काठमाण्डौ महानगरपालिकाले संकटग्रस्त सहकारी व्यवस्थापनका लागि संस्थागत संयन्त्र निर्माण गर्ने भएको छ । महानगरको आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र शाहले त्यस्तो संयन्त्र गठन गरी प्राथमिकताकासाथ कार्य गर्ने जनाएका हुन् ।
त्यसैगरी सहकारी संस्था दर्ता, नवीकरण तथा मर्जर सम्बन्धी मापदण्ड बनाई कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सहकारी क्षेत्रमा सुशासन कायम गर्न सहकारीलाई नियमन, अनुगमनको कार्यलाई तीब्रता दिँदै विद्युतीय प्रणालीमा आवद्ध गरिने भएको छ । सहकारी संस्थाका सदस्यहरुलाई लक्षित गरी सहकारी शिक्षा कार्यक्रम गर्ने, महानगर क्षेत्र बाहिर सञ्चालित उत्पादनमूलक सहकारीसँग सहकार्य गरी गुणस्तरीय वस्तु सुलभ रुपमा उपलब्ध गराउने लगायतका विषयवस्तु नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।