आज नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३६ औं स्थापना दिवसको अवसरमा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।
नेफ्स्कूनले हालसम्म सदस्य संघ संस्थाहरुलाई मार्गदर्शन दिने, बिभिन्न नयाँ आयामहरुमा बहस पैरवी गर्ने, समन्वयमा सहयोग गर्ने, सहकारी ऐन, कानून सहकारीको सिद्धान्त मुल्य मान्यता बमोजिम काम गर्ने सहकारीकर्मीलाई असफल पार्नको लागि दुख दिएर विक्षिप्त पारेको अवस्थामा सहयोग गर्ने जस्ता अभिभावकीय भूमिका निर्वाह गर्दै आईरहेको छ । त्यसैगरी आवद्ध संघसंस्थाको मानव संसाधनलाई दक्ष बनाउनको लागि आधारभुत, मध्यमस्तरीय, उच्चस्तरीय तालिमहरु प्रदान गर्दै आइरहेको छ । सदस्य संघ संस्थामा आवद्ध शेयर सदस्यहरुलाई सेवा गर्ने कर्मचारीहरु दक्ष र ब्यवसायिक बनाउनुपर्दछ भनेर सिटिइभिटीसँग सहकार्य गर्दै सहकारी ब्यवस्थापन कोर्ष, रिसेप्सनिष्ट कम क्यासियर कोर्ष, बचत तथा ऋण परिचालन कोर्ष सञ्चालन गर्दै आइरहेको छ । बेला बेलामा आई पर्ने संकटमा वा सदस्य संघ संस्थाहरु द्विविधामा परेको बेलामा सहयोग गर्न तथा मार्गनिर्देशन जारी गरी मार्ग स्पष्ट पार्नको लागि नेफ्स्कूनको भूमिका अतुलनीय छ ।
सहकारीको सिद्धान्त, मुल्य र मान्यतामा संस्थाहरु सञ्चालन भएको छ वा छैन भनेर स्वयं सहकारी संस्थाहरुले आफै उक्त कुराहरु परिक्षणको लागि नेफ्स्कूनले प्रारम्भिक साकोसहरुलाई उत्प्रेरित गरिरहेको अवस्था छ र हामीले उक्त कुरा ब्यवहारमा उतारिसकेका छौं । बचत तथा ऋण सहकारी संस्थाहरु सही रुपमा सञ्चालन हुनुपर्दछ भन्ने मान्यताका साथ आधारशीला, कर्ब्स, प्रोबेसन, एक्सेस जस्ता स्तरिकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । यस्ता कार्यक्रमहरुमा आवद्ध भई सञ्चालित साकोसहरु संकटको घडीमा पनि तुलनात्मक रुपमा सजिलै सञ्चालन भईरहेका छन् जसको श्रेय नेफ्स्कूनलाई जान्छ । यसैगरी बचत तथा ऋण सहकारी संस्थाहरुलाई भविष्यमा सहज बनाउनको लागि स्थिरिकरण कोष सञ्चालनमा आईसकेको छ ।
सहकारीबीच सहकार्य भन्ने सिद्धान्तलाई कार्यरुप दिन साकोस अभियानमा आवद्ध मानव संशाधनलाई एउटै छानामुनि राखी अनुभव आदान प्रदान गराउन फरक र निर्विवाद ढंगबाट छनोट विधि विकास गरी नेफ्स्कून साकोस म्यानेजर्स क्लव र क्युरीको नीतिगत ब्यवस्था गरेको छ । यसले साकोस अभियानमा देशभर रहेको मानव संशाधनलाई एकजुट बनाउन र असल अभ्यास तथा अनुभव साटासाट गर्नको लागि महत्वपुर्ण भूमिका निर्वाह गरेको छ ।
नेफ्स्कूनले गरेका सराहनीय कार्यलाई उच्च सम्मानका साथ आगामी दिनमा थप कार्यहरु गर्न उत्प्रेरणा मिलोस् भनि कामना गर्दछु । नेफ्स्कून आगामी दिनमा आफैपनि स्तरीकरण कार्यक्रममा जानुपर्दछ । नेपाल राष्ट्र बैंक ऐन अन्तर्गत सञ्चालित कर्जा सुचना केन्द्र नेपालमा इच्छुक साकोसहरु सहभागी हुन पाउने व्यवस्था गर्नको लागि नेफ्स्कून नेतृत्वले अन्तरहृदयदेखि नै भूमिका निर्वाह गरी परिणाममुखी कार्य गर्नुपर्दछ । सहकारी संस्था स्वनियमनमा सञ्चालन हुनु त छँदैछ यसको अलावा साकोस नियमनको लागि सहकारी विभाग अन्तर्गत नै लेखाविज्ञहरु सहित चार्टर्ड एकाउन्टेन्टहरुको छुट्टै युनिट बनाउन वा नेपाल राष्ट्र बैंक अन्तर्गत छुट्टै युनिट बनाउन जतिसक्दो छिटो परिणाम निकाल्ने गरी परिणाममुखी कार्य गर्नुपर्ने परिस्थिति बनेको छ ।
सदस्यमा आधारित साकोस र अन्य प्रकारले चलेको साकोसहरुको पहिचान गरी सम्बन्धित निकाय तथा शेयर सदस्यहरुमा स्पष्ट पार्नुपर्ने जिम्मेवारी नेफ्स्कूनमा समेत देखिन्छ । प्रारम्भिक साकोसहरुको साथै संघहरुमा नेतृत्वपूर्व तालिमलाई प्राथमिकताका साथ ब्यवहारिक बनाउनको लागि नेफ्स्कूनको महत्वपुर्ण योगदानको आवश्यकता देखिएको छ । नेफ्स्कूनमा सञ्चालकीय र ब्यवस्थापकीय कार्यहरुको बारेमा नेफ्स्कूनको आधिकारीक माध्यमबाट मात्र शेयर सदस्यहरुमा सूचना आएमा नेफ्स्कूनका सदस्य संघसंस्थाहरुले पनि सोही कुरा सिक्न मिल्नेथियो भन्ने अपेक्षा राखेको पाईन्छ । नेफ्स्कूनले तयार पार्दै गरेको सहकारीलाई प्रविधिसँग जोड्ने एक सरल सुरक्षित र साझा डिजिटल प्लेटफर्म मिरा ईआरपीमा सदस्य र शेयर ब्यवस्थापन, बैंकीङ्ग ब्यवस्थापन प्रणाली, लेखा प्रणाली, मोबाइल बैंकिङ्ग तथा ईबैंकिङ्ग ब्यवस्थापन र मौज्दात व्यवस्थापन प्रणाली समावेश भएको भन्ने बुझिएको छ यसको अलावा एनएफआरएस लेखा विधिलाई समेत समावेस गरी सबैले सोचेजस्तो प्रविधि छिटै आवस् भन्ने कामना गर्दछु । जय सहकारी ।।