शनिबार, आश्विन १७ गते २०८३

घोराही सिमेन्टको आइपीओ निष्काशनमा लफडा, चलखेलको आशंका पछि प्रक्रिया स्थगित


आषाढ ४, २०८० सोमबार
घोराही सिमेन्टको आइपीओ निष्काशनमा लफडा, चलखेलको आशंका पछि प्रक्रिया स्थगित

 

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको छ । फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको हुनसक्ने आशंकामा बोर्डले सोमबार यस्तो निर्णय गरेको हो ।

आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो । त्यसकै आधारमा धितोपत्र  आईपीओ निष्काशन प्रक्रिया स्थगित गरेको हो ।

गत जेठ ३२ गतेबाट घोराही सिमेन्टले सर्वसाधारणमा प्रिमियममा ४३५ मूल्य ताेकेर आइपीओ निष्कासन गरेको थियो । तोकिएको समयभित्र कम्पनीले जारी गरेको आईपीओमा करिब साढे २ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको भनिए पनि फेरी म्याद थप भएसँगै चलखेलको शंका गरिएकाे हो । 

सीडीएससीका अनुसार सोमबार १२ः३० बजेसम्म यो आईपीओमा ४ लाख ४५ हजार ८९० आवेदकबाट कुल १ करोड ७२ लाख ५५ हजार २५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २.४९ गुणाले बढी हो।

कानुनतः कुनै पनि कम्पनीको आईपीओ ५० प्रतिशतभन्दा कम सब्सक्राइब्ड भएको अवस्थामा आईपीओ नै रद्द हुन्छ। तर, ५० प्रतिशतभन्दा बढी सब्सक्राइब्ड भएको छ भने आईपीओमा म्याद थप गर्न सकिन्छ।

धितोपत्र ऐनको दफा ९८ मा जालसाजीयुक्त कुनै क्रियाकलाप गर्नेलाई १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिवाना र दुई वर्ष कैद वा दुवै सजाय हुने उल्लेख छ। यस्तो कारोबारबाट कसैलाई हानिनोक्सानी भएको छ भने सो समेत क्षतिपूर्ति भराइदिनुपर्ने कानुनमा छ।