मस्को । रुसी आपतकालीन सेवाले दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख येवगेनी प्रिगोझिनसहित सबै १० यात्रुको शव फेला परेको जनाएको छ। गएकाे बुधबार प्रिगोजिनको मृत्युको खबर सुनेपछि धेरै रुसी अचम्ममा परेका थिए।

प्रिगोझिनले दुई महिनाअघि असफल विद्रोह शुरु गरेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिएका थिए। प्रिगोझिन समेत सवार उक्त जेट समस्याका कुनै सङ्केत नै नदेखाई अचानक खसेको फ्लाइट ट्रयाकिङ डेटामा देखिन्छ। त्यसपछि करिब ३० सेकेण्डमा उक्त जेट २८ हजार फिटको उचाइबाट ८ हजार फिटभन्दा तल खसेको थियो।
रुसको नागरिक उड्डयन प्राधिकरण अधिकारीका अनुसार उनीहरूको ध्यान अहिले दुर्घटनाको कारण पत्ता लगाउनेतर्फ केन्द्रित भएको छ। प्राधिकरणले दुर्घटना अनुसन्धान गर्न विशेष आयोग गठन गरेको छ। प्रहरीले दुर्घटनास्थल वरपरको क्षेत्रलाई ‘सिल’ गरेको छ।( एएफपी)