शुक्रबार, कार्तिक ७ गते २०८३

‘डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट’को दोस्रो ब्याच शुरु, पहिलाे ब्याचले दियाे उत्साह

भाद्र १०, २०८० आइतबार
‘डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट’को दोस्रो ब्याच शुरु, पहिलाे ब्याचले दियाे उत्साह

 

राष्ट्रिय सहकारी महासंघले काठमाडौं विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक शुरु गरेको ‘डिप्लोमा इन को–अ‍परेटिभ म्यानेजमेन्ट’ को दोस्रो ब्याच आजबाट शुरु भएको छ। 

नयाँ ब्याचको लागि कोर्ससम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष मिनराज कँडेलले नेपालको सहकारी क्षेत्रलाई व्यवस्थित तथा सुशासित बनाउन र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस विषयकाे अध्यापन शुरु गरिएको बताए । 

‘भारतीय राष्ट्रिय सहकारी संघले आयोजना गर्ने डिप्लोमा नेपालले सन् २००५ देखि अध्ययन गराउँदै आएको र नेपालमा नै यस्तो कोर्स हुनुपर्ने माग भएकाले महासंघले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा संचालन गरेको हो,’ उनले भने। 

काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन प्राडा देवीप्रसाद विडारीले नेपालको समृद्धिका लागि सहकारी बलियो आधार भएको बताउँदै मुल्यमा आधारित रहेर जनतालाई उद्यमी बनाउन सहकारीको योगदान हुने जनाए । काठमाण्डौ विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुद्वारा संचालन हुने डिप्लाेमा काेर्स लोकप्रिय भएको उनले बताए । काठमाडौं विश्वविद्यालयले सिकाई अध्यापनशास्त्रमा आधारित कार्यक्रम पद्धतिलाई अनुशरण गरेर कोर्ष संचालन गर्नेछ । 

महांघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले कोर्सको उद्देश्यमाथि प्रकाश पार्दै सहकारीका लागि आवश्यक दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न नेपालमा नै शुरु भएको डिप्लोमा कोर्सले सहकारीमा देखिएका समस्या न्युनिकरणमा समेत सहायक सिद्ध हुने अपेक्षा गरिन् । ‘पहिलो ब्याचको सफलतापछि हामी अझै उत्साहित छौं । अझ प्रभावकारी रुपमा कोर्ष संचालन हुने छ ।’ उनले भनिन् । दक्ष व्यवस्थापकिय जनशक्ति तयार गर्ने उद्देश्यले संचालन गरिएको ३ महिने व्यवसायिक कोर्ष भएको उनले बताइन् । 

कोर्षको संयोजन गरिरहेका महासंघका बरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीले तालिमको व्यवस्थापकीय पक्षको विषयमा जानकारी दिएका थिए ।