सरकारले कृषकहरूका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा जारी बजेट वक्तब्यमा अर्थमन्त्री डा प्रकाशशरण महतले कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनमा प्रोत्साहन दिन उक्त कार्यक्रम ल्याएको जनाए । ‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने उनले बताए । बीऊ खरिद, रासायनिक मल, बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदान बाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने अर्थमन्त्री महतले बताए ।
यसबमोजिम अनुदान प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउन मसान्तभित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । यसबाट कृषिमा प्रदान गरिँदै आएको अनुदान सदुपयोग नभएको भन्ने आम गुनासो सम्बोधन हुने र वास्तविक किसान लाभान्वित भई कृषि उत्पादन बढाउन सघाउ पुग्ने सरकारको अपेक्षा छ ।
प्रदेश तथा स्थानीय तहले समेत उत्पादनमा आधारित कृषि अनुदान प्रणाली अबलम्बन गर्नसक्ने अर्थमन्त्री डा. महतले बताए । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०।८१ को बजेट तयार पारेको अर्थमन्त्री डा। महतले बताए ।
त्यसैगरी सरकारले आगामी आर्थिक वर्ष २०८०।८१ मा रैथाने उत्पादनको वृद्धि र ब्रान्डिङ गर्ने भएको छ । अर्थमन्त्री महतका अनुसार सरकारले जुम्लाको मार्सी धान, पाल्पा आलु, कागुनो, फापर आदिजस्ता रैथाथे उत्पादनको ब्रान्डिङ शुरू गर्नेछ। उत्पादनहरूको व्यापारिक कम्पनीमार्फत खरिद गरिने उनले बताए । सरकारले रैथाने बिउको पनि संरक्षण गर्ने पनि जनाएको छ ।
त्यस्तै, औषधीजन्य प्रयोजनको लागी गाँजा खेतिको सम्भाव्यता अध्ययन गर्ने अर्थमन्त्रीले उल्लेख गरे ।