बागमती प्रदेश, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले सहकारी संस्थाका ऋणी सदस्यहरुलाई ऋण चुक्ता गर्न भनेको छ । सहकारी संस्थाले सदस्यको बचत नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफुले भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज विभिन्न बहानावाजी बनाएर तिर्न आनाकानी गरेको भन्दै मन्त्रालयले सबैलाई सचेत गराएको छ ।
केही पक्षले सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपुर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिती सृजना भएको गुनासो मन्त्रालयमा आएको भन्दै सबै ऋण सदस्यलाइ ऋणको साँवा ब्याज भुक्तानी गर्न अनुरोध गरेको हो । संस्थाबाट ऋण लिएका ऋणी सदस्यले तोकिएको समय भित्र नतिर्दा केही सहकारी संस्थामा तरलताको अभाव भई सदस्यको बचत फिर्ता गर्न गर्न नसकेको पाइएको मन्त्रालयले जनाएको छ ।
ऋणी सदस्यले समयमा नै ऋण भुक्तानी नगरे सहकारी संस्थाको ऋणी असुली सम्बन्धी प्रदेशसहकारी ऐन २०७६ को दफा ६५ र ६७ बमोजिम ऋणी सदस्यको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा विक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था रहेकाले अविलम्ब ऋण चुक्ता गर्न मन्त्रालयले आग्रह गरेको छ ।
शर्त बमोजिम संस्थाबाट लिएको ऋणको साँवा ब्याज चुक्ता गरी सहकारीमा देखिएको समस्या समाधान गर्न सहयोगी भुमिका खेल्न मन्त्रालयले सुझाएको छ ।