शनिबार, कार्तिक ८ गते २०८३

मन्त्रिपरिषद्ले पारित गरेको शिक्षा विधेयकप्रति थारु समुदायको आपत्ति, फिर्ता नलिए सरकार ढाल्ने चेतावनी 

श्रावण २२, २०८० सोमबार
मन्त्रिपरिषद्ले पारित गरेको शिक्षा विधेयकप्रति थारु समुदायको आपत्ति, फिर्ता नलिए सरकार ढाल्ने चेतावनी 

काठमाडौं, २२ साउन , संसद्मा पठाउन मन्त्रिपरिषद्बाट पारित भएको शिक्षा विधेयकलाई लिएर थारु समुदायहरुले आपत्ति जनाएका छन् । थारु, मधेशी, मुस्लिम, दलित आदि समुदायलाई अलग–अलग कलस्टरमा सूचीकृत गरी आरक्षणको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहेपनि संघीय शिक्षा ऐन संशोधन गर्न बनेको विधेयकमा मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदाय र थारुलाई २२ प्रतिशत आरक्षणको व्यवस्था गरी तराई मधेशका नाममा सुनियोजित रुपले थारुहरुको अस्तित्व, पहिचान र अधिकार समाप्त गर्न खोजेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले उक्त शिक्षा विधेयक थारु समुदायका लागि स्वीकार्य नभएको बताए । थारु समुदायबाट मन्त्रीमण्डलमा प्रतिनिधित्व गरेकाहरु पनि दास मानसिकताबाट गुज्रिएको उनीहरुको आरोप छ । यथास्थितिमा शिक्षा विधेयक पारित गर्न खोजेमा सरकाले कडा मूल्य चुकाउनुपर्ने उनीहरुको चेतावनी छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक श्रवण चौधरीले राज्यले थारु समुदायमाथि पटक–पटक शोषण गरेको आरोप लगाए । विभिन्न राजनीतिक दलले सत्ता र शासनको लागिमात्रै थारुहरुलाई प्रयोग गरेको उनको आरोप छ । अहिलेको शिक्षा विधेयकमा पनि थारुहरुलाई राज्यले दमन गर्न खोजेको उनले बताए । ‘नेपालको आदिवासी भूमिपुत्र थारुहरु हामी अहिले गम्भीर मोडमा पुगेका छौं । पटक–पटक राज्यले हामीलाई शोषण गरेको छ । सत्ता र शासनको लागिमात्रै थारुहरुलाई प्रयोग गरियो । सत्ताको उन्माद लागेका समुदायहरुले थारुहरुमाथि थितोमिचो गरिरहेका छन्,’– उनले भने ।

जनयुद्ध र जनआन्दोलनमा थारु समुदायले गरेको योगदानको स्मरण गराउँदै उनले अहिले जनयुद्धबाट आएका प्रचण्ड सरकार प्रमुख हुँदा पनि शिक्षा विधेकमा थारुहरुको मुद्दा समेट्न नसकेको बताए । साथै, शिक्षा विधेयक ल्याउँदा संविधानले थारुहरुमाथि दिएको अधिकारको समेत बर्खिलाप भएको उनको भनाई रहेको छ । 
‘अहिले जनयुद्ध गरेर आएको माओवादी सरकारको प्रमुख हुँदा पनि र संविधान बनिसकेको अवस्थामा पनि त्यो संविधानलाई मिचेर गैरकानुनी र गैरराजनीतिक तरिकाले थारुहरुमाथि शिक्षा ऐनको नाममा दमन गर्न खोजिएको छ । यो संविधानले पनि थारुलाई अधिकार दिएको छैन । थारुको अधिकार सुनिश्चित छैन,’– उनले भने ।  तराईमा रहेको मधेशी, थारु, मुस्लिम, दलितलाई २२ प्रतिशतलेमात्रै नपुग्ने उनले बताए । मन्त्रिपरिषद्ले पारित गरेको शिक्षा विधेयक कुनै पनि हालतमा थारुहरुले कार्यान्वयन गर्न दिन नहुने उनले बताए । जबरजस्त विधेक पारित गराएर लाद्ने काम गरेमा त्यसबाट हुने घटना–दुर्घटनाको जिम्मा पनि सरकारले लिन पर्ने उनको भनाई छ । ‘हाम्रो अधिकार यदि सुनिश्चित भएन भने अब पछिका कदमबाट कुनै घटना दुर्घटना हुन गयो भने त्यसको मूल्य राज्यले चुकाउन पर्छ,’– उनले भने । मन्त्रिपरिषद्ले संसद्मा पठाउनका लागि पारित गरेको शिक्षा विधेक थारुका लागिमात्रै नभएर सबैका लागि घातक रहेको उनको दाबी छ । आफूहरु प्राण त्यागेर भएपनि उक्त शिक्षा विधेयक लागू हुन नदिने उनले बताए । 
पूर्वसांसद गंगा सत्गौवा थारुले संविधानले थारु कलास्टरमा पहिचान दिएपछि पनि थारुहरुको पहिचान र आउने सन्ततिहरुको अधिकारमाथि खेलवाड भइरहेको बताईन् ।

‘हामी पटक–पटक राज्यबाट शोषण र दमनमा परिरह्यौं । आज फेरि पनि हाम्रो पढे लेखेका य्ुवाहरुको गाँस, बास, कपास खोस्ने दुष्प्रयासका साथ यो विधेयक सुनियोजित तरिकाले आएको हामीलाई महसुश भएको छ ।’ उनले भनिन्, ‘यसप्रति हाम्रो सिंगो थारु समुदायको ध्यानाकार्षण भएको छ । सिंगो हाम्रो थारु समुदायले मन्त्रिपरिषदले गरेको निर्णयप्रति खेद प्रकट गरेको छ ।’ हिजोका दिनमा थारुहरु राज्यमन्त्रीमात्रै बनेको दाबी गर्दै उनले आज थारु समुदायबाट दुई जना क्याविनेटमा प्रतिनिधित्व हुँदा पनि तिनीहरुले पदभन्दा ठूलो पहिचान होईन भन्ने कुरा पुष्टि गरेको बताईन् । अहिलेको क्याविनेटमा थारु समुदायबाट अमनलाल मोदी र रञ्जिता श्रेष्ठ चौधरी मन्त्री छन् ।  
थारु समुदायमाथि संविधानविपरित फेरि अन्याय भएको खण्डमा २०७२ भाद्र ७ गतेकोजस्तै आन्दोलन व्युँताउने उनको चेतावनी छ । ‘अब हामी थारु चुप लागेर बस्दैनौं । फेरि पनि हामीमाथि यस्तो अन्याय पर्न गयो भने फेरि पनि २०७२ भाद्र ७ गतेको जस्तो आन्दोलन उठाउन नपरोस् । यो कुरा राज्यसत्ताले बुझोस्,’– उनले भनिन् ।  सांसद जनकराज चौधरीले २०७२ सालमा जारी भएको नेपालको संविधान अपुरो, अधुरो र अपूर्ण रहेको बताए ।

 ‘अहिले पनि संविधान अपुरो, अधुरो र अपूर्ण छ । जसभित्र अझैं पनि उत्पीडित वर्गका हक अधिकार त्यहाँ सुनिश्चित हुन सकेको छैन । जे कुरा संविधाले उल्लेख गरेको छ, स्थापित गरेको छ । त्यो मूल्य मान्यतालाई पनि वर्तमान सरकारले लत्यायने काम गरेको छ,’– उनले भने । सरकारमा रहेका मन्त्रीहरुले विधेयक क्याविनेटमा लैजाँदा सविधानसमेत नपढेको उनको टिप्पणी छ । हचुवाको भरमा क्याविनेटमा शिक्षा विधेयक लगिएको उनको आरोप छ । उनले विभिन्न विधेयक आउँदा थारुहरुले आन्दोलन गर्न परेको बताए । थारुहरुमाथि राज्यबाट पटक–पटक विभेदपूर्ण क्रियाकलाप भएको उनको आरोप छ । आदिबासी थारु कानुन, न्याय तथा मानवअधिकार समाजका महासचिव बुद्धसेन चौधरीले अहिलेको शिक्षा विधेक संघीयता, लोकतन्त्र र समावेशी विरोधी रहेको बताए । विधेकले संवैधानिक सर्वोच्चताको वर्खिलाप गरेको उनको दाबी छ । ‘अहिलेको शिक्षा ऐन संघीयता विरोधी हो, लोकतन्त्र विरोधी हो, सामावेशी विरोधी हो । हामी अहिले जुन लोकतन्त्रको जगमा संविधान जारी गरेको छ, यसले पहिचान दिएको छ । यहाँ विविधतामा एकता छ । तर,अहिले संवैधानिक सर्वोच्चतालाई उल्लङ्घन भएको छ,’–  उनले भने । 
संविधानको जगमा मन्त्री भएकाहरुले नै संविधानलाई कुल्चने काम गरेको उनको आरोप छ ।

संविधानमा व्यवस्था भएको मौलिक हकको जानकारी नै नभएकाहरु सांसद र मन्त्री हुन नसक्ने उनको भनाई छ । संविधान र अदालतलाई पालना नगरेर त्यसको विरुद्धमा विधेयक ल्याउने काम भएको उनले बताए । उक्त विधेयक मन्त्रिपरिषदले अविलम्ब फिर्ता लिनुपर्ने उनले बताए । नश्लीय मानसिकता संविधानभन्दा ठूलो बनाउन नहुने उनले बताए । प्रतिनिधि सभा सदस्य अरुण चौधरीले सरकारले संविधानको मर्म विपरीत कदम चालेको खण्डमा त्यसको विरुद्धमा जान बाध्य हुने बताए । २०७२ को संविधानले थारुहरुको क्लास्टर छुट्टै राखिएको स्मरण गराउँदै उनले शिक्षा ऐन संसद्मा पठाएर पारित भएको खण्डमा टीकापुरमा उत्रिएको जसैगरी माईतीघरमा उत्रिने चेतावनी दिए । 
‘संविधानविपरित अहिले जुन कार्य गरिएको छ, त्यसको विरुद्धमा यस्तो दिन नआओस्, हामी टीकापुरमा उत्रेका थियौं । यो बेलामा माईतीघरमा उत्रने दिन नआओस्,’– उनले भने ।

आदिबासी थारु कानुन, न्याय तथा मानवअधिकार समाजका अध्यक्ष महेश्वरप्रसाद चौधरीले शिक्षा ऐनलाई संशोधनका लागि तयार गरिएको विधेयकको मस्यौदा संसद्मा पेश भएमा अदालतको अवहेलना हुने बताए । आजको पत्रकार सम्मेलन शिक्षा विधेयकको विरुद्धको पहिलो खुड्किला भएको बताए । थारु समुदायबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरुलाई उनले उक्त विधेयक रोक्न आग्रह गरे । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले नेपाल सरकारले बारम्बार थारु समुदायमाथि दमन गरिरहेको आरोप लगाए । थारुहरुलाई सरकारले नै विद्रोही बनाएको उनको भनाई छ ।

संविधानको भावनाविपरित शिक्षा ऐन ल्याउन लागिएको बताउँदै उनले उक्त शिक्षा ऐन मन्त्रिपरिषद्ले फिर्ता नलिएको खण्डमा अप्ठ्यारो पर्ने चेतावनी दिए । संघीय शिक्षा ऐन र संघीय निजामति ऐनमा थारुहरुको कोटा सुनिश्चित नगरिएको खण्डमा सरकार ढल्न सक्ने उनको चेतावनी छ । ‘संघीय शिक्षा ऐन र निजामति ऐनमा थारुहरुको पहिचान र कोटा आउन सकेन भने ठूलो विद्रोह हुन्छ । सरकार पनि ढल्नसक्छ,’– उनले भने ।