बुधबार, भाद्र ३ गते २०८३

चीनकाे बिकास भारतभन्दा १८ बर्ष अगाडि : एक चर्चा

भाद्र १३, २०७८ आइतबार
चीनकाे बिकास भारतभन्दा १८ बर्ष अगाडि  : एक चर्चा

lok-narayan-subedi (2).jpg
-लोकनारायण सुबेदी
 भारत चीनभन्दा दुइ बर्ष अगाडि बृटिश साम्राज्यबादबाट स्वतन्त्र भएको हो – १९४७ मा । त्यसको दुइ बर्ष पछाडि चीनले १९४९ मा साम्राज्यबादबाट मुक्ति पाएको हो । तर स्वतन्त्रता पाउने बेलामा २ बर्ष कान्छो रहेको चीन समग्र बिकासमा भने भारतभन्दा आज १८ बर्ष अगाडि पुगिसकेको भारतीय अर्थबिज्ञहरुकै बिश्लेषण छ ।
 यता पछिल्लो समयको कुरा गर्ने हो भने बितेको करीब डेड बर्षदेखि बिश्व महामारी कोरोनाले सारा संसारभरी नै जनधनको ठूलो क्षति पु¥याइरहेको छ । कयौ लाख मानिसहरुले आफन्तहरु गुमाएका छन् । यस स्थितिमा आज बिश्वमा करोडौं मनिसहरु पहिलाको जस्तो सामान्य स्थितिमा रहेका छैनन् । उनीहरुको स्थिति पूर्ण या आंशिकरुपमा बद्लिइसकेको या बद्लिइरहेको देखिन्छ । राष्ट्रिय स्तरमा हेर्दा पनि बिश्वका कयौैं देशहरुका सामुमा यस्तै  खस्कदो स्थिति आर्थिक मोर्चामा पनि देखिदैछ । अमेरिका समेत जी–७ समूहका नामी कहलिएको अर्थब्यवस्था भएका देशहरु हुन् या धरतीको सुदुर कुनै कुनामा बसेका देशहरु हुन् सबै नै यस्तै आर्थिक अबस्थाबाट गुज्रिरहेका देखिन्छन् । यस अर्थमा कोरोनाले सम्पन्न र बिपन्न कुनै देशको पनि अर्थब्यवस्थालाई तहसनहस पार्न कुनै पक्षपात गरेको देखिन्न । सर्बत्र यसले बर्बादी निम्त्याइदिएको छ । हाम्रा छिमेकी देशहरु भारत र चीन पनि यो महामारीबाट उम्किन सकेका छ्रैनन् । यद्यपि चीन यो महामारीलाई धेरै हदसम्म नियन्त्रण गर्न र आर्थिक स्थितिलाई मजबुत तुल्याउने सही दिशा र तीब्र गति दिन सफल भएको देखिन्छ भने भारत भने सुस्त क्रमको आर्थिक प्रगतिको कछुवा गतिमा रहेको देखिन्छ ।
 हुन पनि चीनले यस दौरानमा आश्चर्यजनक बृद्धिदर हासिल गरेको छ । भारतको सरकारी डाटा अनुसार यस बर्षको जनवरी–मार्च त्रैमासिक बृद्धि दर १.६ प्रतिशत रहेको छ भने समयको यही अन्तरालमा चीनको अर्थब्यबस्थामा बितेको बर्षको तुलनामा १८.३ प्रतिशतको बृद्धिदर बढोत्तरी भएको छ । यसलाई चीनको बृद्धि दरमा १९९२ पछिको सबैभन्दा ठूलो उछाल आएको भनेर  अथ्र्याइदैछ ।
 निश्चय नै यी माथिका तथ्यांकहरुले बितेको बर्ष यसै अबधिका दुबै देशको आर्थिक स्थितिको तुलनामा यो बर्षको स्थितिको तुलनात्मक प्रस्तुति दिन्छन् । तर के पनि सत्य हो भने चीनको तुलनामा भारतको प्रगतिको गति मन्द रहेको छ । भारत १५ अगस्ट १९४७ मा स्वतन्त्र भएको थियो जबकि चीन १ अक्टोबर १९४९ मा दुइ बर्ष पछि । फरक दुब बर्षको थियो । त्यसैले त्यो के कारण हो कि चीन भारतभन्दा अगाडि बढ्यो र भारत धेरै पछाडि रहन पुग्यो ?
 आज चीन बिश्वको दोश्रो सबैभन्दा ठू्लो अर्थब्यवस्था बनिसकेको छ र चाडै नै बिश्वको एक नम्बर अर्थब्यवस्थाको खुट्किलोमा पनि पुग्ने स्थितिमा खडा छ । यता भारत भने केही समय बिश्वको पाँचौ अर्थब्यवस्थाको हैसियतमा रहेको भए पनि अहिले त्यसबाट खस्किएर  सातौ हैसियतमा रहन पुगेको छ । चीनको अर्थब्यवस्थाको आकार १५.४२ ट्रिलियन डलर बराबरको भइसकेको छ, जबकि भारत केवल ३ ट्रिलियनको छेउमा पुग्न लागेको छ । यसको सोझो अर्थ हो कि चीनी अर्थब्यवस्था भारतकोभन्दा ५.५ गुण बढीको भइसकेको छ । अब चीनको अर्थब्यवस्थासम्म पुग्नका लागि भारतले १३ प्रतिशत बृद्धिदरको गति समातेको हुनु पर्दछ । आउदो २०२५ सम्ममा चीनको अर्थब्यवस्थाको आकार २४.१ ट्रिलियन पुग्ने अनुमान गरिएको छ भारतको जीडीपी ४.१ ट्रिलियनको हुने अनुमान छ । यसरी चीन र भारतका बीच ग्रोथरेट दूरीको लम्बाई चौडाई बढ्ने नै देखिन्छ । भारतीय बिश्लेषकहरु भन्दछन् कि यो चीन र भारत बीचको अर्थिक बृद्धि दरको फरक बितेको ३० बर्षयताको हो । उनीहरु औल्याउँदछन्  १९९० को देशकसम्म दुबै देशको अर्थतन्त्रको आकार झण्डैझण्डै उस्तै थियो । 
 बितेको ९० को दशकको हाराहारीदेखि नै अर्थात चीन १९७८ देखि र भारत १९९१ देखि उदारबादी अर्थतन्त्रको बाटो लागेका हुन् तर चीन अगाडि बढ्यो भने भारत पछाडि रह्यो किन ? यो प्रश्नको उत्तर आज भारतीयहरु खोजिरहेका छन् । के १३ बर्षको समयको यो अन्तराल नै चीनभन्दा भारत पछाडि पर्नुको कारण होला र यसले बिकासको भिन्नतालाई सही मानेमा परिभाषित गर्ला त ? त्यसले मात्र अबश्य पनि गर्दैन । 
 हो सयको भिन्नताले पनि केही तलमाथि पार्न सक्छ । तर परिबर्तनको परिबेश र परिस्थिति अनि उदेश्यको पनि ठूलो भूमिका रहेको हुन्छ । जतिबेला १९९१ भारतले उदारिकरणको बाटो पछ्याएको थियो त्यतिबेला भारत ठूलो आर्थिक संकटमा परेको थियो । त्यतिबेला भारतको मुद्रास्फितिको दर १६.७ प्रतिशतको थियो भने त्यतिबेलमा चलेको खाडी युद्धको कारण भारतमा काम चलाउन आवश्यक न्यूनतम बिदेशी मुद्रासम्म पनि बचेको थिएन । त्यस्तो स्थितिमा तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले ६७ टन सुन बन्धक राख्न बिवश हुनु परेको थियो । तर चीनले भने कुनै यस्ता संकटबाट बाध्य भएर होइन पूरै तयारीकासाथ खुलापना र उदारीकरणको बाटो पक्रेको थियो । आफ्नो बजार खोल्नुभन्दा पहिला पूरा गृहकार्य गरेर र क्रमिकरुपमा मात्र अर्थतन्त्रलाई बजारीकरण गर्दै आएको थियो । चीनले बिदेशी लगानिलाई स्वीकृति पनि दियो र त्यसलाई नियन्त्रण गर्ने उपाय पनि अपनायो । बजार खोल्नुभन्दा पहिला चीनले जुन आर्थिक मोडलमा कदम राख्यो त्यो श्रम दोहनमा आधारित पूँजी निर्माणको मोडल थियो । त्यसको फाइदा उदारीकरण पछि चीनलाई प्राप्त भयो । हुन त भारतलाई पनि उदारिकरणको फाइदा नमिलेको होइन मिल्यो । १९९१मा भारतको जीडीपी २७० बिलियन डलर थियो । आज त्यो ११ गुणाले बढेर २,८६९ बिलियन डलर भइसकेको छ । तर केही अरु मानकहरुले अरु नै कुरा ब्यक्त गर्दछन् । प्रतिब्यक्ति जीडीपीको मामिलामा चीनको स्थान बिश्वमा ६३औ रहेको छ भने भारतको १४७ औं रहेको छ । १९९१ मा दुबै जीडीपी बराबर थियो । तर आज चीनको जीडीपी भारतकोभन्दा पाँच गुणाले बढी छ । चीनको अर्थब्यवस्था १९९८ मा एक ट्रिलियन भएको थियो भने भारत त्यहाँ ९ बर्ष लगाएर २००७ मा मात्र पुगेको थियो । अब यो अन्तर पनि बढिरहेको छ । चीनको अर्थब्यबस्था २००३ मा नै ३ ट्रिलियन डलरको भइसकेको थियो । त्यसको १८ बर्षपछि २०२१ पुग्दा पनि भारतले त्यो रेखा पार गर्न सकेको छैन । भारतको अर्थब्यवस्थाका लागि २०१७ भन्दा अघिको कार्यकाल उल्लेखनीय मानिन्छ । त्यतिबेला औसद बृद्धि दर ८ प्रतिशतभन्दा बढी रहेको थियो । तर २०१७ पछि भारतको अर्थब्यवस्थामा ब्रेक लाग्यो । 
 अहिले त भारतमा महामारीले पनि अर्थब्यवस्था खस्किएको कुरालाई देखाउन सकिएला र त्यसबाट उक्सिन समय लाग्छ भनेर अथ्र्याउन पनि सकिएला । तर चीन यो कोरोना कालमै पनि  अर्थतन्त्र सम्हाल्न र बाञ्छित किसिमले गतिमान तुल्याउनमा खेलाडी निस्कियो । नयाँ शताब्दीको दोश्रो दशकमा चीनले रेशम मार्गलाई दोश्रो पटक खडा गरेको मात्र होइन, त्यसको पहुँचलाई यूरोप र मध्यपूर्बका देशहरुसम्म पनि फैलाइदिएको छ । चीनले दक्षिण पूर्ब एशियाको बजारमा पनि आफ्नो पहुँचलाई सुदृढ तुल्याइसकेको छ । त्यहाँ पनि भारतको स्थिति लगातार कमजोर हुँदै गएको देखिन्छ । स्वयं चीन र भारतको बीचको सम्वन्धमा कारोबार त बढेको छ । तर त्यसको सन्तुलन भारतको पक्षमा रहेको छैन ।
 चीन र भारतको बीचको तुलनामा अरु पनि धेरै कुराहरुको दूरी कायमै छ । भारतमा मानिसहरुको औसत आयु ६९ बर्षको छ भने चीनमा ७५ बर्षभन्दा बढीको छ । बेरोजगारीको दर भारतमा ७.१ प्रतिशत रहेको छ भने चीनमा ५ प्रतिशत । भारतको बिदेशी मुद्रा भण्डारण चीनको तुलामा ८ गुणा कम छ भने चीनको रक्षा बजेट पनि भारतकोभन्दा अढाई गुणा बढी छ । बिदेशी ऋणमा भारत चीनभन्दा राम्रो भनिन्छ तर चीनमाथि भारतको तुलनामा बिदेशी ऋण चार गुणा बढी छ । चीनको तुलनामा भारतीय समाजमा जेष्ठ नागरिकहरुको हिस्सेदारी पनि ४० गुणाले कम रहेको छ ।
 यसरी समग्रमा भारतीय अर्थबेत्ताहरु के निष्कर्श निकालिरहेका देखिन्छन् भने चीन र भारतका बीच अर्थब्यवस्थामा ठूलो खाडल छ । त्यसलाई पुर्ने किसिमाकिो ब्यवस्थापन गर्नु पर्ने कौशलता देखाउन सक्नु पर्दछ । त्यसका लागि भारतले आर्थिक सुधारको नयाँ पहल गर्नुपर्ने, बिश्वबजारमा भारतको पहुच बढाउनु पर्ने, मानब संसाधानका स्तम्भहरुलाई अर्थतन्त्रको छत राख्न प्रयोग गरिनुपर्ने, पूँजी नदीको प्रबाह भारततर्फ बगाउने दिशामा लाग्नुपर्ने आजका अनिबार्य शर्त बताइरहेका छन् । यसरी मात्र चीनको सामना गर्न सकिने उनीहरु औंल्याइरहेका छन् । यसो नगरीकन भारतले छिमेकीहरुसँग पनि सुमधुर सम्वन्ध राख्ने र एशियाको बजारमा चीनका सामना गर्न हुने स्थिति पनि बन्दैन भन्ने निचोड उनीहरु निकालिरहेका छन् । तर यी काम फत्ते गर्नु कम चूनौतिपूर्ण छैन । किनकि चीन अमेरिकासँग कडा प्रतिस्पद्र्धा गर्दै जसरी प्रचण्ड बेगकासाथ बिश्वमा अगाडि बढिसकेको र बढिरहेको छ त्यसले चीनलाई अझ अगाडि बढाउने नै छ । त्यस गतिलाई भारतले भेटाउन धेरै कठिन र टाढाको कुरा रहेको पनि भारतीय अर्थबिज्ञहरुले महसुश गरेको देखिन्छ ।