दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीको भूमिका रहे पनि त्यसको एकिन तथ्याङ्क भने कसैसँग छैन । मुलुकभर रहेका ३० हजार सहकारी संस्थाले दिगो विकास लक्ष्य प्राप्तिका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा काम गरिराखेको भए पनि त्यसको आधिकारिक तथ्याङ्कको अभावले सहकारीले गरेका काम ओझेलमा परेका छन् । सहकारी संस्थाहरुले दिगो विकास लक्ष्यका १७ वटा बुदाँ पुरा गर्न विभिन्न तरिकाले काम गरेको भए पनि त्यसको आधिकारिक तथ्याङ्क सहकारी महासंघ र सहकारी विभाग कहिँकतै पाईंदैन ।
संयुक्त राष्ट्र संघले सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्ति गर्ने उदेश्य राखेको छ । सन् २०१५मा घोषणा भएर सन् २०१६ बाट लागु भएको दिगो विकास लक्ष्य प्राप्तिको योजना अगाडि बढाइएको भए पनि हालसम्म त्यसको उपलब्धी के भयो भनेर कसैले खोजेको देखिँदैन ।
तल्लो तहका नागरिकसम्म सहकारीको पहुँच पुगेको र उक्त लक्ष्य प्राप्तिमा सहकारीले भूमिका खेल्न सक्नेमा कुनै दुईमत छैन । सहकारीले ती उद्देश्य प्राप्तिमा काम गरिराखेको भएपनि त्यसको एकीकृत तथ्यांक नराख्नु सहकारी अभियानको कमजोरी हो ।
राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बा १७ वटा उदेश्य मध्ये अधिकाश उदेश्यमा सहकारीले काम गरिराखेको बताउँछिन् । दिगो विकास लक्ष्य प्राप्तिमा सरकारले राखेको टार्गेट मिट गर्न सहकारीले भुमिका खेल्दै आएको उनको भनाई छ । महिलाको सहभागिता अभिवृद्धि गर्ने कुरामा सहकारीले उपलब्धी नै हासिल गरिसकेको उनले बताईन । दिगो विकासको लक्ष्य १ र २ जस्ता थुप्रै वुँदामा सहकारीले काम गरेको भए पनि त्यसको एकिकृत तथ्याङ्क भने राख्न नसकेको उनले स्वीकार गरिन् । सहकारी क्षेत्र भएन भने दिगो विकास लक्ष्य हासिल गर्न सकिदैन भन्ने बुझाई सरकारमा समेत रहेको छ । सबै सहकारी संस्थाले गरेको काम एकिकृत गर्ने हो भने धेरै काम भएको छ तर एकिकृत तथ्याङ्कको अभाव रहेको भने उनले सुनाईन । महासंघले यसअघि नै दीगो विकास लक्ष्य प्राप्तिका लागि एक मागदर्शन तयार गरेर सहकारी संघसंस्थालाई जारी गरिसकेको छ । गरिबी र भोकमारीको अन्त्य, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, वातवरणीय सन्तुलन, स्वस्थ पिउने पानी र सरसफाई एवं उद्योगको प्रवद्र्धनमा सहकारीले काम गर्दै आएका छन् ।
महासंघले यस अघि काठमाण्डौ विश्वविद्यालयसँग सहकार्य गरेर लुम्बिनी, कर्णाली, मधेश र कोशी प्रदेशमा गरिबी निवारणमा सहकारीले खेलेको भूमिकाका विषयमा अध्ययन समेत गरिसकेको छ । संस्थाहरुले एउटा वुँदामा काम गर्दा अर्को वुँदालाई पनिलाई टेवा पुर्याइरहेको उनले बताइन् । स्थानीय, प्रदेश र संघीय सरकारसँगै सहकारी, नीजि क्षेत्र र सामाजिक संघसंस्थाको संयुक्त प्रयासबाट मात्रै दिगो लक्ष्य प्राप्त गर्न सकिने सुब्बाको बुझाई छ । सन् २०१६ देखि यो कार्यक्रम अगाडि बढाइएको भए पनि कोभिड १९ का कारण केही बर्ष काम गर्न नसकेकाले यसको रिभ्यु गर्नु पर्ने माग कतिपय राष्ट्रहरुले गरेका छन् ।
आइसिएले दिगो विकास प्राप्तिमा सहकारीको भुमिका महत्वपुर्ण हुने भन्दै विश्वभरका सहकारीलाई यसमा लाग्न आव्हान गरेको छ । नेपालका सहकारी संघसंस्थाले दिगो विकासका लागि काम गरेका भए पनि त्यसको तथ्याङक राख्न भने सम्बन्धित पक्ष चुकेका छन् । सहकारीहरुले स्वास्थ्य शिविर, रक्तदान, साक्षरता अभिवृद्धि जस्ता थुप्रै कार्यक्रम गर्दै आएका छन् तर ती कार्यक्रमलाई एसडिजीको लक्ष्यसँग जोडेर लैजानका लागि योजना बनाउँदा र बार्षिक रिपोर्टमा उल्लेख गर्न भने सकेका छैनन् । संस्थाहरुले त्यस्ता कार्यक्रम गर्दा एसडिजीको यति नम्बर बुँदासँग सम्बन्धित भएर गरेको भनेर रेकर्ड राख्न उनको सुझाव छ ।
सरकारले यसअघि संयुक्त राष्ट्रसंघको उच्चस्तरीय समितिमा यस विषयमा रिपोर्ट पेश गरिसकेको छ । उक्त रिपोर्टमा पनि सहकारी क्षेत्र नभएमा दीगो विकास लक्ष्य हासिल गर्न सम्भव नहुने विषय उजागर गरिएको थियो ।
गरिबीको अन्त्य, शून्य भोकमरी, आरोग्यता तथा कल्याण, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, सफा पानी तथा सरसफाइ, खर्चले धान्न सक्ने स्वच्छ ऊर्जा, मर्यादित काम तथा आर्थिक वृद्धि, उद्योग नवीन खोज र पूर्वाधार, न्यून असमानता, दिगो सहर र समुदायहरू, जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन, जलवायु सम्बन्धी कारबाही, जलमुनिको जीवन, जमिनमाथिको जीवन, शान्ति, न्याय र सशक्त संस्थाहरू, यी लक्ष्य प्राप्तिका लागि साझेदारी सन् २०३० सम्मका लागि दीगो विकास लक्ष्य रहेका छन् । १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको लागि आइसीएले पनि यस वर्ष ‘दीगो विकासका लागि सहकारी’ भन्ने नारा तय गरेको छ ।