शनिबार, आश्विन १७ गते २०८३

निर्माण व्यवसायीलाई अर्थमन्त्री महतको आश्वासन ‘सम्पूर्ण बाँकी भुक्तानी हुन्छ, निर्माण सक्नुस् ’


श्रावण २९, २०८० सोमबार
निर्माण व्यवसायीलाई अर्थमन्त्री महतको आश्वासन ‘सम्पूर्ण बाँकी भुक्तानी हुन्छ, निर्माण सक्नुस् ’

 

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने बताएका छन् । अर्थमन्त्री डा. महतले आन्दोलनरत निर्माण व्यवसायीसँग आज अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा हालसम्म भएको कामबाट सिर्जित सबै दायित्वको भुक्तानी दिने र बाँकी रहेको काम अघि बढ्न नसक्ने अवस्था देखिएमा सरकारले त्यस्ता आयोजनाको ठेक्का तोड्ने बताएका हुन् ।
 
‘कतिपय आयोजनामा ठेक्का तोड्न नसकिने अवस्थामा त्यसलाई बजेट व्यवस्थापन गरेर जतिसक्दो चाँडै काम सम्पन्न गरौं । काम हुन सकेको छैन र बजेट पनि छैन भने ती आयोजनाको ठेक्का तोडिन्छ । जतिबेला बजेट हुन्छ, त्यतिबेला ठेक्का लाग्छ।’ अर्थमन्त्री महतले भने । निर्माण व्यवसायीको चासो र चिन्ता भनेको काम गरेका आयोजनामा बजेट भुक्तानी पाउनुपर्छ भन्ने रहेकोमा त्यो भुक्तानी हुने स्पष्ट पारे । 

‘हामीले दायित्व सिर्जना भएका विषयमा भुक्तानी दिनैपर्छ । हामी सिर्जना भएका सबै दायित्व भुक्तानी गर्न तयार छौं,’ महतले भने, ‘बिल उठाएका सबै भुक्तानी हुन्छ । सम्बन्धित मन्त्रालयले फाइल नपठाउँदा केही भुक्तानीमा समस्या भएको हो ।’

हाल कुन आयोजना कस्तो अवस्थामा छ र त्यस्तो आयोजनाको सिर्जित दायित्व कति हो भन्ने स्पष्ट तथ्याङ्क ल्याउन पनि अर्थमन्त्री महतले निर्माण व्यवसायीसँग आग्रह गर्नुभयो । ‘सम्बन्धित मन्त्रालयले बिल उठाएको १ महिनापछि मात्रै अर्थ मन्त्रालयमा फाइल पुग्छझ महतले भन्नुभयो, ‘मन्त्रालयमा बिल पुगेको १५ दिनमा सबै रकम भुक्तानी गर्न तयार छौं तर बिल नबनेका विषयमा अर्थ मन्त्रालयले केही गर्न सक्दैन । सम्बन्धित मन्त्रालयले बिल उठाउनुपर्‍यो ।’

सरकारलाई अनावश्यक दायित्व सिर्जना हुनेगरी अब आयोजनाको समय थप नगर्ने बरु हालसम्म भएको कामको भुक्तानी गरेर ठेक्का तोडिने अर्थमन्त्री महतको भनाइ छ । ‘अब यो च्याप्टर बन्द गरौं । नयाँ शिराबाट काम शुरु गरौ । अब नयाँ मूल्यको आधारमै ठेक्का लाग्छ । यसअघि कतिपय आवश्यकता नै नभएका ठाउँमा पनि ठेक्का लागेको छ, त्यस्ता ठेक्का तोडिन्छन्’, अर्थमन्त्री महतले भने, ‘काम हुन नसकेका आयोजनाको काम रोकिन्छ । ठेक्का बिसर्जन गरौं ।’ काम सम्पन्न भइसकेका आयोजनामा बिल बनिसकेको अवस्थामा अर्थमन्त्रालयले भुक्तानी नरोकेको पनि स्पष्ट पारे।