आजकल बर्षेनी बर्षातको मौसममा हिमाली प्रदेशमा बाढी र भूस्खलनको एक पछि अर्को खतरा बढिरहेको छ । भू–गर्भ बैज्ञानिकहरुले बताइरहेका छन् कि आज पहाडले आफ्नो गुरुत्वाकर्षणको केन्द्र गुमाइरहेका छन् । ती केन्द्रहरु खस्किरहेका छन् । जसले गर्दा यो हिमालय क्षेत्र खोक्रो हुँदै गइरहेका छ । यस प्रकारले पहाडका गुरुत्वाकर्षण केन्द्रहरु खस्किने क्रम आउदा दिनमा अझ बढ्ने र तीब्र हुने भयावह सम्भाबना रहेको उनीहरु औंल्याइरहेका छन् । यसको आधार उनीहरु के पनि औंल्याइरहेका छन् भने यी क्षेत्रमा साना ठूला भूकम्पहरु पनि गइरहेका हुन्छन् । अनि त्यस क्रमले गर्दा हिमनदीहरुको स्खलनले भूस्खलन हुने शिलशिला अनन्त चल्न सक्तछ । अनि पहाडमा जथाभावी ठूल्ठूला निर्माण कार्य गर्नाले पनि थप कठिनाईहरु उत्पन्न हुने गरेका र भइरहेका छन् । यस्तो स्थितिमा हिमनदीहरु खस्किनाले भूस्खलनको शिलशिला पनि अनन्त बन्ने गर्दछ ।

अर्कोतिर आफ्नो नाफाका लागि हिमालय पर्बत श्रृंखलालाई खोक्रो तुल्याउने ठूला ठूला निर्माण परियोजनका मालिकहरुले केवल नाफालाई मात्र हेर्ने गरेका छन् । प्रकृतिको जथाभावी दोहन गर्ने गरेका छन् र भू–उपयोग र रुख कटानका लागि बैज्ञानिक उपायहरुको उल्लंघन गर्ने वा निरन्तर बेवास्ता गर्ने गरेका छन् । फलतः सुन्दर रमणीय हिमालय क्षेत्रका पहाडहरुको अस्था दिनानु दिन बिग्रिदै जान थालेको छ ।
यसरी हिमालको स्थिति बिग्रने क्रम यस क्षेत्रका नेपाल भूटान, भारत र चीनको तिब्बत सबैतिर ब्याप्त रहेको बिज्ञहरु बताउँदछन् । जथाभवी चट्टानहरु लडाउने र रुख काट्ने तथा बिनाकारण जथभावी अबैज्ञानिक किसिमले पहाडलाई तोडफोड गर्नाले ती हिमाली क्षेत्रहरुको गुरुत्वाकर्षणको केन्द्रले ठाउँ छोड्दै गएको औंल्याइएको छ । यो क्रम नरोकिने र यसरी नै बढ्दै जाने हो भने पहाडहरु कुनै दिन मैदान बन्न नजालान् भन्न सकिन्न । त्यसैल यहाँ जे जति पहाडी प्रकृति बचेको छ त्यसलाई सन्तुलित र प्रकृति–मैत्री बिकासको परिधिमा ल्याउनु अत्याबशयक रहेको कुरा पनि बिज्ञहरुले निरन्तर उठाउदै आएका छन् । बैज्ञानिकरहरुले के पनि बिशेष जोड दिएर भनिरहेका छन भने पहाडमाथिको यो अबाञ्छित र असन्तुलित अतिक्रमण रोकिएन भने ती गुरुत्वाकर्षणका केन्द्रहरुमा अझ ठूलो र भयावह गडबडी आउन सक्छ । अनि ती क्षेत्रमा ८ रेक्टर स्केलको भूकम्प खाशगरी मध्य हिमालयको क्षेत्र गरिपरी आउन सक्ने ठूलो सन्देह बिज्ञ बैज्ञानिकहरुले गरिरहेका छन् ।
हुन पनि बिज्ञहरुका अनुसार जुलाई महिनामा पनि बर्षातको समयको सरदर तापमानमा आएको बृद्धिको तथांक निकै तर्साउने खालको छ । त्यसबाट प्रष्ट के लाग्दछ भने भाबी दिनको बिकासको नाममा पहाडसँग गरिने भस्मासुरे अबैज्ञानिक अतिक्रमणले अत्यन्तै भयावह मानबीय त्रासदी निम्त्यिाउने कुरा निश्चित प्रायः छ । बैज्ञानिकहरु भन्दछन् ‘पहाड त्यतिबेला मात्र टिकिरहन सक्छन् जब तिनको गुरुत्वाकर्षण स्थिर रहन्छन्’ । बिकासको नाममा पहाडमा हुने ठूल्ठूला कटाई र जथाभाबी तोडफोडले गर्दा पहाडको सन्तुलनमा भयानक गडबडी आउँदछ र तिनको गुरुत्वाकर्षणले आफ्नो ठाउँ छोडिदिन्छन् । अनि लगातारको बर्षाले पहाडै बग्ने, खस्ने, पहिरो जाने सन्देह साकार र तीब्र हुन पुग्दछ । यस्तो सन्देश बोकेका कर्यौ बैज्ञानिक भूगर्भशास्त्रीहरुका बिभिन्न समयका यस सम्वन्धि गम्भीर प्रकृतिका प्रतिबेदनले बिभिन्न देशका सरकारी फाइलहरुले धुलो खाइराखेका होलान् ।
अझ सोचनीय कुरा त के छ भने मध्य हिमालय क्षेत्रमा ठूला र चौडा सडक निर्माण पछि या त्यस्ता सडक बनाउदाको वरपरको समयमा पहाडमा ठूल्ठूला धाँजाहरु फाँट्ने, गरेका छन् । कमजोर र नरम खालका पहाडी क्षेत्रहरुमा ठूल्ठूला संयन्त्र प्रयोग गर्दा पहाडी धरातल भित्रसम्म हल्लिएर अझ कमजोर भएर जाने र बर्षाको समायमा झर्ने कुरा पनि बारम्बार हुने गर्दै आएको छ ।खाशगरी पहाडी पाखाका बस्तीहरुका लागि यो सन्त्रासमय र खतरनाक स्थिति हो ।
ठूलो हिमाली र पहाडी धरातल भएको हाम्रो मुलुकमा पहाडमा जथाभावी बिज्ञहरुको सर–सल्लाह नलिई बुल्डोजर लगायत आधुनिक यन्त्रहरु चलाएर बाटोघाटो निर्माण गर्दा र ठूला परियोजना सञ्चालन गर्दा त्यसले अत्यन्तै ठूलो बिनाश निम्त्याउने कुरा त भर्खरै गएको बाढी पहिरोले सिन्धुपालचोकको मेलम्चीमा पु¥याएको अर्बौंको पछिल्लो क्षतिले पनि प्रष्ट पारेकै छ । यस्ता घटना दोहोरिन नदिन र पहाड–मैत्री बिकास परियोजनाहरु सञ्चालन गर्न बिज्ञहरुको सहयोग र उपयोग अत्यन्तै जरुरी छ ।
आफैलाई जन्म र जीवन दिने प्रकृतिसँग अज्ञानतापूर्बक या जानाजान लापरबाही गर्नाले कस्तो किसिमको बिपत्ति आइलाग्दछ भन्ने कुरा बारम्बार भोगे पनि त्यसबाट शिक्षा लिएर प्रकृतिको दोहन सही ढंगले र सावधानीपूर्ब गर्नुपर्ने कुरामा ध्यान नदिने सोच घोर नाफाखोर र अत्यन्तै अमानबीय सोच हो । त्यसैले प्रकृति र पहाड बचाउनुको कुनै बिकल्प छैन । छ भने बिनाश मात्र छ ।