६ महिना अघिमात्र सहकारी विभागको रजिष्ट्रारको भूमिका सम्हाले नमराज घिमिरे आफ्नै सार्वजनिक अभिव्यक्तिका कारण अप्ठेरोमा परेका छन् । विभागको रजिष्ट्रार भएर आएसँगै सहकारी क्षेत्रको सुधारका लागि केहि नयाँ काम गर्ने जोश देखाएका रजिष्ट्रार घिमिरे पछिल्लो समय एकाएका शिथिल बन्न पुगेका हुन् ।
रजिष्ट्रार घिमिरेले केहि समय अघि प्राइम, सगरमाथा र कान्तिुपर टेलिभिजनमा सहकारी सञ्चालकका पक्षमा खुलेर वकालत गरेसँगै उनले सामाजिक सञ्जालमा हजारौंको गाली खानु परेको छ। टेलिभिजन कार्यक्रममा सहकारी पीडितहरुलाई उनले ‘तपाईं बचतकर्ता कि संस्थाको सदस्य ?’ भनेर सोधेका थिए भने सदस्यकाे बचत फिर्ता हुने तर समय भने ९ दिन, ९ वर्ष देखि ९०० वर्षसम्म लाग्ने जस्ता विवादास्पद अभिव्यक्ति दिएका थिए । यिनै अभिव्यक्तिका कारण उनले सामाजिक सञ्जालहरुमा चर्को आलोचना खेप्नु परिरहेको छ ।
मुलुकामा आएको वित्तीय संकटका कारण एकपछि अर्को सहकारी संस्था समस्यामा पर्दै जानु र ओरेण्टल सिभिल लगायत विभिन्न संस्थाका बचतकर्ताहरु माइतीघर मण्डलामा धर्नामै बसेर बचतफिर्ता माग गर्न थाले पछि रजिष्ट्रार घिमिरेलाई थप दवाव सिर्जना भएको छ । आफुले दु:ख गरेर बचत गरेको रकम समयमा फिर्ता नै पाउनुपर्ने माग आम सदस्यको छ तर रजिष्ट्रार घिमिरेले बचतफिर्ताको लागि जतिसुकै समय लाग्न सक्ने भनेपछि सहकारीपीडितहरु उनीमाथि आक्राेशित हुन् ।
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको १०१ औं अन्तर्राष्ट्रिय दिवसको कार्यक्रममा बोल्दै उनले भने, ‘सामाजिक सञ्जालमा मेरो चरित्रहत्या गर्ने सम्मको आवाज उठेको छ, मेरो करियरको १९ वर्षको अवधिमा सानो दाग पनि नदेखियोस भन्ने हिसाबले काम गर्दा पनि पब्लिकबाट गलत आक्षेप लगाइएको छ।’ आफु भ्रष्टाचारको विरुद्धमा रहेको भएपनि सार्वजनिक रुपमा ‘तैंले कति पैसा खाइस् र सहकारी संस्थालाई कारवाही गर्दैनस् भनेर आम मानिसले खेदो गरेका छन् । त्यसैले मलाई व्यक्तिगत रुपमा सहकारीको रजिष्ट्रार बस्नु मलाई उपयुक्त लागेको छैन, उनले भने ।
कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरेसमक्ष समेत उनले आफ्नो दुखेसो पोखे । विभागीय मन्त्रालयमा पनि आफुले सरुवाको लागि माग गरेको उनले सुनाए । ‘सदस्यको बचत फिर्ता गराउने विधि र प्रक्रिया हुन्छ त्यसभन्दा बाहिर गएर विभागले बचत फिर्ता गराउन सक्दैन,’ उनले भने ‘तर हामीकहाँ आजको भोलि नै बचत फिर्ता पाउनुपर्ने मनस्थिति छ ।’ बदमासी गर्ने सहकारी संस्थाका सञ्चालकलाई आजै कारवाही गर्ने अवस्था नभएको उनले बताए । जेल हाल्नुपर्ने व्यवहार गरेका सञ्चालकलाई राज्यले जेल हाल्छ । तर उजुरी परेका सबै सहकारीका सञ्चालकलाई थुनेर मात्र समस्या समाधान नहुने उनको भनाई छ । सहकारीको समस्या पहिचान गरी नियत नै ठगी गर्ने राखेर सञ्चालन भएका सहकारीलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको समेत उनले सुनाए ।
अर्थतन्त्रको ३ मध्ये १ खम्बाको रुपमा सहकारीको भूमिका महत्वपूर्ण रहेको र आम सदस्यलाई वास्तविक सहकारी बुझाउन नसक्दा अहिलेको समस्या आएको उनले जनाए । सहकारीप्रति विश्वासको गंभीर संकट सिर्जना भएको उनले बताए ।
सहकारीका समस्यालाई समयमा नै समाधान गर्न नसकिए अप्रिय परिस्थिति सिर्जना हुनसक्ने समेत उनले संकेत गरे । माइतीघर मण्डलामा धर्ना बसेका पीडितलाई अभियानले भेटेर उनीहरुको कुरा सुन्न समेत उनले सुझाव दिए । पीडितहरुको मागप्रति सरकार संवेदनशील भएर लागेको तर त्यसकाे निकासका लागि भने समय लाग्ने उनले जनाए । राज्यले सहकारीबाट पीडित भएका सदस्यको बचत फिर्ता गर्नका लागि निरन्तर पहल गरिरहेको समेत उनले जानकारी दिए ।