चाड पर्वहरुको सम्वन्ध कुनै न कुनै रुपमा परिवार, समाज, राष्ट्र र मानबतासँग जोडिएको हुन्छ । त्यसै कारणले पनि तिनले निरन्तरता पाइरहेका हुन्छन् । यस्ता चार्डपर्वहरुमा लोकधर्म र लोक सँस्कृतिको जुन झलक मिल्दछ त्यो अन्यत्र कतै देख्न सुन्न पनि पाइन्न । अनन्त किसिमले उत्सवका रुपमा मनाइने गरेका यस्ता चाड पर्वहरुमा मानिसको जीबन जिउने र बिताउने अनेक प्रेरक प्रसंगहरु पनि गाँसिएको पाइन्छन् । यस्ता चाड पर्वहरुको अर्को महत्वपूर्ण पक्ष के पनि हुन्छ र देखिन्छ भने यी पर्वहरु खाश ऋतुसँग जोडिएका हुन्छन् । अहिले मनाइदै आएकाे रक्षा बन्धन, राखी, यज्ञोपवित धारण गर्ने श्रावणी पूर्णिमा यस सन्दर्भमा निकै महत्वपूर्ण मानिएको छ । यसलाई ऋषि तर्पणी पूणिर्मा पनि भनिन्छ ।
यद्यपि पौराणिक मान्यताका अनुसार यो पूरोहित समुदायको पर्ब हो । यसले रक्षा बन्धनलाई पनि आफुमा समाहित गरेको छ । दिदी बहिनी र दाजु भाइको स्नेहको पबित्र पर्व बर्षा ऋतुको चुतर्मास र श्रावणीसँग सिधा जोडिएको मानिन्छ । हुन त यस पर्वसँग अनेक पौराणिक र ऐतिहासिक सन्दर्भहरू पनि जोडिएर आएका छन् । तर यसको सबैभन्दा बढी घनिष्ठता पारिवारिक तथा सामाजिक मूल्यहरुसँग रहेको छ । यी मूल्यहरुमा प्रेम, सरसता, सदाशयता,बन्धुत्व र शुभ संकल्प जस्ता महत्वपूर्ण कुराहरु छन् । पारिवारिकरुपले यी मूल्यहरुलाई जत्तिको महत्वपूर्ण मानिन्छ त्यत्तिकै सामजिक र धार्मिकरुपमा पनि लिइएको छ । यी कुराहरुको रक्षा गरेर हजारौ बर्षदेखि एउटा सँस्कृति र समाजको शातत्य कायम राखिएको छ । यसको बिचारणीय पक्ष के छ भने पहिला यी कुराहरु जत्तिको महत्वपूर्ण थिए त्यो भन्दा बढी महत्वपूर्ण आज देखिएका छन् । पारम्परिक रुपमा हेर्ने हो भने रक्षा बन्धन आजको दिनमा दिदी बहिनी र दाजु भाइको पवित्र प्रेमको अभिब्यक्ति गर्ने गराउने पर्व हो । यसमा दाजुभाइले दिदी बहिनीका लागि शुभ संकल्पित धर्म निर्वाह गर्ने बचनबद्धता जाहेर गर्ने गरिन्छ । जुन तीनवटा धागोका डोराका बन्धनलाई राक्षा बन्धन भनिन्छ र दाजुभाइको दाहिने पाखुरामा दिदी बहिनीले बाँध्ने गर्दछन् ती तीनवटा डोरामा आत्मरक्षा, राष्ट्र रक्षा र समग्र मानबाताको रक्षाको निम्ति संकल्प गर्ने कुरा अन्तरनिहीत रहेको मानिएको छ ।
त्यसैले हिजो जसरी आरम्भ भएको भए पनि आजको दिनमा यो महत्वपूर्ण र मानबीय संकल्पलाई हामीले बृहत्तररुपमा आत्मसात गर्न सक्नु पर्दछ । रक्षा बन्धनलाई सीमित अर्थमा जसरी दाजुभाइले दिदी बहिनीको रक्षा गर्न बचन दिने रुपमा ग्रहण गरिन्छ, पुरोहितले जजनमानको रक्षा गर्ने र राज्यले नागरिकहरुको रक्षा -हिजोको अर्थमा राजाले प्रजाको रक्षा गर्ने ) गर्ने बचनबद्धता जाहेर गर्नेरुपमा लिइन्छ त्यसरी नै आज बृहत्तर अर्थमा देशको राष्ट्रियता, सार्बभाैमिकता, अखण्डता र जन अधिकारको रक्षा गर्ने किसिमले यसलाई बुझनु बुझाउनु उपयुक्त हुन्छ । त्यसका लागि संकल्प गर्ने अवसरको रुपमा यसलाई लिनु सर्बथा उपयोगी हुन्छ । देश र जनताको राजनीतिक, आर्थिक,सामाजिक तथा साँस्कृतिक अधिकारहरुको रक्षा र त्यसको समृद्धिको संकल्प लिनु नै वास्तवमा आज यो पर्व मनाएको सार्थकता हुन्छ । अन्यथा यो पर्व एउटा दिदी र भाइ बीचमा मात्र संकुचित भएर जडसुत्रकोरुपमा रहन जान्छ ।
पुरानो समयमा हरेक प्रकारका उत्सवहरुमा नयाँ यज्ञोपवित या जनै लगाउने परम्परा रहेको देखिन्छ । यो ब्यक्तिलाई उसका कर्त्तब्यहरुको बोध गराउने र त्यसको पालना गराउने कुराको प्रतीक मानिन्थ्यो । यज्ञोपवित पहिरिए पछि मानिस समाजप्रति, परिवारप्रति उत्तरदायी मानिन्थ्यो । गुरुकुलीन ब्यवस्थामा श्रावणीमा नयाँ ब्रह्मचर्यका लागि गुरुकूलमा प्रवेश पाउनका लागि यज्ञोपवित अनिवार्य थियो । यो आजको बोर्डिङ स्कूलको ड्रेस जस्तै सम्झिए हुन्छ । नियमहरुको पालना गर्ने र गराउने कुरासँग यो रक्षा बन्धन या यज्ञोपवित धारण यसरी जोडिएको छ । यसले सत्य, नैतिकता, निष्ठा, परोपकारप्रति ब्यक्तिको ध्यानकर्षण गराउँदछ ।
बेदको एउटा संकल्प बाक्य छ : 'तन्मे मनः शिव संकल्पमस्तु' ! अर्थात हामीले कल्याण गर्ने(शिव) मन बनाउनु पर्छ, कल्याण गर्ने बिचार गर्नु पर्छ,कल्याण गर्ने सोच्नु पर्दछ र गर्नु पर्दछ भन्ने यसको सार अर्थात् अर्थ हो । शिव संकल्पले नै अशिव संकल्पलाई परास्त गर्न सक्तछ र गर्नु पर्दछ भन्ने यसको निहीतार्थ हो । सबैको कल्याण गर्ने समाज निर्माणमा लाग्ने यसको अन्तरनिहीत कुरा हो । तर आज हाम्रा चाड पर्वहरु या त रुढीबादी परम्पराकोरुपमा जकडिएर कर्मकाण्डीय भएर गएका छन् या आजको उपभोक्ताबादी, भूमण्डलीकृत पूँजीवादी बजारबादको शिकार भएर किनारा लागेका छन् । त्यसैले बहुबिद समाजका बिभिन्न चाड पर्बहरुको बस्तुगत ऐतिहासिकता र महत्व आजको परिवर्तित स्थितिमा तिनलाई फराकिलो र सही अर्थमा ग्रहण गर्न सकेमा मात्र रहने छ । धान्नका लागि धान्ने र मान्नका लागि मान्ने मात्र कुराले अर्थ राख्दैन भन्ने बुझ्नु पर्दछ ।