शनिबार, आश्विन १७ गते २०८३

कर्मणा साकोसको स्थापना दिवसमा रक्तदान

भाद्र १०, २०७८ बिहीबार
कर्मणा साकोसको स्थापना दिवसमा रक्तदान


कर्मणा बचत तथा ऋण सहकारी संस्थाले २१औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।  रक्तसञ्चार केन्द्र कालिमाटीको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेको प्रबन्धक रमेश घिमिरेले जानकारी दिए ।

कोभिड महामारीकाबीचमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी रक्तदान गरिएको उनले बताए । कोभिड १९ का कारण संघसंस्थाहरुले रक्तदान कार्यक्रम गर्न नसक्दा विरामीका लागि आवश्यक पर्ने रगत अभाव भइरहेको छ ।  त्यसैलाई मध्यनजर गरेर संस्थाले रक्तदान आयोजना गरेको र यसबाट थोरै मात्रामा भएपनि रगतको अभाव कम गर्न सकेको घिमिरेले जनाए ।

रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक समिति, विभिन्न उपसमिति र कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थामा हालसम्म १४०० सदस्य रहेको छन् । त्यसैगरी संस्थाको शेयरपुँजी ५ करोड, बचत ४४ करोड र ऋण लगानी ४५ करोड रहेको छ । संस्थाको जगेडा कोषमा मात्रै १ करोड ८० लाख रुपैया पुगेको छ । आफ्नै भवनबाट सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको उक्त संस्थाले कोभिड १९ का कारण सदस्यहरुको व्यापार व्यवसायमा असर पुगेको भन्दै निषेधाज्ञा अवधिभरको पाकेको ब्याजमा १० प्रतिशत छुट दिएको जनाएको छ । संस्थाले विगत १० वर्षदेखि स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।