शुक्रबार, कार्तिक ७ गते २०८३

‘सहकारी गरिबी निवारणकाे एक अचुक औजार बन्न सक्छ’

आषाढ १५, २०८० शुक्रबार
‘सहकारी गरिबी निवारणकाे एक अचुक औजार बन्न सक्छ’

 

हरेक वर्ष जुलाई महिनाको  पहिलो शनिबार  अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । विश्वभरका मानिसहरुमा सहकारीका बारेमा सचेतना फैलाउन दिवसले भूमिका खेल्ने विश्वासकासाथ दिवस मनाइने गरिएको छ। यस वर्षकाे दिवसकाे नारा ‘दीगो विकास लक्ष्य प्राप्तिमा सहकारी’ भन्ने रहेकाे छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ मा अघि सारेका दीगो विकास लक्ष्यका १७ वटा उद्देश्य पुरा गर्न सहकारीहरुको अहम् भूमिका रहने भन्दै अइसीएले याे नारालाइ निरन्तरता दिएकाे हाे । 

यस दिनले संसारभर केहि मुद्दाहरु समाधान गर्न सहकारीले खेलेको भूमिकालाई समेत उजागर गर्दछ । त्यसैगरी सहकारी अभियान र सामाजिक विकासलाई पनि सँगसँगै अगाडि बढाउन यो दिन महत्वपूर्ण मानिन्छ । 

अन्तर्राष्ट्रिय सहकारी संगठन (आइसीए) का अनुसार विश्वको करीब १२ प्रतिशत जनसंख्या संसारभरका करिब ३० लाख सहकारी संस्थामा आवद्ध  छ । सन् २०२० को एक तथ्यांकअनुसार विश्वका ठूला ३०० सहकारीले २१४६ अर्ब अमेरिकी डलर बराबरको कारोबार गर्ने गरेका छन् । विश्वको रोजगार बजारमा १० प्रतिशत योगदान पुर्‍याएको सहकारी अभियानले कुनै पनि राष्ट्रकाे दीगो आर्थिक विकास र आर्थिक स्थायित्व कायम राख्न योगदान दिँदै आएको छ । 

सहकारीहरुले जुनसुकै देश र समुदायका मानिसहरुको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीति उन्नयनलाई निरन्तर सघाउँदै आएका छन् ।  गरिबी निवारण र आय आर्जनका निम्ति समेत सहकारीहरु सहयोगी बनेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोको कतिपय विषयवस्तुलाई पनि सहकारीले सम्बोधन गरिराखेकाछन् । सहकारीमा सदस्यले प्रजातान्त्रिक तवरले सम्पत्ति र नाफामाथि आफ्नो स्वामित्व राख्छन् । त्यसैले सहकारीलाई पुँजी भन्दापनि सदस्यकेन्द्रित व्यवसाय भनेर चिनिन्छ । समानता र समतामूलक सहभागितालाई सहकारीहरुले जोड दिन्छन् ।

सहकारी समाजप्रति समर्पित हुन्छन् र समाजको आर्थिक, सामाजिक र पर्यावरणीय विकासमा त्यतिकै क्रियाशील रहन्छन् । सहकारीले जहिले पनि स्थानीय समुदायलाई केन्द्रमा राख्छ साथै समाजका एकअर्काबीच आर्थिक सामाजिक सफलताको विषय आदानप्रदान गर्छ । पुँजीवादले पीडित बनाइएका वर्गलाई सहकारीले एकीकृत गरी माथि उठाउन प्रयास गर्छ । सहकारी अभियान प्रजातान्त्रिक तवरले स्वनियमनमा चल्ने व्यवसाय हो । र यो अन्तर्राष्ट्रिय रुपमा समेत गाँसिएको छ । यो अभियानले नागरिकहरुलाई आर्थिक, सामाजिक ताथ साँस्कृतिक रुपमा सबल र समृद्ध हुनका लागि सदैव उत्प्रेरित गर्छ । सहकारी गरिबीमाथि विजय प्राप्त गर्ने एक अचुक औजार नै हो । 

यिनै विषयवस्तुलाई आत्मसात गर्दै ‘दीगो विकास लक्ष्य प्राप्तिमा सहकारी’ भन्ने नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवस भाेलि असार १६ (जुलाई १) मा मनाईंदैछ । सन् २०३० सम्ममा दीगो विकासका लक्ष्य प्राप्त गर्ने नीति संयुक्त राष्ट्र संघले लिएको छ । सहकारी मुल्य मान्यता र सिद्धान्तमा अडिग भएर कसरी दीगो विकास लक्ष्य प्राप्त गर्ने भन्ने थिम नै यसपटक पनि दिवसको रहेको छ । नेपालकाे सन्दर्भमा पनि समतामूलक समाज निर्माणमा सहकारीले अग्रणी भूमिका खेल्दै आएका छन् ।