शनिबार, आश्विन १७ गते २०८३

योग गर्नुपर्ने अनेक कारण औंल्याउछन् विज्ञहरू

आषाढ ५, २०८० मंगलबार
योग गर्नुपर्ने अनेक कारण औंल्याउछन् विज्ञहरू
योग दिवसको सन्दर्भ २१ जून २०२३
 
याेग शारिरीक र मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण र गुणकारी अभ्यास हाे । यसकाे सही परिपालनाले मन, मस्तिष्क र शरीर सन्तुिलत भएर चल्ने र राेग प्रतिराेध गर्ने क्षमता बढ्ने बिज्ञहरू बताउँदछन् । यसकाे महत्व यस्ताे रहेकाे बताइन्छ :
(क) स्वास्थ्य वैज्ञानिकहरूका अनुसार रोग लाग्नुको कारणमध्ये शरीरमा ‘फ्रि रेडिकल’ बढ्नु पनि एक हो । फ्रि रेडिकलले हाम्रो कोषिका तथा डीएनएलाई विकृत गर्छ । फ्रि रेडिकल बढ्ने कारणमध्ये अत्याधिक थकानयुक्त कसरत (जिम, एरोबिक, दौड आदि) पनि एउटा हो । योगको अभ्यासपछि भने शरीरमा हल्कापन आउँछ र फ्रि रेडिकल बढ्न पाउँदैन ।
 
(ख) अन्य अभ्यास तथा कसरतले शरीरको बाहिरी भाग र मांशपेसीलाई मात्र धेरै प्रभाव पार्छ भने योगले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ ।
 
(ग) शारीरिक अभ्यासका अन्य विधि खर्चिला हुन्छन् । सहयोगी, साधन, ठूलो स्थान आदिको आवश्यकता पर्दछ । योग भने खर्च्बिना नै गर्न सकिन्छ । न त सहयोगी नै चाहिन्छ न ठूलो ठाउँ न उपकारण नै । योग अभ्यासका विधिबारे राम्रो जानकारी राख्यो भने एक्लैले गर्न कुनै कठिनाइ हुँदैन ।
 
(घ) अन्य अभ्यासमा मन तथा इन्द्रीयलाई नियन्त्रण गर्ने कुनै प्रक्रिया नै छैन । तर, योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पु¥याउँछ ।
 
(ङ) योग मात्र यस्तो अभ्यास हो, जसका हरेक अभ्यासमा श्वासप्रश्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ ।
 
(च) योगका लागि धेरै खुराक आवश्यक पर्दैन, सामान्य खाना पर्याप्त छ । तर अन्य अभ्यासमा ‘हेभ्भी डाइट’को आवश्यकता पर्दछ ।
 
(छ)योगमा मात्र शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास छ । जसबाट अत्यन्त कम शक्ति खर्चिएर शारीरिक तथा मानसिक लाभ प्राप्त गर्न सकिन्छ । शारिरीक र मानिसिक रुपमा कमजोर व्यक्तिले पनि योगको फाइदा लिन सक्छन् ।
 
(ज) योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउने प्रक्रिया हुन्छ तर अरू अभ्यासमा त्यो पाइँदैन ।
 
(झ) जति ‘रिढ’अर्थात् मेरुदण्डा लचिलो हन्छ त्यति नै शरीर स्वस्थ रहन्छ । यौवन, युवापन र शरीरमा स्फुर्ती आउँछ । ‘रिढ’को लचकता बढाउने राम्रो अभ्यास योगमा छ ।
 
(ञ) योगाभ्यासले सम्पूर्ण नशा–नाडी तथा रक्तनली शुद्ध गर्छ । अरू शारीरिक व्यायाममा यस्तो पाइँदैन ।
 
(ट) योगमा फोक्सोलाई पर्याप्त खुम्च्याउने र फैल्याउने अभ्यास छ । जसले अक्सिजन लिने क्षमता बढाउँछ तर अन्य व्यायाममा यो प्रक्रिया छैन । अन्य अभ्यासमा गहिरो स्वास लिने प्रक्रिया छैन जसले गर्दा फोक्सोको कम भाग मात्र सक्रिय रहन्छ ।
 
(ठ) अहिलेको रहनसहन तथा खानपिनको अवस्था विकृत बन्दै गएको छ । योगमा खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी पाइन्छ ।
 
(ड) अन्य अभ्यासमा पाचन प्रणाली बिग्रने, लामो समयपछि हाडजोर्नी तथा मांशपेसी दुख्ने जस्ता समस्या आउन सक्छन्, तर योगमा त्यस्ता कुनै ‘साइड इफेक्ट’ हुँदैन ।
 
(ढ) योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास तथा समग्र जिउने तरिका सिकाउँछ ।
 
(ण) शरीरमा हर्मोन्स तथा इन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगले ठूलो भूमिका खेल्छ ।
 
(त) शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक विकासका लागि योग सर्वोत्तम पद्धति हो, यसको दाँजोमा अन्य कुनै पनि शारीरिक व्यायाम आउनै सक्दैनन् ।
 
वास्तवमा स्वस्थ्य जीवनका लागि शारीरिक व्यायामका अन्य उपायभन्दा योग कैयौं गुणा फाइदाजनक रहेको अभ्यास र अनुसन्धानले नै देखाएको बिज्ञहरु उल्लेख गर्दछन् । अतः स्वास्थ्यका लागि सक्षम योगगुरुको आवश्यकतालाई भने भुल्न हुँदैन । आरम्भका दिनमा टीभी तथा सीडीका आधारमा योग सिक्नुभन्दा बिज्ञ योगगुरुको निगरानीमा अभ्यास गर्नु उपयुक्त हुने सल्लाह पनि बिज्ञहरु दिन्छन् ।
पुनर्प्रकाशित