भारतीय प्रगतिशील साहित्यकार मुन्सी प्रेमचन्दको जन्म जयन्ति ३१ जुलाईको सेरोफेरोमा हरेक बर्ष प्रेम चन्द परम्पराका बारेमा केही न केही बिचार बिमर्श हुने गर्दै आएको देखिन्छ । सबैले आ–आफ्ना गुठुरीका लेखकहरुलाई त्यस परम्परामा कोच्ने कोशिश गरेको पनि देखिन्छ । त्यसले गर्दा कतिपय बेलामा त्यो हास्यास्पद पनि बन्न जान्छ । भारतीय साहित्यका बस्तुबादी समालोचकहरु भन्ने गर्दछन् कि हिन्दी सहित्यिक आलोचनको स्थिति त्यसै पनि त्यत्तिका समृद्धिशाली बन्न सकेको छैन । आलोचकहरु चाहे जतिसुके पढुन्, सोच बिचार निकै कम गर्ने गर्दछन् भन्ने आलोचना छ । शायद त्यसै कारणले पनि होला कि उनीहरुलाई आफ्नो पढाई लेखाईमाथि बिश्वास र भरोसाका लागि पूर्ब लेखकहरुका उद्धरणहरु पंक्ति पंक्तिमा दिइरहनु परेको छ । परिणामतः ती आलोचकहरुको लेखहरुका त्यस्तै उद्धरणहरुले भरिएका हुन्छन् । यद्यपि बिश्वबिद्यालयहरुले त्यस्तो प्रबृत्तिलाई हतोत्साहित गर्ने कोशिश पनि नगरेको भने होइन तर आलोचकहरुलाई यस बारेमा भन्नुपर्ने आफ्नो केही हुने गरेको छैन ।
प्रेमचन्द आफ्नो समयका अत्यन्तै जागरुक र लोकप्रिय लेखक हुन् । जब प्रेमचन्दको परम्पराको कुरा आउँदछ त्यतिबेला पटक पटक गाउँघरको चर्चा हुने गर्दछन् । यही कुरा अर्का भारतीय साहित्यकार फणिश्वरनाथ रेणुलाई लिएर पनि गर्ने गरिन्छ । भारतमा के आलोचना सुन्ने सुनिने गरेको चर्चा हुँदै आएको छ भने जुन मानिसहरुमा प्रेमचन्दको पाठको पनि अत्तोपत्तो हुँदैन तिनलाई प्रेमचन्द र रेणुका बाहक भनिने पनि गरेको दुःखद स्थिति छ । यो काम मार्क्सबादी र गैर मार्क्सबादी दुबै क्षेत्रले गर्ने गरेको उल्लेख छ । आज भारतमा कसैको टिप्पणी के पनि देखिन्छ भने भुवनेश्वर मिश्रको ‘बलवती भूमिहार’ र शिवपूजन सहायको ‘देहाती दुनिया’लाई यथार्थबादी उपन्यास घोषित गरेर प्रेमचन्दलाई तिनको परम्परामा सजाउने कोशिश भइरहेको आलोचना छ । के प्रेमचन्द र रेणुको लेखन भुवनेश्वर मिश्र र शिवपूजन सहायको परम्पराको लेखन हो ? प्रश्न उठाइएकाे । वास्तवमा यो हिन्दी साहित्यको बौद्धिक दारिद्रता हो कि यस्तो पनि बहस हुन थालेको या भइरहेको छ । समग्रमा यो असाहित्यिक बहस हो जसको कुनै अर्थ नै छैन भनिदैछ । भारतका एक मूर्धन्य समालोचक डा. सुरेन्द्र चौधरीले भन्ने गर्थे कि परम्परा एउटा कुरा हो, परिपाटी अर्कै कुरा हो । अधिकांश मानिसहरुले परम्परा र परिपाटीलाई मिसाएर घोलघाल पार्दछन् । परिपाटी, तौर–तरीका रीति रिबाजको बिषय हुन्छ र परम्परा चेतनाको स्तरमा हुन्छ । जसले परम्परा र परिपाटी बीचको बिभेदलाई बुझ्दैनन् । त्यसले गडबडी पैदा हुन्छ ।
हुन पनि परम्पराको ब्याख्या गर्न पनि सहज छैन, यो कठिन काम हो । पुराना शास्त्रको कुरा गर्ने हो भने उपनिषदहरुले बेदलाई खारेज गरेका छन् । त्यसैले तिनलाई बेदान्त – बेदलाई समाप्त गर्ने भनिएको हो । यद्यपि उपनिषद बेदका बिकास पनि हुन्, तिनको परम्परा बेद नै हुन् । जस्तो कि छोरा, छोरी बाबु आमाका बिकास हुन्, तिनको परम्परा हुन्, तर कोही कपूत या कुपुत्री होलान् जसले आफ्ना माता पिताको बिस्तार गर्ने गर्दैनन् । पुत्रबाट पराजित हुने गरेका पिता र शिष्यबाट पराजित हुने गरेका गुरुलाई भाग्यबान पनि मान्ने प्रचलन छ । भारतमा प्रेम चन्दको परम्पराको कोही छ भने ती होला जसले प्रेम चन्दलाई आत्मसात गर्दै उनलाई खारेज गरेका छन् । यो बिरलाकोटीको प्रकृया हो र प्रेमचन्दको परम्पराको प्रसंगमा उनलाई भारतमा जैनेन्द्र, ओय, रेणु, उषा प्रियम्बदा जस्ता लेखकहरुमा गरिनु पर्दछ बिबेकी राय, मिथिलेश्वर आदिमा होइन भन्ने समीक्षकहरु पनि छन् ।
प्रेम चन्द त आफ्नो चेतनाको हिसावले बिश्व स्तरका देखिन्छन् । भारतमा त उनका समकालीन लेखकहरुमा रबिन्द्रनाथ ठाकुरसँग मात्रै उनको तुलना हुनसक्छ भन्ने एकथरी समीक्षकहरुको निष्कर्श छ । ठाकुर र मुन्सी दुबैकोमा मानिस धर्म, जाति र राष्ट्रबाट मुक्त छ । यद्यपि रबिन्द्रनाथ समृद्ध जमिन्दारी पृष्ठभूमिका थिए भने मुन्सी प्रेमचन्द झण्डै सर्बहारा बर्गकै स्थितिबाट आएका थिए । दुबैको यस रुपमा तुलना रुसी लेखक टल्स्टोय र आन्तोन चेखकसँगको बेग्ला बेग्लै सामाजिक पृष्ठभूमिबाट आएको तर दुबैमा मानब मुक्तिको चेतना झण्डै झण्डै समान जस्तै थियो । टल्ट्वायको उपन्यास ‘रेसरेक्शन’ र चेखबको कथा ‘बेट’मा मानिसको आकांक्षा लगभग उस्तै छ । त्यसरी नै भारतका रबिन्द्रनाथकै जस्ते चिन्ताको बिस्तार भारतकै जैनेन्द्र, ओय र रेणुमा पाइने कुरा उल्लेख गरिन्छ । आज पनि बिभिन्न लेखकहरु जानी जानी या अञ्जानमाा यो परम्परालाई बिस्तार गरिरहेकै छन् । यद्यपि यसलाई औंल्याउने समीक्षमहरु भने देखा परेका देखिदैनन् । आज यस्ता परम्परालाई औंल्याउने, उधिन्ने समीक्षक तथा लेखकहरुको खाँचो छ भनिदैछ ।