प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा गएका झन्डै २ लाख युवा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएको बताएका छन् । बुधबार संसदमा उठेको प्रश्नको जवाफ दिदैँ उनले सो कुरा बताएका हुन ।
‘संसदको पहिलो सम्बोधनमा मैले संकल्प गरेको थिएँ, वैदेशिक रोजगारीमा गएका दाजुभाइ दिदीबहिनीमाथि राज्यको उपेक्षा अब अन्त्य हुनेछ, वैदेशिक रोजगारीलाई सुरक्षित र सम्मानित बनाउन यसबीचमा महत्वपूर्ण र ऐतिहासिक काम भएका छन्’, उनले भने, ‘वैदेशिक रोजगारीमा गएका करिब दुई लाख नागरिक केही महिनाकै बीचमा सामाजिक सुरक्षा कोषमा जोडिनु आफैंमा ऐतिहासिक हो, यसरी आबद्ध व्यक्तिको कदाचित भवितव्यबाट निधन भएमा परिवारलाई पेन्सन र सन्तानलाई शैक्षिक वृत्तिको व्यवस्था भएको छ ।’
सामाजिक सुरक्षा कोषले गत चैतदेखि वैदेशिक रोजगारीमा जाने नयाँ श्रमिकलाई कोषमा अनिवार्य रुपमा आवद्ध गर्दै आएको छ ।