“तेजश्वी छ त्यो (शैलजा), र उपयुक्त अवसर पाई भने उपयुक्त पुरुषको प्रेम सम्बन्धमा बाँधिन पाई भने– त्यसको तेजश्वीता हितकर हुनेछ, नत्र त्यसले विपद ल्याउन बेर मान्नेछैन । अग्निको स्वभाव ।” शैलजा आचार्य (बि.सं. २००१–२०६६) बारे बीपीले ‘जेल जर्नल’ (पृ. १७८) लेखेको टिप्पणी हो यो ।
शैलजा साहस, सत्यनिष्ठा, निरन्तर समर्पण र सदाचारयुक्त प्रजातान्त्रिक आन्दोलनकी महिला प्रतीक हुनुहुन्थ्यो, यद्यपि राजनीतिमा उहाँ आफूलाई महिला भनेर चिनाउनु हुन्नथ्यो । त्यसैले उहाँले पार्टीको महिला संघमा बसेर काम गर्न रुचाउनु भएन । नेपालको पहिलो उपप्रधानमन्त्री (२०५५) उहाँ नै हुनुहुन्थ्यो ।
बीपी, गिरिजाप्रसाद लगायत सबै नेतासमक्ष देखेको कुरा स्पष्टसँग बोल्नसक्ने उहाँमा साहस थियो । प्रजातान्त्रिक आन्दोलनमा होमिदा उहाँले बिवाहित जीवन बिताउन चाहनुभएन । नेपाली काँग्रेस पार्टीभित्र यति सशक्त, निर्भिक र निरन्तर आस्था, निष्ठा र सुशासनका लागि संझौताविहिन रुपमा अगाडि बढ्ने महिला नेतृ अरु देखिएका छैनन् ।
कृषिमन्त्री हुँदा रासायनिक मलकाण्ड होस् वा जग्गा हिनामिनाको, भ्रष्टाचारको डटेर विरोध गर्नुभयो । उपप्रधानमन्त्री र जलस्रोत मन्त्री रहँदा जल माफियाविरुद्ध डटिरहनु भयो । साना, मध्यम र स्वदेशीले बनाउने जलविद्युत योजनाहरुलाई अगाडि बढ्ने आधार स्थापना गरेरै छोड्नुभयो ।
बीपी कोइराला ०३३ सालमा राष्ट्रिय मेलामिलापको नीति लिएर भारतको निर्वासनबाट स्वदेश फर्किंदा शैलजा पनि बीपीसंगै काठमाडौंको त्रिभुवन विमानस्थलमा उत्रिनुभएको थियो । विमानस्थलबाट बीपी गणेशमान पक्राउ परेर सुन्दरीजल जेलमा पु¥याइए भने शैलजालाई महिला कारागार त्रिपुरेश्वर लगियो ।
यी त्यस्ती निडर र साहसी महिला नेत्री, जसले सत्र बर्षको चढ्दो जवानीको उमेरमा २०१७ साल फागुन ७ गते राजा महेन्द्रको पञ्चायती कदमको बिरुद्ध टुँडिखेलमा महेन्द्रलाई कालो झण्डा देखाएर उनको प्रजातन्त्र मास्ने, जननिर्वाचित सरकारलाई पदच्युत गर्ने कदमको सशक्त विरोध गर्नुभयो । गौरी राणा, विजया बराललगायत धादिंग र नुवाकोटका तामांग महिलाहरु उक्त विरोधमा उत्रिएका थिए । पञ्चायती शासनको सबभन्दा पहिले सार्वजनिक विरोध गर्नेमा महिलाहरु नै भए ।
आफ्नै कान्छा मामा गिरिजाप्रसाद कोइरालाको नजीक रहेर पनि उहाँले पार्टीमा लिएका गलत नीति र पाटीका प्रस्थापनाविरोधी अडानविरुद्ध संघर्ष गर्नुभयो । पार्टीबाट गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई किनारा लगाउने नीतिलाई कहिल्यै समर्थन गर्नु भएन । अन्त्यमा मामाजीको त्यही नीतिको शिकार उहाँ स्वयम् हुनुभयो । पदमा बसेर जनताको हितमा निर्णय गर्न कहिल्यै हच्किनु भएन ।
उहाँलाई अल्जाइमर्स् रोगले चाप्न थालेपछि भारतको लागि नेपालको राजदूत भएर दिल्लीमा बस्ने र उपचार गराउने उहाँको इच्छा थियो । त्यो पूरा भएन । बिमार बढ्दै गएपछि पहिले नयाँ दिल्लीमा उपचार गरियो, तर त्यहाँ कुनै सुधार नभएपछि बैंकक लैजाँदा थाई डाक्टरहरूले इन्डियन डाक्टरहरूले चलाएको गलत र घातक औषधि देखेर स्तब्ध र रुष्ट पनि भएछन् । आखिर त्यहाँ पनि सुधार आएन । अन्त्यमा त्रिवि शिक्षण अस्पतालमा यही रोगमाथि निमोनिया पनि भएपछि भर्ना गरियो । २०६६ जेठ २९ गते निधन भयो ।
उहाँको यो भनाई २०४९ सालमा कृषि मन्त्री भएकै बेला संसदमा बोल्नुभएको थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो भनाई फिर्ता लिन वा राजीनामा दिन दबाब दिनुभयो । उहाँले आफ्नो अडान छोड्नुभएन बरु राजिनामा दिन तयार हुनुभयो । उहाँको उक्त भनाईको सान्दर्भिकता र क्रियाकलाप आज पनि झन् प्रबल भएर बारम्बार देखा परिरहेको छ।
साभार : गाैतमजीकाे मुहारपुस्तिका
चन्द्रमणि गाैतम