पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताउनु भएको छ । पोखरा पर्यटन परिषद्को २३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री महतले भने, ‘पोखरालाई ट्रान्जिट प्वाइन्टका रुपमा विकसित गर्नुपर्छ । मुस्ताङ, लमजुङ, चितवन, लुम्बिनी जानका लागि पोखरा केन्द्रविन्दू हुनसक्छ।’
अन्तर्राष्ट्रिय हवाइ अड्डामा सरकारले धेरै ठूलो लगानी गरेको जानकारी दिनु हुँदै मन्त्री डा. महतले भने, ‘पर्यटन प्रवद्र्धनका लागि देश लगानी गरेको हो, अहिले लगानी उठाउन सकिएको छैन । पर्यटन क्षेत्रलाई अझै धेरै सुधार गर्नुपर्ने छ, हामी धेरैजसो माग र निर्णय भावनामा बगेर गर्छौं ।’ भावनामा बगेर गरेको लगानीबाट प्रतिफल कसरी लिन सकिन्छ भन्ने चुनौति सरकारसँग रहेको उनले जनाए।
युद्ध, भुकम्प, कोभिड र रसिया–युक्रेन युद्धले ल्याएको अन्तर्राष्ट्रिय मन्दीबाट हामी गुज्रिएकाले राजश्वमा ठूलो प्रभाव पर्यो र अर्थतन्त्रमा शिथिलता देखिएको मन्त्री महतले बताए । भूकम्प र कोभिडबाटै सुरु भएको अर्थतन्त्रको शिथिलता पछिल्लो समय विशिष्ठ देखिएको भन्दै सबैजना आ–आफ्नो ठाउँबाट गुज्रिन जरुरी भएकाले आफ्नो जिम्मेवारीप्रति गम्भीर रहन उनले आग्रह गरे ।
समस्या छन् भन्दैमा निराशाको कुरा गरेर बस्न नहुने मन्त्री डा. महतको भनाइ थियो । ‘सबैले सकरात्मक सोच राख्ने हो भने अर्थतन्त्र पनि सकरात्मक बाटोतर्फ उन्मुख हुन्छ,’ उनले भने, ‘पोखरा पर्यटन व्यवसायको हब हो, यसलाई कसैले बिगार्न सक्दैन । यसको भविष्य दीगो छ । थोरै समस्या आयो भन्दै हामीले निराशाको कुरा गर्ने हो भने यसले राम्रो गर्दैन ।’