काठमाडौंमा आज सहकारीका विद्यमान समस्याः सुधार सुझाव कार्यशाला गोष्ठी आयोजना भएको छ । राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को सयुक्त आयोजनामा कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।
सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले गठन गरेको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’लाइ सुझाव दिनको लागि कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । कार्यदलले आईतबार सर्वसाधारणबाट र सोमबार विज्ञहरुबाट सुझाव संकलन गर्न लागेको सदस्य सचिव तथा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले जानकारी दिए । ‘आईतबार जुम मार्फत देशभरका सर्वसाधारणबाट सुझाव लिन्छौं’ उनले भने, ‘सोमबार विज्ञहरुसँग छलफल गरेपछि प्रतिवेदन लेख्न सुरु गछौं ।’
सरकारले गत बैशाख २३ गते कार्यदल गठन गर्दै दुई महिनाको समय दिएको थियो । तोकिएको समयभित्र काम पुरा गर्न नसकेको कार्यदलले २६ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रारम्भिक प्रतिवेदन बुझाउँदै एक महिना म्याद थप गर्न माग गरेको थियो ।

कार्यक्रममा १० वटा समूह निर्माण गरी सुझाव प्रस्तुत गर्नुका साथै सहकारीका समस्याबारे उपस्थितहरुमाझ सर्वेक्षण पनि गरिएको थियो । छलफलका आधारमा सहकारी अभियानको तर्फबाट कार्यदललाई सुझाव बुझाउने तयारी छ । छलफलमा उपस्थित सहकारीकर्मीहरुले यसअघि संघ र महासंघले उठाउँदै आएको सेकेन्ड टायर इस्टिच्युसन, कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, बाझिएका ऐन संसोधन, सहकारीका सञ्चालकको योग्यता तोक्नु पर्ने, अनुत्पादक क्षेत्रमा लगानीलाइ निरुत्साहित गर्नु पर्ने, समस्याग्रस्त सहकारी संस्थाहरुको समस्या समाधान गर्न दोस्रो तहको निकाय गठन गर्नुपर्ने, सदस्यमा सहकारी शिक्षा सञ्चालन गर्नु पर्ने ,बचत ऋण सहकारीको लागि छुट्टै ऐन बनाउनु पर्ने, कार्यक्षेत्र मिल्ने सहकारी संस्थाबीच एकीकरण अभियान सञ्चालन गर्नु पर्ने र त्यसका लागि राज्यले आयकरमा छुट दिनु पर्ने लगायतका विषयहरु सुझावको रुपमा दिएका थिए ।
कार्यक्रममा सहकारीबाट बचत फिर्ता नपाएर लामो समयदेखि माइती घरमा धर्ना बसिरहेका सहकारी पिडीतहरुका विषयमा भने कसैले पनि सुभाव दिएनन् । कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणि दुवाडी, योजना आयोगका सदस्य तथा कार्यदलका संयोजक जयकान्त राउत, रजिष्ट्रार नमराज घिमिरे, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेँलका साथै कार्यदलको विज्ञ सदस्यद्धय केबी उप्रेती र ऋषिराज घिमिरेले सम्बोधन गरेका थिए ।