फ्रेञ्च भाषामा आफ्ना विचारहरु राम्ररी व्यक्त गर्न सक्दिनथेँ । तर लेनिन र तेस्रो इन्टरनेसनलमाथि हुने निराधार आक्रमणको भने म डटेर विरोध गर्न थालेको थिएँ । मेरो एउटै तर्क थियो, ‘यदि तपाईं उपनिवेशवादीहरुलाई घृणा गर्नुहुन्न भने, यदि तपाई उपनिवेशका जनताहरुको पक्षमा उभ्भिनु हुन्न भने तपाईहरुले गर्न खोजेको क्रान्ति कस्तो हो ?’’
hochiminh.gif
कमरेड हो चि मिन्हले — ‘लेनिनवाद चमत्कारी ‘बुद्धिको किताब’ मात्र होइन, भियतनामी क्रान्तिकारीहरु र जनताको लागि दिशानिर्देश गर्ने कम्पास पनि हो, – यो त्यस्तो उज्यालो सूर्य हो जसले हामीलाई अन्तिम जीत र समाजवाद तथा साम्यवादसम्मको बाटो देखाउँछ’ भनेर लेनिनबादको बास्तबमा उच्चतम र सार्थक मूल्यांकन पनि गरेका छन् । लेनिनलाई पढे पछि उनको राजनीतिक र बौद्धिक हैसियत कसरी बढ्यो त्यो पनि उनले लेखेका छन् ।
 
त्यसबारे उनले भनेका छन् –‘म पार्टीको आफू सङ्गठित भएको शाखाको मात्र होइन, अन्य शाखाका बैठकहरुमा पनि ‘आफ्नो कुरा राख्न’ उपस्थित हुन थालेँ । मैले यहाँ भन्नैपर्छ कि कमरेडहरु मार्सल केचिन, भाइलण्ट काउटुरिअर, मुनमोसिउ आदि लगायतले मेरो वैचारिक स्तर उकास्न ठूलो मद्दत गरेका हुन् । अन्तिममा, सर्वोच्च काँग्रेसमा उहाँहरुसँग मैले पनि तेस्रो अन्तर्राराष्ट्रिय (इन्टरनेशनल) मा सामेल हुने पक्षमा भोट खसालेँ’ । यसरी लेनिनबाद पढेपछि उनमा क्रान्तिकारी उत्साह र सही बिचारको रक्षा गर्नु पर्दछ भन्ने क्रान्तिकारी भावना उत्पन्न भएको प्रष्टै देखिन्छ ।
 
क्रान्तिकारी उत्साह उनमा कसरी बिकसित हुँदैरहेको थियो र उनले अध्ययन, संघर्ष र संगठानिक गतिबिधिलाई कसरी सँगसँगै अघि बढाउदै थिए त्यसले संघर्ष, संगठन र सिद्धान्तलाई उनी एकाकार गरेर लैजान सक्ने क्षमतका धनी बन्दै थिए भन्ने सुस्पष्ट हुन्छ । अन्त्यमा प्रयोजनपूर्ण अध्ययन र संघर्षको तत्कालीन स्थिति तथा भाबी बिकसित हुने अबस्थाका बारेमा उनले निष्कर्श निकाल्दै भनेका छन् —‘‘लेनिन र तेस्रो अन्तर्राष्ट्रियप्रतिको मेरो भरोसा साम्यवाद होइन, देशभक्तिको कारणले गर्दा बढेको हो । सङ्घर्षको क्रममा एक एक गरेर मार्क्सबाद–लेनिनवादको अध्ययनसँगसँगै व्यवहारिक कामहरुमा पनि सहभागी हुँदै गएपछि म समाजवाद र साम्यवादले मात्र विश्वभरिका शोषित–उत्पीडित जाति र मजदुरहरुलाई दासताबाट मुक्त गर्छ भन्ने निष्कर्षमा पुगेँ ।
 
यसरी उत्साहप्रद अध्ययन पछि ती क्रान्तिका स्रष्टा र द्रष्टाले खारिएको र परिपक्क हुँदै गएको आफ्नो बिचार यसरी ब्यक्त गरेका छन् —‘‘हाम्रो देशमा मात्र होइन, चीनमा पनि ‘चमत्कारी बुद्धिको किताव’ (Book of Wise ) को दन्त्यकथा प्रचलित छ । जब कोही ठूलो सङ्कटमा पर्छ भने उसले यो किताब पल्टाउँछ र बाटो फेला पार्छ । लेनिनवाद चमत्कारी ‘बुद्धिको किताब’ मात्र होइन, भियतनामी क्रान्तिकारीहरु र जनताको लागि दिशानिर्देश गर्ने कम्पास पनि हो, – यो त्यस्तो उज्यालो सूर्य हो जसले हामीलाई अन्तिम जीत र समाजवाद तथा साम्यवादसम्मको बाटो देखाउँछ । जनता र राष्ट्रको मुक्तिका अथक योद्धा, शोषित पीडित जन समुदायका अग्रपंक्तिका ती सच्चा र उच्च नेताप्रति शतत नमन !