मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशका विभिन्न भागमा हावाहुरी, चट्याङसहित भारी वर्षाको सम्भावना औंल्याउँदै महाशाखाले दैनिक जीवनयापन तथा यात्राका क्रममा सचेत रहन आमनागरिकलाई सुझाएको हो । सडक तथा हवाई यातायात प्रयोग गर्ने व्यक्तिहरुले विशेष सतर्कता अपनाउनुपर्ने सुझाव विभागले दिएको हो ।
महाशाखाका अनुसार, शुक्रबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना देखिएको छ । जसका कारण नदीको जल सतह बढ्न गई बाढी, पहिरो, भू–क्षय हुने खतरा देखिएको छ ।
त्यस्तै, तराईका भू–भागमा आज हावाहुरी चल्ने सम्भावना देखिएको छ । महाशाखाले यसबाट जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधा हुनसक्ने औंल्याउँदै सतर्क रहन भनेको छ ।
‘लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको तराई भू९भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय तथा हावा हुरीजस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाद्वारा शुक्रबार जारी नियमित बुलेटिनमा भनिएको छ ।