‘कनेक्ट देन करेक्ट’ भन्ने विश्वव्यापी सिद्धान्त हो । यो बेलामा सदस्यसँग कनेक्ट गर्ने हो । अरु बेलामा भन्दा हामी यो समयमा सदस्यहरुसँग नजिक रह्यौं । २०७८ सालदेखि मन्दीको क्रम सुरु भयो । अझै यो अवस्था तीन बर्ष अर्थात २०८३ सम्म रहन्छ । तर हामी मन्दी आउनु पूर्वदेखि नै वित्तीय स्थायित्वमा सचेत थियौं । संस्थालाइ भित्री रुपमा पन्चकन्या छड जस्तै कसरी बलियो बनाएर राख्ने भनेर हामी ५/६ बर्षदेखि लागि परेको थियौं । हाम्रो संस्थामा १७ प्रतिशत जगेडा कोष छ । ५ प्रतिशत अन्य कोषहरु छ । म सबै संस्थाहरुलाइ जगेडा कोष बलियो बनाउन अनुरोध गर्दछु । मन्दीबाट संस्थालाई जोगाउन कम्तीमा १५ प्रतिशत शेयर पुँजी र १० प्रतिशत संस्थागत पुँजी पुर्याउनुस् । अर्को मासिक बचतलाइ नियमित गर्नुस् । कल्याणकारी साकोसमा ३५ प्रतिशत मासिक बचत रहेको छ । २ सय, ५ सय र हजार गरेर जम्मा गरेको पैसा जनताले लैजाँदैनन् ।
१५ प्रतिशत भन्दा बढी मुद्धती बचत नलिनुस् । हामीले बजारबाट ठुलो पैसा लिएकाले अहिले समस्या भएको हो । यो नीति अवलम्बन गरियो भने मन्दीले कुनै पनि संस्थालाई छुँदैन । ‘एम्प्टी पकेट इज बेस्ट टिचर’ भनिन्छ, त्यसैले यो सिक्ने समय पनि हो । त्यसैगरी हामीले तरलता व्यवस्थालाइ प्राथमिकतामा राख्यौं र मन्दी सुरु भएपछि हरेक दिन यति भन्दा तल तरलता रकम घट्न नदिने भनेर लागिपर्यौं । ३० प्रतिशतसम्म तरलता राखेका छौं, यसले गर्दा हामीलाइ मन्दीले छुँदै छोएन । पहिलो, हामी सदस्यसँग थियौ । दोस्रो, सुरुदेखि नै हामी संस्था बलियो बनाउन लागि परेकाथियौं र तेस्रो, सदस्यले नै हामीलाई प्रोटेक्ट गरिराखेका थिए । पर्याप्त तरलता भएकाले मन्दीको बेलामा पनि हामीले ऋण लगानी रोकेनौं । यसले गर्दा कल्याणकारी सहकारीले ऋण दिँदैन र बचत फिर्ता गर्न सक्दैन भन्ने सन्देश नै बजारमा गएन ।
हामीले संस्थाबाट ऋण लिएका उद्योगी, व्यापारी सबैलाइ भेला गरेर सदस्य शिक्षा र ऋण शिक्षा कार्यक्रम सञ्चालन गर्यौं । त्यसपछि सदस्यहरुले संस्थामा एक हप्तामा ५ करोड रुपैयाँ जम्मा गरिदिनु भयो । प्रत्येक संस्था सदस्य कहाँ जानुपर्छ । सानो बचतलाई प्राथमिकता र सानो ऋण लगानी गर्ने योजना हाम्रो रह्यो । यसले पनि संस्थालाइ कुनै वित्तीय समस्या परेन । बजारमा १ करोड बचत ल्याउने सदस्यलाइ १२ प्रतिशत ब्याज दिइयो । हामीले ८ प्रतिशत दियौ । हामीले १ लाख ल्याउनेलाइ १२ प्रतिशत दियौं । एक जनाको करोड लिनु भन्दा १ सय जनाबाट १ करोड लिँदा संस्थालाई तरलता व्यवस्थापनमा सजिलो भयो । अरु संस्थाले १/२ करोड बचत ल्याउनेलाई राम्रो ब्याज दिए । हामीले सानो पैसालाइ ह्याण्डसम् ब्याज दिन्छौं । ठुला बचतकर्तासँग निरन्तर सम्र्पकमा रह्यौं । सुशासन, सदुपयोग र समुदायमा आधारित भएर काम गर्यौं । संस्थामा बढी तरलता रहेकाले आर्थिक बर्षको सुरुमा नै सहकारी बैंक, नेफस्कून र बागमती प्रोस्कुनमा ३ करोडका दरले मुद्धतीमा पैसा राख्यौ । यसले नाफामा प्लानिङ गर्न सजिलो भयो । बचतमा रहेको पैसालाइ पनि नाफाको प्लानिङ भित्र हाल्न सफल भयौं । हरेक दिन संस्थाको अवस्था के छ भनेर सदस्यहरुलाइ पारदर्शी रुपमा जानकारी दियौं । सुशासन, सुसम्बन्ध, समुदायमा आधारित, सुचारु र सुधारमा ध्यान दिइयो भने सहकारी संस्थामा समस्या आउँदैन ।
(राष्ट्रिय सहकारी बैंकको २१औं स्थापना दिवसमा आयोजित कार्यक्रममा कल्याणकारी साकोसका व्यवस्थापक कुमार खत्रीको अनुभव)