शनिबार, आश्विन १७ गते २०८३

लगानी वृद्धिका लागि नीतिगत स्थिरता आवश्यक रहेको ढकालको भनाइ 

श्रावण २५, २०८० बिहीबार
लगानी वृद्धिका लागि नीतिगत स्थिरता आवश्यक रहेको ढकालको भनाइ 

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानी वृद्धिका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताए । जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश कार्यालयको भवन उद्घाटन गर्दै अध्यक्ष ढकालले स्वदेशी तथा विदेशी दुवै लगानीका लागि नीतिगत स्थिरता जरुरी रहेको बताएका हुन् ।

‘नीतिगत अस्थिरताले गर्दा लगानीमैत्री वातावरण बन्न सक्दैन । कुनै पनि मुलुकको कानुन, नीति अस्थिर भयो भने स्वदेशी होस् वा विदेशी दुवै लगानी भित्र्याउन सकिदैन । त्यसैले हामीले सबै भन्दा पहिले नीतिगत स्थिरता बनाउन जरुरी हुन्छ । तब मात्र लगानी भित्र्याउन सकिन्छ र लगानीले प्रतिफल पाउने अवस्था पनि रहन्छ,’ उनले भने ।


महासंघमा नयाँ कार्यसमिति आइसकेपछि विभिन्न फोरमबाट लगानीको वातावरण बनाउन पहल गरिरहेको बताउँदै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण बन्न सकेमा आन्तरिक वा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन समस्या नहुने पनि बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समयमा नेपाली उद्योगी व्यवसायीहरुको नेतृत्व गर्दै महासंघले भारतीय उद्योगी व्यवसायीहरुसँग दुई देशबीच लगानी तथा व्यवसायिक सम्बन्धमा छलफल भएको बारेमा बताउदै अध्यक्ष ढकालले लगानीको वातावरण बनेमा भारतीय लगानी विस्तार गर्न सकिने पनि बताए ।

‘प्रधानमन्त्रीको भ्रमणको समयमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्तरुपमा आयोजना गरेको विजनेश फोरममा दुई देशका व्यवसायीहरुबीच पनि सौहार्दपूर्ण छलफल भएको थियो । कार्यक्रममा नेपालका प्रधानमन्त्रीज्यू, दुई देशका मन्त्रीज्यूहरु, प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति र गहल छलफलबाट दुई देशबीच व्यवसायिक सम्बन्ध विस्तार गर्न सहयोग पुग्नेछ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता