मेची बहुउद्देश्यीय सहकारी संस्थाले २९औं वार्षिक साधारण सभा आइतबारबाट शुरु भएको छ । संस्थाले २७ औं बार्षिकोत्सव तथा २९औं वार्षिक साधारण सभा शुभारम्भको अवसरमा पत्रकार सम्मेलन मार्फत संस्थाको गत आर्थिक बर्षको वार्षिक गतिविधि र आगामी कार्ययोजनाहरु सार्वजनिक गरेको हो ।
संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाले बाह्य कर्जा घटाउँदै लैजाने नीति लिएको उल्लेख गरे । भट्टराईले बाह्य कर्जाका कारण संस्थालाई पर्न सक्ने अप्ठ्यारोको महसुस यस पटकको आर्थिक मन्दीमा गरिएको बताउँदै गत आर्थिक बर्षमा १७ करोड ६० लाख रुपैयाँ बाह्यकर्जा घटाएको पनि उल्लेख गरे ।
संस्थाले सदस्यहरुको लामो अवधिको बचतलाई प्राथमिकता दिइने, यस बर्षलाई पनि अघिल्लो बर्षझैं बचत बृद्धिको बर्षका रुपमा सञ्चालन गरिने, सामुदायिक विद्यालय, टोल बिकास संस्था र अन्य गैह्रनाफामुलक संस्थाहरुलाई सदस्यता दिई बचतमा सहभागी गराइने, यस बर्षदेखि मेगा बचत योजना र मेची पेन्सन बचत योजना अघि सारिएको अध्यक्ष भट्टराईले जनाए।
सहकारी आवास फेज–२ र उर्लाबारीमा रहेको संस्थाका नामको जग्गामा सहकारी बजार निर्माणको योजना पनि संस्थाले अघि सार्न लागेको उनले जानकारी दिए ।
कार्यकारी प्रमुख खोमप्रसाद बगालेले संस्थाको वित्तीय विवरण प्रस्तुत गर्दै गत आर्थिक वर्षमा संस्थाले १० करोड नाफा आर्जन गर्न सकेको जानकारी दिए । चालु आ.व. २०८०।८१ भित्रमा २ हजार ७ सय ५० जना सदस्य संख्या थप गर्ने लक्ष्य राखिएको कार्यकारी प्रमुख थापाले जानकारी दिए । संस्थाको अघिल्लो बर्ष २ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी रहेकोमा १ करोड ९० लाख रुपैयाँ थप भई हाल ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी रहेको र ९९ प्रतिशत असल कर्जा रहेको संस्थाको दाबी छ । ४३ करोड ९५ लाख रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको यो संस्थाले गत आर्थिक बर्ष २०७९/०८० मा विभिन्न शीर्षकमा सरकारलाई २ करोड भन्दा बढी रकम कर तिरेको पनि कार्यकारी प्रमुख बगालेले जनाए ।
संस्थाले ७ वटा इकाइगत साधारण सभा गरी अन्तिममा भाद्र १२ गते प्रमाणिकरण साधारणसभा गर्ने भएकाे छ ।
