शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारी मुलुकका लागि अपरिहार्य छ, तर अहिलेकै मोडालिटीले गन्तब्यमा पुगिँदैन

भाद्र ३, २०८० आइतबार
सहकारी मुलुकका लागि अपरिहार्य छ, तर अहिलेकै मोडालिटीले गन्तब्यमा पुगिँदैन

नेपालको सहकारी अभियानलाई कसरी हेरिरहनुभएको छ ? सहकारीको लागि संक्रमणकालिन अवस्था अन्त्य भएको हो ? 

नेपालको इतिहासमा सहकारी अहिले जटिल र कठिन अवस्थामा छ । सहकारी अभियानले समस्या समाधानको जुन खाले पहल गर्नुपथ्र्यो, त्यो गर्न सकेन । हजारौं सदस्यको बचत फिर्ता हुन सकेको छैन । संस्थाहरु एकपछि अर्को गरी बन्द हुँदै गएका छन् । सहकारीको इमेज घट्दै गइरहेको छ । सहकारी अभियानालाई बदनाम हुनबाट जोगाउनका लागि अभियन्ताहरुले प्रभावकारी काम गर्न सक्नुपथ्र्यो, त्यो भएन । अहिलेको समस्या समाधान गर्न तीनचार वटा काम गर्नुपर्छ ।

दीर्घकालिनरुपमा, सहकारीलाई मुल्यमान्यता र सिद्धान्त अनुसार अगाडि बढाइ गुणात्मक फड्को मार्न हामीले छलफल गर्न सक्छौं । अहिले जतिपनि सहकारी संस्था समस्यामा परेका छन्, तिनको छानबिन हुनुपर्छ । ती संस्थाका सञ्चालकको सम्पत्ति रोक्का हुनुपर्छ र विदेश जान रोक्नुपर्छ । सदस्यको बचत फिर्ता हुने बातावरण बनाउनुपर्छ । सहकारी ऐनको दफा १०१ ले बचत तथा कर्जा सुरक्षण कोषको परिकल्पना गरेको छ । त्यसलाई तत्काल कार्यान्वयन गर्नुपर्छ । त्यसको मोडालिटीलाई परिवर्तन गरेर फास्टट्रयाकबाट भएपनि कार्यान्वयन गर्नुपर्छ । एक लाखसम्म एक महिनाभित्र, ३ लाख सम्म ३ महिनाभित्र र ५ लाखसम्मको बचत ६ महिनाभित्र फिर्ता गर्ने बातावरण बनाउनुपर्छ । त्यो भन्दा बढी बचत भएका सदस्यको हकमा एउटा कार्यविधि बनाएर जानुपर्छ । बचत फिर्ता गर्न राज्यले पनि सहयोग गर्नुपर्छ ।

सरकारले हिजो बैंक तथा वित्तीय संस्था संस्था समस्यामा पर्दा वित्तीय क्षेत्र सुधार आयोग बनाएको थियो । सहकारीका लागि पनि सरकारले डेढ दुई अर्बको फण्ड बनाएर पीडित बचतकर्ताको रकम फिर्ता गर्ने बातावरण बनाउनुपर्छ । सहकारी संस्थाहरुले पनि कुल सम्पत्तिको ०.०५ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ । यस आर्थिक वर्ष सकिएको ३ महिनाभित्र सबै संस्थाले कोषमा रकम जम्मा गर्ने हो भने ठूलो रकम जम्मा हुन्छ । त्यो रकम समस्यामा परेका संस्थाहरुलाई सापट दिन सकिन्छ । सहकारी विभाग, प्रदेश र सम्बन्धित पालिकाहरुमार्फत समन्वय गरेर बचतकर्ताको रकम फिर्ता हुने बातावरण बनाउनुपर्छ । यसो गर्न सकिए २०/३० हजार रुपैयाँ सहकारीमा बचत गरेका तर फिर्ता नपाएका मानिसहरुले राज्य भएको महशुस गर्छन् । यसले सहकारीप्रतिको वातावरण सकारात्मक बन्दै जान्छ ।

कतिपय संस्थामा सञ्चालक वा व्यवस्थापनले अपचलन गरेका र ठूला ऋणीले ऋण नतिरेको कुरा पनि आएको छ । उनीहरुको सम्पत्ति के छ ? के कति कारणले नतिरेको हो बुझेर फिर्ता गराउन पहल गर्नुपर्छ । त्यसका लागि सम्पत्ति व्यवस्थापन कम्पनी वा कुनै मोडल बनाएर जान सकिन्छ । यी सबै काम गर्न यहि संरचनाले सम्भव छैन । कुनै संस्थाका सञ्चालक, व्यवस्थापन र ऋणीबाट नउठेको ऋण वापत लिलाम गरेको सम्पत्तिको उचित व्यवस्थापन गर्नुपर्छ । जबसम्म सम्पत्तिको व्यवस्थापन गरिँदैन, तबसम्म चाहेर पनि ठूलो बचत फिर्ता गर्न सकिँदैन । संस्थाहरुसँग भएको सम्पत्ति विक्री गरेर वा ठूला बचतकर्तालाई दिएर बचतफिर्ताको बातावरण मिलाउनुपर्छ । 

राज्यले यो काम गर्न सके सहकारी क्षेत्रको समस्या समाधान हुन्छ त ?

सरकारलले तत्काल बचत तथा ऋण सुरक्षण कोष गठन गर्नुपर्छ । सहकारी क्षेत्र सुधार कार्यक्रम लागु गर्नुपर्छ । अमेरिकामा जब बचत तथा ऋण सहकारीमा समस्या आयो, त्यहाँका क्रेडिट युनियनहरुले सदस्याको बचत फिर्ता दिन सकेनन्, त्यसबेला राज्यको कोषबाट पैसा हालेर बचत फिर्ता गर्ने व्यवस्था मिलाइएको थियो । राज्यले सधैंका लागि सहकारीलाई अनुदान दिनुपर्दैन । पहिलो कुरा सहकारी अभियान जोगाउन र दोश्रो दु:ख गरेर कमाएर बचतमा राखेको पैसा फिर्ता गर्न राज्यले तत्कालका लागि सहयोग गर्ने हो । 

पीडित बचतकर्तासँग बचत फिर्ता गर्ने भन्दै सरकारले ७ बुँदे सम्झौता गरेको छ, यो सम्झौता कसरी कार्यान्वयन होला ?

सरकारले तयारीबिना पीडित बचतकर्तासँग सम्झौता गरेको छ । सरकारले विधेयकमार्फत भएपनि सहकारी क्षेत्र सुधार कार्यक्रम घोषणा गर्नुपर्छ । सरकारले मुलत: २ वटा कुराको लागि कोषमा लगानी गर्ने हो । माइतीघर मण्डलामा बचत फिर्ताका लागि बचतकर्ता भोकभोकै बस्नु परेकाले अभियन्ता र राज्यलाई गिज्यायो । सर्वसाधारणको पीडामा राज्य पनि जिम्मेवार हुनुपर्छ । संस्था दर्ता दिने र शुल्क लिने, वार्षिक रुपमा कर लिने सरकारले गरिरहेकै छ । अहिले यो समस्या हाम्रो होइन भनेर राज्यले पन्छिन मिल्दैन । मन्त्रीज्युको समेत उपस्थितिमा सरकारले पीडितहरुसँग जुन सम्झौता गरेको छ, त्यो सम्झौता कार्यान्वयन गर्ने बाटो कोषको स्थापना नै हो ।

सहकारीमा समस्या बढ्दै गएपछि सरकारले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ, यो कार्यदलले सहकारी क्षेत्रको वास्तविक समस्या पहिचान गर्न सक्ला ?

कार्यदलको गठनले नै समस्याको पहिचान गर्न र समाधानको बाटो पहिल्याउँछ भन्नेमा म विश्वस्त छैन । भाषणमा उदारता देखाए पनि राज्य जहिल्यै अनुदार छ । राज्यका कतिपय व्यक्तिले सहकारी बुझेका छैनन् भने बुझेकाले पनि सहकारीको गलत पक्षलाई मात्र उजागर गरिराखेका छन् । यसले पनि समस्या समाधान हुँदैन । सहकारीविज्ञको नाममा कार्यदलमा सहकारी अभियन्ता जानु दु:खद कुरा हो । स्वतन्त्र विज्ञलाई लैजानुपथ्र्यो । त्यो भएन । जो विज्ञको रुपमा कार्यदलमा जानु भएको छ उहाँकै नेतृत्वमा आजको सहकारी अभियान अगाडि बढेको होइन र ? सहकारी अभियानको गुण र दोषको जिम्मा उहाँहरुले लिनुपर्छ । यसको जिम्मेवारी राष्ट्रिय सहकारी महासंघ, केन्द्रिय संघहरु र सहकारी बैंकका लिडरहरुले लिनुपर्छ । उहाँहरु असफल भइसक्नुभयो । उहाँहरुले लिएको नीति, नेतृत्व र मनिटरिङले देशको सहकारी अभियानलाई गन्तब्यमा पुर्‍याउँदैन । जहाँ लानु थियो, उहाँहरुले लगिसक्नुभयो । उहाँहरुको इन्टेन्सन नै त्यही नहोला तर समयले त्यो देखायो ।

अहिलेको नेतृत्वले केहि गर्न सक्दैन र त्यहि नेतृत्वबाट गएका साथीहरुले कार्यदललाई थप नयाँ सुझाव दिनसक्नुहुन्न । यो कुरा म प्रष्ट रुपमा भन्छु । ठूलो रोगलाई सामान्य झारफुक गरेर सन्चो बनाउने प्रयास कार्यदलले गर्दैछ । सामान्य झारफुकले मात्र समस्या समाधान हुँदैन । यसको लागि सिजरिनकै आवश्यकता छ । ठूलो चिरफार गरेर औषधी गर्नुपर्ने अवस्था बनिसकेको छ । कार्यदलले दिएको सुझावहरु हेर्दा झारफुकले ठिक हुन्छ भन्ने खालका छन् । अर्कोतर्फ महासंघ, बैंक, नेफ्स्कुन, प्रोस्कुन जे भने पनि, तिनै साथीहरु कहिले यता कहिले उता देखिइराख्नुभएको छ । उहाँले दिएका सुझाव केहि पनि काम लाग्ने छैनन् भन्न मिल्दैन तर पीडितले यति समयभित्र बचत फिर्ता पाउनुपर्छ भनेर पनि अभियानको तर्फबाट आउनुपर्‍यो । त्यो आउन सकेको छैन । यो दु:खद हो ।

सहकारी अभियानलाई उचाईमा पुर्‍याउन कार्यदलले काम गर्नुपर्छ । तर कार्यदलमा जुन अनुहारहरु हामीले देखिरहेका छौं दीर्घकालिन रुपमा माथि लैजाने र दीगो समाधान आउने छेकछन्द देखिँदैन । विगतका आयोगहरु पनि हामीले देखेकै हौं । आयोगले दिएका सुझावहरु पनि पढ्यौं तर सरकारले ती सुझावहरुलाई लत्याएर अगाडि बढेका कारण अहिलेको समस्या आएको हो । हिजो गौरीबहादुर कार्कीको संयोजकत्वमा गठन भएको आयोगले दिएका सुझाव कार्यान्वयन गरेको भए सम्भवत यो समस्या आउने थिएन होला । सरकारले समस्या थामथुम् पार्नका लागि आयोग बनाउने गरेको छ । सुझाव लिएर दराजमा थन्काउने प्रवृत्ति सरकारमा छ ।

सीमित व्यक्तिले सहकारी अभियानको नेतृत्व गरिराखेका छन्, संघ/महासंघमा एउटै अनुहार हावी छन्, नेतृत्व परिवर्तन गर्न सक्ने हैसियत सहकारी क्षेत्रले किन राख्दैन ?

यो दुर्भाग्यपूर्ण छ । सहकारीमा देखिएका वर्तमान अनुहारहरु यो या त्यो रुपमा विगत बीस वर्षदेखि अभियानमा राज गर्दै आउनुभएको छ । विदेश भ्रमणमा उहाँ आफैं वा आफन्त र आसेपासे जानुहुन्छ । विदेश भ्रमणमा मात्र सहकारी अभियानको करोडौं रुपैया खर्च भइरहेको छ । त्यसको उपादेयता के भयो ? यतातर्फ पनि अध्ययन गर्ने कि नगर्ने ? सहकारी अभियन्ताले सहकारीको गुणस्तर अभिवृद्धिका लागि कति काम गर्न सक्यो, त्यसको समीक्षा हुनुपर्दैन ? यो नेतृत्वको मेकानिज्म नै गलत भयो । अब उहाँहरुले विश्राम लिनुपर्छ । सहकारी अभियानका लागि केहि गर्न नसक्ने नेतृत्वको के अर्थ रहन्छ ? कुनै पनि संघ, महासंघले अभियानका लागि काम गर्न सकेनन् । अब कुनै पनि संघले बचत तथा ऋणको काम गर्नु हुँदैन । एउटा विनियम बनाएर रजिष्ट्रारले हस्ताक्षर गरेको आधारमा बचतऋणको कारोबार गर्दा जोखिम बढेको छ । सहकारी बैंकले कसरी लगानी गरिराखेको छ, त्यो कुरा जगजाहेर छ ।

सहकारी संस्थालाई सेवा केन्द्रको नाममा शाखा विस्तार गर्न दिइएको छ । यसलाई बन्द गर्नुपर्छ । सहकारी ऐनमा एउटा संस्था वा संघमा भएको सञ्चालक अर्को ठाउँमा रहन नहुने भनिएपनि कार्यान्वयन हुन सकिराखेको छैन । एउटा संस्थामा भएपछि अर्को संघ/संस्थामा बस्न नपाउने कुरालाई कडाइकासाथ लागु गरिनुपर्छ । प्रारम्भिक संस्थाको हकमा दुइपटक र केन्द्रिय संघमा एकपटकभन्दा बढी अध्यक्ष बस्न नपाउने व्यवस्था गर्नुपर्छ । सञ्चालकहरुको हकमा २ पटकसम्म हुनसक्ने व्यवस्था गर्नुपर्छ । यो व्यवस्था लागु गरियो भने दोहोरिएर तेहेरिएर एउटै व्यक्ति संघको नेतृत्वमा आइरहने परिपाटी स्वत: अन्त्य हुन्छ । हामीले त्यो व्यवस्था गरेनौं भने उहाँहरुले नै घुमिफिरी संघको नेतृत्व गरिराख्नुहुन्छ । एउटा संघ छाड्यो भने अर्को संघमा जाने र फेरि दशबीस वर्ष आफैं नेतृत्वमा रहिरहने हो भने नेपालको सहकारी अभियान कहिल्यै सुध्रिँदैन ।

सहकारीको समस्या जटिल छ, यो तहको समस्या यसअघि आएको थिएन । धेरै संस्था समस्यामा परेकाले राम्रा संस्थाहरुलाई पनि असर पारिरहेको छ, यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ ?

सहकारीको रक्तसञ्चार भनेर बचतऋण कारोबारलाई मानिन्छ ।  बचतको सुरक्षा गर्नु हरेक संस्थाको प्राथमिक दायित्व हुन्छ । जतिबेला संस्थाहरुले संकलन गरेको बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्छन्, त्यतिबेला मात्र बचतको सुरक्षा हुन्छ र फिर्ता हुने निश्चित हुन्छ । हामीकहाँ सञ्चालकहरुले नै बचतको अपचलन गर्ने गरेको देखिएको छ । कतै बचत संकलन गरेर सञ्चालकहरु स्वयंले नै  लगानी गर्न संस्था खोलेका छन् । अर्को खाले संस्था बचत संकलन गरेपछि आफु सहित सानो समुहमा  लगानी गर्ने गरेको अवस्था छ । अर्कोतर्फ ऋण लगानी गर्ने क्षमता नभएका कारण जुनसुकै क्षेत्रमा पनि लगानी गर्ने गरेकाले पनि समस्या आएको छ । यी सबै कारणले सहकारी संस्था समस्यामा परेका हुन् ।

कोभिड १९ र रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रलाई ऋणात्मक बाटोमा लागेको छ । आर्थिक मन्दी हामी सबैले झेलेका छौं । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएका छन् । सदस्यहरुले आफ्नो बचतको बढी सुरक्षा खोजेर बचत गर्न सहकारीलाई नै भन्दाबढी बैंकलाई रोजे । सन्दर्भ ब्याजदरका कारण सहकारीले बैंकले जति ब्याज पनि दिन सकेनन् । यी कारणले सहकारीमा समस्या आएको हो । अब कसरी दीर्घकालिन समस्या समाधान गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । नेपालका सहकारीलाई सहकारीको रुपमा सञ्चालन गर्ने अर्थात् सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई पालन गर्ने हो भने समस्यारहित बनाउन सकिन्छ ।

ऐनमा भएका कतिपय व्यवस्था व्यवहारमा लागु गर्न सके सहकारी समस्यामुक्त हुन्छ । सञ्चालकले सहकारीको बचत अपचलन गर्ने कुरालाई रोक्न सकियो वा सहकारी शिक्षालाई सदस्यसम्म पुर्‍याउन सकियो भने समस्या आउँदैनन् । बैंकवित्तीय संस्थाले ६ प्रतिशत जनतालाई मात्र ऋण दिइराखेका छन् । यो डरलाग्दो अवस्था छ । अहिले एउटा व्यक्तिले अर्को व्यक्तिलाई ऋण दिँदा १० प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने व्यवस्था सरकारले गरेको छ । बैंकले १४ प्रतिशत लिन पाउने तर व्यक्तिले सफा मनसाय राखेर ऋण दिएको छ भने बैंक सरह किन लिन नपाउने ? त्यसलाई खुकुलो गर्दा मिटरव्याजीले फाइदा लिने हुन् कि भन्ने डर पनि छ ।

अर्कोतर्फ माइक्रोफाइनान्सबाट पीडित भएको कुरा पनि आएको छ । यी सबै अवस्था हेर्दा आगामी दिन गरिब जनतामाथि यसले झन् ठूलो समस्या सृजना हुने देखिन्छ । उनीहरुले चाहिएको बेला कर्जा नपाउने परिस्थिति बन्दै गएको छ । बालबच्चा पढाउन, सामाजिक रितिरिवाज धान्न वा विदेश जाने कार्यको लागि ऋण नपाउने देखिन्छ । यसर्थ सहकारी आवश्यक छ तर सहकारीको मोडालिटी परिवर्तन गर्नुपर्छ । परम्परागत ढंगले सहकारी अगाडि लैजान सकिँदैन ।

सहकारीले ऋणसँगै सीप पनि दिनुपर्छ । ऋणलाई कसरी उत्पादनशील क्षेत्रमा परिचालन गरी रोजगारी सृजना गर्ने भनेर सँगैसँगै ज्ञान पनि दिन सक्ने सामथ्र्य सहकारीले विकास गर्नुपर्छ । त्यसमा राज्य र संघहरुको भूमिका खेल्नुपर्छ । यसका लागि संघहरुलाई पुनर्संरचना गर्न आवश्यक छ । त्यसपछि मात्र नियमन प्रवर्द्धनको काम संघहरुलाई  दिन सकिन्छ । यसले सहकारी अभियानलाई गुणात्मकतर्फ लैजान सक्दैन । हरेक जनतालाई सहकारी के हो र सहकारीको सदस्य भएपछि कसरी आर्थिक सामाजिक अवस्थामा सुधार गर्न सकिन्छ भनेर सिकाइयो भनेमात्र यसले गुणात्मकतातर्फ लैजान्छ । सानोतिनो बचत गरेपछि त्यो बचतलाई कसरी उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिन्छ, सहकारीबाट ऋण लिएर कसरी आयआर्जन गर्न सकिन्छ भन्ने ससाना कुरामा सहकारीले ध्यान नदिएका कारण अहिलेको समस्या आएको हो ।

प्रत्येक संस्था ठूलो बनाउनुपर्ने तर आफ्नो क्षमता विकास  नगर्ने गरेका कारण पनि अहिले समस्या ल्याएको हो । यसले गर्दा सहकारी सुधारका लागि तलैदेखि पुनर्संरचना गर्न जरुरी छ । सहकारी स्थापना गर्नुभन्दा अगाडि नै प्रत्येक संस्थाको पञ्चवर्षीय उद्देश्य प्रस्तुत गर्न लगाउने, सदस्यलाई उसले दिने सेवा के हो र कसरी सदस्यको उत्थान गर्छ भनेर कार्ययोजना लिएर मात्र नियमनकारी निकायले संस्था दर्ता दिनुपर्छ । तत्कालका लागि संस्था दर्ता रोक्नुपर्छ, एउटा पालिकामा बहुउद्देश्यीय, बचत तथा ऋण, स्वास्थ्य, कृषि बाहेक धेरै संख्यामा सहकारी संस्था आवश्यक छैन । एकिकरणलाई फोर्स मर्जरका रुपमा लैजाने र निश्चित जिम्मेवारी दिएर त्यसको आधारमा अगाडि बढ्न सकियो भने अभियानले गति लिन्छ र सदस्यको आर्थिक सामाजिक रुपान्तरण सम्भव देखिन्छ । संघहरुले तालिम शिक्षाका साथै सहकारीले उत्पादन गरेको वस्तुको बजारीकरण गर्ने काम गर्नुपर्छ । ऐनमा व्यवस्था भए बमोजिम अन्य सहकारी बैंकहरुपनि स्थापना गर्नुपर्छ । यसले बजारमा प्रतिस्पर्धा बढाउँछ । सहकारी क्षेत्रको एउटामात्र बैंक हुँदा एकाधिकार बढाउने जुन स्थिति छ, त्यसलाई अन्त्य गर्छ ।