सहकारी क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी समाधानका उपायबारे गठित कार्यदललाई सहकारी अभियानका तर्फबाट सुझाव पेश गरिएको छ । आज राष्ट्रिय सहकारी महासंघको एक टोलीले ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ का संयोजक एवं राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत समक्ष आफ्ना सुझाव बुझाएको हो ।
सुझावहरुमा समस्याउन्मुख संस्थाहरूको अध्ययन विश्लेषण गरी रकम अपचलन गर्ने संचालक र कर्मचारीहरूको तत्काल सम्पत्ति रोक्का, वैदेशिक यात्रामा रोक, ऋण वा संचालकको परियोजनामा लगानी गरेको भए असुलउपर गरी सदस्यहरूलाई रकमका आधारमा फिर्ता गर्दै लैजाने, सहकारी प्रवर्धन कोषको रकम महासंघमार्फत परिचालन गरी अनुगमन तथा सुपरिवेक्षण गर्नुपर्ने उल्लेख छ ।
त्यसैगरी सुझाव सुशाससन प्रवर्धन तथा सहकारीका असल अभ्यासहरूको प्रचारप्रसार गर्दै आमसमुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने, संस्थाहरूबाट समेत र सरकारको विभिन्न कोषबाट राष्ट्रिय सहकारी बैंकमार्फत तरलता व्यवस्थापन कर्जा दिने, वित्तीय कारोबार गर्ने संस्थाको कार्यक्षेत्र विस्तार एवं सेवा केन्द्र स्थापनामा पूर्ण रोक लगाउने, सहकारी कर्जा सूचना केन्द्र र बचत तथा ऋण सुरक्षण कोष एवं कर्जा असुली न्यायाधीकरण तत्काल स्थापना गरी कार्यान्वयनमा ल्याउनुपर्ने भनिएको छ ।
सन्दर्भ व्याजदरलाई स्वचालित बनाउने, सम्पत्ति तथा दायित्वका आधारमा सहकारी संघ संस्थाको वर्गीकरण गरी तथा जोखिमका आधारमा सघन सुपरिवेक्षण गर्ने, सार्वजनिक रूपमा अनिवार्य त्रैमासिक संस्थागत खुलासा सार्वजनिक मिडियामा गर्नुपर्ने आदि विषय समेटिएका छन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा सुझाव पेश गर्न गएको प्रतिनिधिमण्डलमा उपाध्यक्ष रमेश पोख्रेल, महांघका सञ्चालक तथा राष्टिय सहकारी वैकका अध्यक्ष के वी। उप्रेती, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्याल लगायत सहकारी वैकका सञ्चालकहरु, महासंघ, केन्द्रीय संघहरु, वाग्मती प्रदेश वचत तथा ऋण सहकारी संघका अध्यक्ष तथा पदाधिकारी सहभागी थिए ।
सो अवसरमा महासंघका महाप्रवन्धक चित्राकुमारी थामुहांग सुव्वा, नायवमहाप्रवन्धक वावुल खनाल, सहकारी वैंकका प्रमुख कार्यकारी अधिकृत वद्री गुरागाँइ, नेफ्स्कुनका व्यवस्थापन प्रमुख सञ्जय तिमील्सीनालगायतको सहभागिता रहेको थियो ।
त्यसै अवसरमा राष्ट्रिय सहकारी बैंक, नेफ्स्कुन र प्रोस्कुनले समेत महासंघमा र कार्यदल संयोजकलाई छुट्टाछुट्टै सुझावहरु समेत पेश गरेका थिए ।
नेपालपत्र संवाददाता