शुक्रबार, कार्तिक ७ गते २०८३

भ्रष्टाचारमुक्त राष्ट्र बनाउन समाजमा तीन मूख्य मानिस छन्ः ए.पी.जे. अब्दुल


जेठ २६, २०८० शुक्रबार
भ्रष्टाचारमुक्त  राष्ट्र   बनाउन  समाजमा तीन मूख्य मानिस छन्ः  ए.पी.जे. अब्दुल
छिमेकी भारतका एघारौँ राष्ट्रपति (२००२–२००६) अबुल पाकिर जैनुलअब्दिन (एपीजे) अब्दुल कलाम (१९३१–२०१५) वैज्ञानिक तथा ईन्जिनियर पेशागत पृष्ठभूमिबाट ख्याति कमाउँदै भारतको सर्बोच्च ओहोदामा पुगेका तेस्रो मुस्लीम व्यक्तित्व हुन् । समुद्रमा माछा मारेर निर्वाह गर्ने (मछुवार) परिवारमा जन्मेर, आमाका चुरा बेचेर कलेज भर्ना भएका र भारतको सर्वोच्च ओहोदासम्म पुग्नसक्ने कलामको जीवन स्वयंमा कर्मयोगी सन्देश एवं प्रेरणादायी मान्नुपर्छ ।
उनले करिब चार दशक भारतको रक्षा, अनुसन्धान तथा विकास संगठन र अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) मा आफ्नो अद्वितीय योगदान पुर्याए । भारतको पहुँच अन्तरिक्षसम्म पुर्याउने (१९८० मा ‘रोहिणी’ उपग्रह प्रक्षेपण) कार्यको अतुलनीय श्रेय यिनलाई दिईन्छ । भारत रत्न, भारत भूषण, भारत विभूषणलगायत अनेक प्रसिद्ध पुरस्कार विजेता, यिनले भारतलाई पहिलो र दोस्रो परमाणु शक्ति परीक्षण (१९७४ र १९९८), ब्यालेस्टिक मिसायल तथा प्रक्षेपण–यानको प्रविधि विकासमा निर्णायक योगदान पु¥याए ।
 
यसैबीच भनिहालूँ, भारत विरोधाभास मान्यता प्रशस्तै भएको राष्ट्र हो, जो महात्मा गान्धीको अहिंसावादी सर्वोपरि नेतृत्वमा स्वतन्त्र त भयो तर स्वतन्त्रतापछि भएका विभाजन, दङ्गा, रक्तपात र नरसंहारको हिंसात्मक द्वन्द्व दुनियाको आजसम्मकै विराट र भयानक मानिन्छ । भारत संसारको सबभन्दा विशाल लोकतान्त्रिक मुलुक हो, तर त्यहाँ लोकतन्त्रको सुदृढीकरणलाई उछिनेर सैन्य सुदृढीकरण अगाडि गईरहेको देखिन्छ ।
 
विश्वमा चीनपछि दोस्रो धेरै सैन्यसंख्या भएको भारत, हतियार आयात वा खरिद गर्ने अग्रणी मुलुक हो । कलाम साहेबको योगदान भारतलाई शक्तिशाली बनाउने कार्यमा नै केन्द्रित रह्यो । कुरान र गीता एकसाथ पढ्ने, कर्नाटकका भक्तिसंगीत हरेक दिन सुन्ने, हिन्दु संस्कृतिमा आस्था राख्ने, यी व्यक्तित्व सादगी र सदाचारका लागि ज्वलन्त उदाहरण वा प्रमाण मानिन्छन् । २०७३ साउने संक्रान्तिकै दिन उनी असमको एउटा इन्स्टिच्युटमा बसोबासयोग्य ग्रहको निर्माण (Creating a Livable Planet Earth) विषयमा ब्याख्यान दिँदादिँदै गम्भीर हृदयाघात भएर त्यहीँ ढले । स्थानीय अस्पताल पु¥याउँदा उनलाई ‘अब छैनन्’ घोषणा गरियो ।
 
उनको उपरोक्त भनाई अरविन्द गुप्ता, मुकुल चतुर्वेदी र अक्षय जोशीको सम्पादनमा २००४ मा प्रकाशित संगालो ‘सुरक्षा र कुटनीति : जरुरी दस्तावेज’ (Security and Diplomacy: Essential Documents) को पृ. १४४ मा उल्लेख छ : "If a country is to be corruption free and become a nation of beautiful minds, I strongly feel there are three key societal members who can make a difference. They are the
father, the mother and the teacher."
साभार : गाैतमजीकाे मुहारपुस्तिका
 
 
 
Sent