बुधबार, भाद्र ३ गते २०८३

कुल त हाम्रो ब्राम्हण हो छैनौँ कुलैमा, जातमा सत्य छैन हाम्रो राख चुलैमा.. : योगमाया न्यौपाने (समाज सुधारक)


भाद्र २३, २०८० शनिबार
कुल त हाम्रो ब्राम्हण हो छैनौँ कुलैमा,  जातमा सत्य छैन हाम्रो राख चुलैमा.. : योगमाया न्यौपाने (समाज सुधारक)
इतिहास निर्माता नारी, योगमायाबारे खासगरी पूर्वेली समाजमा अघिपछि चर्चा हुने गरेकै हो । तर गत साल सोही विषयवस्तुमा साहित्यकार नीलम कार्की निहारिकाले लेखेको उपन्यासले मदन पुरस्कार पाएपछि योगमाया चर्चाको जिउँदो जाग्दो अवस्थामा पुगेकी छन् । जातीय भेदभाव, छुवाछुत, महिला दमन र स्वेच्छाचारी जहानीया शासनबाट ग्रस्त अन्धकार युगमा जनजागरण फैलाउने योगमाया नेउपाने (बि.सं. १९२४–१९९८) ले आफ्नै जीवनमा भोगेका हण्डर र ठक्करबाट ऊर्जा लिँदै पूर्वी नेपालमा जनजागरणको नौलो हलचल ल्याएकी थिइन् ।
भोजपुरको नेपालेडाँडास्थित सिम्ले गाउँमा जन्मेकी योगमायाको पहिलो बिहे इश्वर कोइरालासँग भयो । तर बेलाबखत माइत जान नपाएकी विवाहित बालिका योगमाया माइतीको नियास्रोका कारण एक रात बिहे गरेको घरबाट भागेर माइती पुगिन् । बिहे गरेर पठाएकी छोरी भागेर माइतीमा आउँदा बाबुआमालाई समस्या भयो । घरले फर्काएर भित्य्राउन अस्वीकार गर्यो । समाजको निन्दा सुनेर माइतीमा पनि बस्न नसकेपछि उनी भारतको आसामतिर जाने भइन् । आसामको फूलबारी बस्ने एक कँडेल युवकले उनलाई साथ दिए । कालान्तरमा उनैसँग योगमायाको दोस्रो दाम्पत्य जीवन प्रारम्भ भयो । एउटी छोरी नैनकला जन्मिन् । तर दोस्रो पति पनि मरे । अब योगमायाले समाजबाट ‘पोई टोकुई’ को खतरनाक सँज्ञाका साथ पशुवत तिरस्कार भोग्न थालिन् । यसै क्रममा उनले डोटेल थरधारी अर्का पुरुषको साथ पाइन् ।
आसाममा उनको साधु–सन्त र सत्सङ्ग बढेर गयो । परिपक्व हुँदै गएपछि उनी स्वदेशमै फर्केर केही गर्नुपर्छ भन्ने निष्कर्षका साथ भोजपुर फर्केर छोरीको बिहे गरिदिइन् र भोजपुरकै अरुण नदी तटमा एउटा आश्रम बनाएर तपस्या, योग, ध्यान, भजन, प्रवचन र सामाजिक शोषण बिरुद्ध जनजागरणमा लागिन् । यसबाट उनका अनुयायीहरू दिनानु दिन बढ्दै गए, प्रभाव विस्तार हुँदैगयो ।
शासन–प्रशासनमा सुधार ल्याउन उनले जुद्ध शम्शेरलाई पहिले आफैँले काठमाडौँमा भेटेको र दोस्रोपटक विन्तीपत्र लेखी आफ्ना अनुयायीहरूलाई भेट्न पठाइन् । सुधार नहुने हो भने आफ्ना २४० अनुयायी सहित अरुण नदीमा अग्निसमाधी लिने (आत्मदाह) भन्ने चेतावनी पनि विन्तीपत्रमा थियो । उनका विन्तीको कुनै वास्ता नभएपछि अग्निसमाधी लिने भनी घोषणा गरेको अघिल्लै दिन धनकुटा गौँडाबाट राणाका सैनिकहरू समाधी लिने भनिएको स्थान मझुवाबेँसी पुगेर उनी र अनुयायीहरूलाई पक्राउ गरे ।
पक्राउपछि सबै रिहा भएको अवसर पारी १९९८ साल असार ७ गते शुक्रबार ठूलो एकादशीका दिन योगमाया सहित ६८ जना अनुयायीहरूले अरुण नदीमा जल समाधी लिए । समाधी लिनेमा पं. प्रेमनारायण भण्डारीदेखि काईँली कमिनी, चमेली घर्ती जस्ता अनुयायी पनि थिए । समाजमा पानी पनि नचल्ने अछुतहरूलाई योगमायाको आश्रममा कुनै निषेध थिएन। उनी आशुकवि थिइन् । भन्न खोजेको कुरा उनी तत्कालै कविता वा श्लोक बनाएर अभिव्यक्त गर्न सक्थिन् । (मूख्य स्रोत : निलम कार्की निहारिका)
साभार : गाैतमजीकाे मुहाारपुस्तिका