शुभकामना साकोसको स्थापना कसरी भएको थियो ?
शुभकामना बचत तथा ऋण सहकारी संस्था स्थापना भएको २३ वर्ष भएको छ । त्यो समयमा भक्तपुरबाट सहकारीको नाममा बाहिरी जिल्लाका मानिस आएर सोझासिधा जनताबाट बचत संकलन गर्ने र उक्त बचतलाई फिर्ता गर्न नसकेको अवस्था थियो । त्यस्ता समस्याबाट पाठ सिकेर भक्तपुर जिल्लाकै स्थानीय सञ्चालक भएको संस्था स्थापना गरी सदस्यहरुको आर्थिक सामाजिक एवं साँस्कृतिक विकास गर्नुपर्छ भन्ने उदेश्यका साथ ७५ जना मिलेर यो संस्था स्थापना गरेका हौं । ७५ जना सदस्यले प्रतिव्यक्ति १० हजारका दरले रकम संकलन गरी ७ लाख ५० हजार शेयर पुँजीबाट संस्था शुरु गरेका थियौं । अहिले संस्थाको शेयर पुँजी १० करोड पुगिसकेको छ । न्यूनतम ३०० सय मासिक रुपमा प्रत्येक सदस्यले बचत गर्नुपथ्र्यो र आफ्नो क्षमता अनुसार सदस्यले ५०० देखि १००० रुपैया पनि मासिक बचत गर्थे ।
जुन बेला सहकारीको शुरुवात गर्नु भयो, त्यो बेला आम सदस्यहरुको बुझाई सहकारीप्रति कस्तो थियो ?
सदस्यहरुमा बैंक, फाइनान्स तथा सहकारी संस्था भनेको एउटै हो भन्ने बुझाई थियो । हामीले घरघरमा गएर बैंक, फाइनान्स र सहकारीबीचको भिन्नता, दिने सेवा र सहकारीको महत्वको बारेमा बुझायौं । बैंक भनेको नाफामुखी र सहकारी सेवामुखी भएको कुरा आम सदस्यलाई बुझायौं । सहकारीमा निम्न वर्गको किसानको पहुँच पुग्छ तर बैंकमा त्यो नभएको कुरा स्थानीयलाई भन्यौं । सहकारीका बारेमा बुझाउँदै जाँदा सदस्यता वृद्धि क्रमशः बढ्दै गयो । संस्थाले बचत ऋण सँगै स्वास्थ्य, शिक्षा र कृषिमा टेवा पु¥याउन थाल्यो । यसले पनि समुदायका मानिसको संस्थाप्रति आकर्षण बढ्दै गयो ।
जुन उद्देश्य लिएर संस्था स्थापना भएको थियो । त्यो उद्देश्य प्राप्तिमा कत्तिको सफल हुनुभयो ?
हामीले स्थापनाकालिन समयमा लिएको उद्देश्य प्राप्तिमा धेरै सफलता मिलेको छ । २०६५ सालमा हामी भक्तपुर जिल्लाकै उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत भयौं । सन् २०१६ र १७ संस्थाले लगातार २ पटक अक्कुद्वारा सञ्चालित एक्सेस ब्राण्ड कार्यक्रममा सहभागि भएर सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भयो । २०७७ सालमा बागमती प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कार प्राप्त ग¥यौं । राष्ट्रिय सहकारी दिवसको अवसरमा हामीले पटकपटक उत्कृष्ट सहकारी संस्था र उत्कृष्ट सहभागिता पुरस्कार पाउनुका साथै समुदायमा आधारित संस्थाको रुपमा सम्मानित भएका छौं । हामीले गरेको ऋण लगानीबाट कमाएको नाफाबाट सदस्यहरुलाई लाभांशको रुपमा मात्रै वितरण नगरी समुदायको लागि पनि केहि प्रतिशत खर्च गर्दै आएका छौं । सामुदायिक र निजी विद्यालयमा अध्यनरत छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएका छौं । त्यसैगरी अपाङ्ग, पिछडिएको वर्ग र समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएका छौं । त्यसैगरी कृषक सदस्यहरुको लागि साल्ट ट्रेडिङ र कृषि कम्पनीसँग सहकार्य गरेर सहकारीमार्फत रासायनिक मल वितरण गर्दै आएका छौं । यसले गर्दा शुभकामनाप्रति सदस्यको क्रेज राम्रो रहेको छ ।
संस्थाको लगानीबाट सदस्यहरुको जीवनस्तरमा के कस्ता परिवर्तन देख्न सकिन्छ ?
संस्थाको कार्यक्षेत्र भक्तपुर जिल्लाभरी रहेको छ । त्यो समयमा जिल्लामा करिब ८० प्रतिशत जनता कृषिमा आधारित थिए । पछिल्लो समय बाहिरी जिल्लाबाट मानिसहरु आउन थाले र जग्गाहरु प्लटिङ गरेर घरघडेरीको रुपमा विक्री हुन थालेपछि धेरै मानिस कृषि पेशाबाट विस्थापित भए । जमिन खण्डिकरण हुँदै गएपछि हामीले कौशीखेती गरेर घरलाई पुग्ने तरकारी उत्पादन गर्न सकिन्छ भनेर सदस्यलाई कौशीखेतीको तालिम प्रदान गर्न थाल्यौं । कृषिबाट विस्थापित भएका सदस्यहरुलाई आयमुलक बनाउन बुकी तथा झोला बनाउने, तरकारी खेती, मौरीपालन, कुखुरापालन, गाईपालनमा लगानी गर्दै आएका छौं । कृषि केन्द्रबाट आधुनिक मल, बीऊबिजन ल्याएर सदस्यहरुलाई विक्री वितरण गरी सदस्यहरुको आयस्तरलाई बढाउने काम गर्दै आएका छौं ।
संस्थामा आवद्ध कति सदस्यले ऋण लिएर व्यापार व्यवसाय गर्दै आएका छन् ?
संस्थामा ९ हजार माथि सदस्य भएतापनि ७ सय सदस्यले मात्र ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका छन् । हामीले सहज रुपमा ऋण लगानी गर्दै आएका छौं । संस्थामा ऋण लिनेभन्दा बचत गर्ने सदस्य धेरै हुनुमा संस्थाप्रति सदस्यले गरेको विश्वास हो । ५० हजारदेखि ५ लाखसम्म कर्मचारीमार्फत् नै लगानी गर्छौं । ५ लाख भन्दा माथि र २५ लाखसम्मको ऋण उपसमिति मार्फत् गर्ने गरेका छौं । ३ दिनमा उक्त ऋण स्वीकृत हुन्छ । इजी कर्जा भनेर ल्याएको छौं । यो सदस्यले माग गरेको १० मिनेट भित्रमा प्रवाह हुन्छ । २५ लाख माथि र २ करोडसम्मको ऋण भने सञ्चालक समितिमार्फत लगानी गर्छौं । हामीसँग भएको जगेडा कोष र शेयरपुँजीलाई मर्ज गर्दा हुन आउने रकमको १० प्रतिशत एक जना सदस्यलाई ऋण लगानी गर्न सक्ने व्यवस्था सहकारी ऐन र अक्कुद्वारा सञ्चालित एक्सेस ब्राण्ड कार्यक्रमले अधिकार दिएको छ । संस्थामा २ करोडसम्म ऋण लिने र मासिक सय रुपैया बचत गर्ने पनि सदस्य भएकाले बचत गर्नेको संख्या धेरै हुन आएको हो ।
कतिपय संस्थाले शेयरपुँजी र सदस्यले गर्ने बचतको आधारमा सेवामा विभेद गरिन्छ भन्ने सुनिएको छ । शुभकामना त्यस्तो छैन नि ?
हामीले सबै सदस्यलाई समान व्यवहार गर्छौं । सहकारीमा एक व्यक्ति एक मत हुन्छ । ५ लाख शेयर हुने र ५ सय रुपैयाको शेयर हुने दुवै सदस्यलाई साधारणसभामा परिवहन खर्च ५ सय नै दिन्छौं । एक्सेसले कुनै काम गर्दा नीति बनाएर काम गर भन्छ । नीति, विधि प्रधान बन्न र व्यक्ति प्रधान नबन्न एक्सेस कार्यक्रमले सिकाएको छ । विधिले ऋण लगानी गर्न ऋण नीति बनाउ, एउटै क्षेत्रमा सबै लगानी नगर, लगानीलाई विविधिकरण गर भन्छ , त्यसले गर्दा अहिलेको अवस्थामा पनि ऋण असुलीमा समस्या भएन । विगत ३ वर्षदेखि कोभिड १९ ले आक्रान्त बनेको होटल व्यवसाय, पार्टी प्यालेस, हायरपर्चेजमा गरेको लगानी उठ्न सकिराखेको थिएन । कोभिडमा सरकारले गरेको लकडाउनका कारण व्यवसायीहरुले ऋणको किस्ता तिर्न सकिराखेको थिएनन् । पछिल्लो समय पार्टी प्यालेस धेरै चल्यो र ऋणीहरुले ऋणको साँवाब्याज बुझाए । २ वर्ष अगाडिसम्म तिर्न नसकेको किस्ता यस वर्ष तिरे । यसले गर्दा संस्थालाई वित्तीय संकटका बेलामा पनि तरलता व्यवस्थापनमा सहयोग मिल्यो । संस्थामा स्थानीय सञ्चालक, सदस्य र कर्मचारी भएको हुनाले सदस्यको विश्वास बढ्दो छ । भक्तपुर जिल्लाका ३८ वटा वडाबाटै संस्थाका सञ्चालक समिति र विभिन्न उपसमितिको सदस्यहरु भएको हुनाले पनि हामीलाई सदस्यले विश्वास गरिराखेका छन् । सदस्यको बचत सुरक्षित छ र बचत फिर्तामा कुनै समस्या छैन भनेर भनेर हामीले सदस्यहरुलाई सहकारी शिविरको आयोजना गरी भन्दै आएका छौं । संस्थाले यो यो क्षेत्रमा लगानी गरेको छ भनेर हामीले वित्तीय पारदर्शिता कायम गरेका छौं । यसले गर्दा भक्तपुरमा शुभकामना राम्रो संस्थाको रुपमा कहलिएको छ ।
धेरैजसो सहकारीले गरेको लगानी समयमा नउठ्दा बचत फिर्तामा समस्या भयो भन्छन्, शुभकामनाको हकमा त लगानी असुलीमा कुनै समस्या देखिएन नि?
धेरैले नाम सहकारी तर काम व्यापारीको गरे । स्थानीय जनतालाई बढी ब्याज दिएर बचत लिए । त्यो पैसा अन्य क्षेत्रमा लगानी गरे । काठमाण्डौमा सहकारी खोल्ने र संकलन गरेको बचतले चितवन, झापा, बुटवलमा जग्गा खरिद गरे । सहकारी ऐन २०७४ ले भक्तपुरमा संकलन गरेको बचत भक्तपुरमा नै लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । तर धेरै सहकारीले भक्तपुरमा बचत संकलन गरेर अन्य जिल्लामा गएर लगानी गरे । आर्थिक मन्दीका कारण घरजग्गा विक्री भएन र सदस्यलाई बचत फिर्ता दिन सकेन । च्याउ उम्रेजस्तै बहुउद्देश्यीय सहकारी खोलेर बचत संकलन गरे तर समयमा सदस्यको बचत फिर्ता गर्न सकेनन् । जसले गर्दा व्यापारिक सहकारीमा भएको बचत समेत झिकेर सामुदायिक संस्थामा आउन थाल्यो । गलत गर्ने सहकारीहरु समस्यामा परेकाले हामीलाई त संस्था सञ्चालन गर्न झनै सहज भएको छ । संस्थामा बचत वृद्धि भएको छ ।
सहकारीले सदस्यबाट संकलन गरेको बचत सदस्यमाझ नै परिचालन गर्नु पर्ने होइन ?
कुनैपनि संस्थामा बचत गर्दा त्यो संस्थाको सञ्चालक समितिमा को को छन्, उनीहरुको पृष्ठभूमि के छ ? संस्थाको व्यवस्थापन कस्ता व्यक्तिले गरिराखेका छन्, त्यो केहि थाहा छैन । आफुले बचत गरेको पैसा कहाँ लगानी भएको छ भन्ने जानकारी छैन । एकदुई प्रतिशत बढी व्याजदरको लोभमा जस्तोसुकै संस्थामा बचत राख्दा अहिले समस्या आएको हो । हामी हरेक महिना संस्थाको वित्तीय विवरण प्रकाशित गर्छौं । सदस्यहरुलाई साधारणसभामा बोलाएर त्यसको जानकारी दिन्छौं । उनीहरुसँग छलफल गरेर मात्र हिसाबकिताब पारित गर्छौं । पल्र्स मोनिटरिङ सिस्टम अनुसार संस्था चलाएका छौं र त्यसको हरेक महिना समीक्षा गर्छौं ।
संस्थाले सामाजिक उत्तरदायित्व पनि त बहन गर्दै आएको होला नि?
२३औं स्थापना दिवसको अवसरमा हामीले वृक्षारोपण गरेका छौं । संस्थामा धिमे बाजा साँस्कृतिक उपसमिति छ । विस्केट जात्रा, दशैं, गाइजात्रा जस्ता पर्वमा भाग लिने भक्तजनहरुलाई जुस पानी वितरण गर्ने गरेका छौं । एमबीबीएस, सिए, नर्सिङ, म्यानेजमेन्ट पढ्न चाहने सदस्यलाई १२ प्रतिशतमा सहुलियत ऋण उपलब्ध गराउँछौं । शिक्षा क्षेत्रमा हामीले राम्रो लगानी गरेका छौं । विदेशमा पढ्न जाने सदस्यका छोराछोरीलाई पनि सहुलियत दरमा ऋण प्रवाह गरिराखेका छौं । कलेजमा गरेको डिपोजिट र तिरेको बिलका आधारमा एमबीबीएस पढ्नेहरुलाई ऋण दिँदै आएका छौं । उनीहरुको आर्थिक स्तर हेर्छौं । आमाबुबाको घरबाट बहाल आउन सक्छ । व्यापार व्यवसाय र कृषिबाट केहि आम्दानी हुन्छ । त्यसकै आधारमा किस्ता निर्धारण गर्छौं । तिर्न नसक्ने सदस्यको हकमा केहि सहुलियत दिन्छौं र बाँकी साँवाब्याज क्रमश तिर्दै जान भन्छौं । संस्थामा १३ जना एमबीबीएस डाक्टर सदस्य रहेका छन् । त्यसमध्ये एक जनाले एमडी गरिसकेका छन् । ३ जना सिए छन् । संस्थाबाट सहुलियत ऋण लिएर पढेकाहरु बैंक, फाइनान्स, होटल म्यानेजमेन्टका साथै सरकारी सेवामा उच्च पदमा पुगेर काम गरिरहेका छन् । दक्ष जनशक्ति उत्पादनमा हाम्रो भूमिका महत्वपूर्ण छ । गरिब र जेहेन्दानर विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था गरेका छौं । कक्षा ८, १० र १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्छौं । वर्षमा करिब २५ जनालाई हामीले सम्मान तथा छात्रवृत्ति प्रदान गर्ने गरेका छौं । ज्येष्ठ नागरिक सदस्यहरुलाई साधारणसभाको अवसरमा सम्मान गर्नुका साथै कोशेली प्रदान गर्छौं । वर्षका एक पटक तीर्थाटन गराउँछौं । बाल बचतकर्तालाई हरेक वर्ष सम्मान गर्छौं । जन्मदिनमा केक प्रदान गर्छौं । केकको सट्टामा शैक्षिक सामग्री पनि लिन सक्ने व्यवस्था गरेका छौं । । संस्थाले कमाएको नाफाबाट शिक्षा, स्वास्थ्य र कृषि कोषमा बजेट छुट्टयाएका छौं र त्यसबाटै खर्च गर्छौं । संस्थाले बेलाबेलामा स्वास्थ्य शिविर, रक्तदान, सरसफाई जस्ता थुप्रै सामाजिक कार्य गर्दै आएको छ ।
शहर केन्द्रित सहकारीमा समस्या आउनुको मुख्य कारणहरु के के हुन् ?
सहकारीको साइनबोर्ड राख्ने तर काम भने अर्कै गर्ने संस्थाका कारण अहिले समस्या सिर्जना भएको हो । त्यस्ता सहकारी संस्थाको राज्यले नियमन तथा अनुगमन गरेर कानुनी कारवाही गर्नुपर्छ । सहकारी भनेपछि मुल्य, मान्यता र सिद्धान्तमा चल्नुपर्छ । सहकारी भनेको समुदाय मिलेर सहकार्य गर्ने हो । तर यहाँ त बचत गर्ने छसात सय हुन्छन् तर केहि सञ्चालक र तिनका आफन्तलाई ऋण दिने, जग्गा खरिद गर्ने जस्ता काम गर्नाले समस्या आएको हो ।
सहकारीको नियमन ३ वटै तहका सरकारमा गएको छ, भक्तपुरमा स्थानीय सरकारको भूमिका सहकारीप्रति कस्तो पाउनुभएको छ ?
भक्तपुरमा ४ वटा नगरपालिका छन् । हामीले प्रत्येक महिना ४ वटै नगरपालिकालाई विवरण बुझाउँदै आएका छौं । संस्थाको समग्र वित्तीय अवस्थाको बारेमा स्थानीय सरकारलाई जानकारी गराउँछौं । अहिले सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाइएको रकम मध्ये ५० प्रतिशत नगरपालिकामा जम्मा गर्न भनिएको छ । जिल्ला संघ र बचत संघमा कति दिने भनेर हामी छलफल गरिराखेका छौं । त्यसैगरी प्रदेशमा पनि हामीले हरेक महिना विवरण पठाइराखेका छौं । सदस्यको सम्पूर्ण विवरण अपडेट राखेका छौं । ३ तहका सरकारलाई वित्तीय विवरण बुझाइराखेकाले उहाँहरुले यो इण्डिकेटर सुधार गरेर लैजानु भन्नुहुन्छ । सूर्यविनायक नगरपालिकाको उपमेयरमा सहकारी बैंककी सञ्चालक सरिता भट्टराई निर्वाचित हुनुभएको छ । सहकारीकर्मीहरुको समस्या उहाँले राम्रोसँग बुझ्नुभएको छ । उहाँ निर्वाचित भएर आएपछि हामीजस्तै समुदायमा आधारित संस्थाका अध्यक्ष र उपाध्यक्षहरुबीच अन्तक्रिया गर्नुभयो । यी यी कुरामा सुधार गरेर लैजान सक्यौं भने सहकारी सुरक्षित हुन्छ भनेर हामीले सुझाव दिएका छौं । हामीले दिएको सुझावलाई उहाँले मनन् गर्नुभएको छ ।
सहकारीको लबिइङ र एड्भोकेसी गर्ने भन्दै जिल्ला तथा केन्द्रियस्तरमा संघहरु स्थापना भएका छन् । सहकारीको प्रवद्र्धनमा उनीहरुको भूमिका कस्तो पाउनुभएको छ ?
भक्तपुर जिल्ला संघ र जिल्ला बचत संघमा हामी आवद्ध छौं । सहकारीको भावना र मर्म भन्दा पनि राजनीतिकर्मीको स्वार्थपूर्ति गर्न संघहरु हावी भएको देखिन्छ । बचत संघ, नेफ्स्कुन, राष्ट्रिय सहकारी बैंक र जिल्ला संघ सबैमा राजनीति हावी छ । सहकारीमा एक व्यक्ति एक संस्था र एक व्यक्ति एक भोट भनिन्छ । हामीसँग ९ हजार सदस्य आवद्ध छन् । १ सदस्य बराबर नेफ्स्कुनले ३ रुपैया लेवि उठाउँछ । जबकि शुभकामना साकोसको पनि १ भोट मात्रैको अधिकार रहन्छ । दुर दराजका सहकारी जस्का दुईतीनसय मात्र सदस्य छन् उनीहरुले पनि प्रति सदस्य ३ रुपैया नै बुझाउँछन् । ९ हजारको जनाको प्रतिनिधित्व र दुइतीनसय जनाको प्रतिनिधित्व बराबर भयो । यो ठीक भएन भनेर आवाज उठाइराखेका छौं । प्रति सदस्य ३ रुपैया लिन ठीक छैन । यदि ३ रुपैया लिने हो भने ९ हजार सदस्यको मतभार हुनुप¥यो । राष्ट्रपतिको चुनावमा मेयर, प्रदेश सभा र संघीय संसदको सदस्यको मतभार भने जस्तै ९ हजार सदस्य भएको संस्थाको मतभार सोही मात्रामा हुनुप¥यो । हामी ३०औं हजार बुझाउनेको पनि उही मतभार र ५/६ सय रुपैया बुझाउनेको पनि उही मतभार । यो समानान्तर भएन । सहकारी समानान्तरमा आधारित हुनुपर्छ भनेर हामीले आवाज उठाइरहेका छौं ।
हामीले जिल्लागत र केन्द्रीय संघहरुबाट सेवा लिएका छैनौं । नेफ्स्कुन, बैंक र संघहरुलाई दिइराखेका छौं । अक्कुद्वारा सञ्चालिन एक्सेस कार्यक्रम नेफ्स्कुनले ल्याएको हो । त्यो कार्यक्रममा सहभागि भएर केहि कुरा सिक्न पायौं । विभिन्न नीति बनायौं र त्यसलाई संस्थाले लागु गरेकाले अहिले संस्थामा वित्तीय संकट आएन । त्यो हाम्रो लागि उपलब्धी हो । शुभकामना जस्तो संस्था नेफ्स्कुनको सञ्चालक समितिमा अटाउँदैन । गाउँको २/३ सय सदस्य भएको संस्थाबाट सञ्चालक समिति ल्याइन्छ । राजनीतिक आस्था र पहुँचका आधारमा सञ्चालक चयन हुन्छ । यो गलत छ ।
सहकारीप्रति आम बुझाई गलत हुनपुग्यो, के सबै सहकारी एउटै हुन त?
हामीले विगत ३ महिनादेखि प्रत्येक शनिवार शिक्षा शिविर सञ्चालन गर्दै आएका छौं । संस्थाले मुख्य कार्यालयसहित नासमना र ब्यासी सेवाकेन्द्रमा शिक्षा शिविर गर्दै आएको छ । सदस्यहरुलाई शिक्षामार्फत बचतऋण सहकारीले बचतऋणको कारोबार गर्छ, बहुउद्देश्यीयको काम गर्ने तरिका यस्तो हुन्छ । कृषिले फरक काम गर्नुपर्ने हो भन्दै आएका छौं । तर यहाँ सबै प्रकृतिका संस्थाले बचत तथा ऋणको कारोबार गरिरहेका छन् । यो गलत छ भनेर हामीले भनेका छौं । एक सदस्य वराबर ६ सदस्यमा सहकारी शिक्षा पु¥याउने भनेर हामी लागेका छौं । संस्थामा आवद्ध ९ हजार सदस्यलाई सहकारी शिक्षा दिने हाम्रो लक्ष्य छ ।
संस्थाले के कस्ता कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाइराखेको छ ?
संस्थाले रक्तदान, स्वास्थ्य शिविर, पर्यावरण संरक्षणको लागि वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । स्थापना दिवसको अवसरमा संस्थामा दिपावली गर्ने, ऐतिहासिक क्षेत्रहरुको सरसफाई गर्ने जस्ता कार्यक्रम रहेका छन् ।