शनिबार, आश्विन १७ गते २०८३

फैलिँदै मिटरब्याजीको जालोः तीन लाख ५२ हजार ऋण लिएकोमा ६७ लाखको तमसुक

आषाढ २५, २०८० सोमबार
फैलिँदै मिटरब्याजीको जालोः तीन लाख ५२ हजार ऋण लिएकोमा ६७ लाखको तमसुक

  
मिटरव्याजी समस्या सरकारलाई टाउको दुखाईको विषय बनेको छ । मिटरब्याजी समस्या समाधान गर्न सरकारले ल्याएको विधेयक पनि सदनबाट पास हुन नसक्दा निष्कृय बनिसकेको छ । तराईमात्रै उजागर भएको मिटरब्याजी समस्या अन्य ठाउँमा पनि रहेको तथ्य बाहिरिएको छ ।

सिन्धुपाल्चोकका कृष्ण तिमिल्सिना र धादिङकी नविना तामाङले रोल्पाका विभिन्न व्यक्तिहरुलाई रकम सापटी दिई सापटी दिएको रकमभन्दा बढीको तमसुक बनाएर असुल गर्ने गरेको तथ्य बाहिरिएको हो । सिन्धुपाल्चोक जिल्ला शुनकोशी गाउँपालिका वडा नं. ७ स्थायी ठेगाना भएका तिमिल्सिनाले दिएको भन्दा धेरै रकमको तमसुक बनाउने, सुरक्षणको लागि बढी रकमको चेक माग्ने र सोही आधारमा मुद्दा हालेर रकम असुल गरिरहेको पीडितहरुले बताएका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडितहरुले तिमल्सिनाले आफूहरुलाई कानुनी रुपमा फसाउने काम गरेको आरोप लगाए । तिमिल्सिनाले रोल्पा जिल्ला, डुङ्ग्री गाउपालिका वडा नं. ५ का श्रवण रोकालाई ८ वर्ष पहिले तीन लाख ५२ हजार रुपैयाँ ऋण दिएकोमा उक्त रकम तीन वर्षभित्रै १५ लाख ८० हजार तिर्दापनि कपाली तमसुक र २८ लाख बराबरको चेक फिर्ता नगरेको उनीहरुको दाबी छ । तिमिल्सिनाले पीडित रोकालाई उल्टै अपहरण गरेर ६७ लाखको कपाली तमसुक बनाएर मुद्दा चलाएको उनीहरुको आरोप छ । अहिले उक्त कपाली तमासुकको विरुद्धमा परेको मुद्दामा अदालतले फैसला गरिसकेको छ । उक्त ६७ लाखको कपाली तमसुकको मुद्दामा अदालतले एक करोड, सात लाख, ९९ हजार सात सय ४६ रुपैयाँ विगोको फैसला गरिसकेको छ । अहिले उनको सम्पत्ति लिलाम प्रक्रियामा रहेको पीडितहरुले बताए । साथै, रोकाले दिएको २८ लाखको चेक अनादर मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

त्यसैगरी रोल्पा सुनछहरी गाउपालिका २ रमेशकुमार बुढालाई पनि तिमिल्सिनाले परिबन्धमा पारेर विभिन्न झुठा मुद्दा लगाएको उनीहरुले आरोप छ । पीडितहरुले बताएअनुसार तिमिल्सिनाले आठ वर्षअघि रमेशलाई १५ लाख ८४ हजार रुपैयाँ सापट दिएका थिए । रमेशले तीन वर्षमा पटक–पटक गरी ४० लाख फिर्ता गर्दा पनि तिमिल्सिनाले कपाली तमासुक नच्यातेको र सुरक्षणको लागि दिइएको चेक फिर्ता नदिएको उनीहरुको आरोप छ । तिमिल्सिनाले सोही प्रमाणको आधारमा मुद्दा चलाउँदा उनलाई अदालतले दुई वर्षको कैद सजाय तोकेको छ । त्यस्तै चेक अनादर मुद्दाभने अदालत पाटनमा विचाराधीन अवस्थामा छ ।

रोल्पाकै रोल्पा नगरपालिका प्रथम रोकाले तिमिल्सिनासँग एक लाख रुपैयाँ ऋण लिएर पाँच लाखको कपाली तमासुक बनाएको पीडितको आरोप छ । पीडितले बताएअनुसार एक वर्षभित्र दुई लाख फिर्ता गर्दापनि तिमिल्सिनाले कपाली तमासुक नच्यातेर मुद्दा हालेर दुःख दिएका छन् ।