बुधबार, भाद्र ३ गते २०८३

युनाइटेड र अजोड मिलेर बन्यो युनाइटेड अजोड इन्स्योरेन्स 

जेठ १५, २०८० सोमबार
युनाइटेड र अजोड मिलेर बन्यो युनाइटेड अजोड इन्स्योरेन्स 


युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स लिमिटेड एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको कम्पनीले आगामी चार वर्षभित्र सर्वश्रेष्ठ ५ निर्जीवन बीमा कम्पनीभित्र पर्ने उद्घोष गरेको छ । 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ कम्पनीका अध्यक्ष आजाद श्रेष्ठलाई इन्स्योरेन्स अपरेसन्स लाइसेन्स हस्तान्तरण गरे । मर्जरसँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सामान्य जगेडा कोषमा ५९ करोड ६७ लाख र बीमा कोषमा ७२ करोड ६४ लाख रुपैयाँ छ । कम्पनीको नेट वर्थ ३ अर्ब २६ करोड ३५ लाख पुगेको जनाएको छ । 

यस्तै शाखा संख्या १०० र कर्मचारी संख्या ५८१ कायम भएको छ । बीमालेख संख्या १ लाख ९२ हजार ८२५ र कुल प्रिमियम २३९ करोड ७९ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । नियमनकारी निकायले तोकेका क्षेत्रहरुमा गरिएको कम्पनीको लगानी ३ अर्ब ९८ करोड ७९ लाख रुपैयाँभन्दा माथि पुगेको कम्पनीले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ । 

अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले ग्राहकमाझ विश्वास बढाउनुपर्नेमा जोड दिए । बीमा क्षेत्रमा असीमित जोखिम तर सीमित पैसाले गर्दा बेथिति समेत बढेको पाएपछि प्राधिकरणले कम्पनीहरु गाभ्ने नीति ल्याएको उनले बताए । मर्जरपछिको कम्पनीमा सिनर्जी ल्याएर उत्कृष्ट सेवा प्रदान गर्न उनले सुझाव दिए । युनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले चार वर्षमा कम्पनीलाई प्रतिस्पर्धी मूल्य, स्तरीय सेवा र नविन प्रडक्टसहितको निर्जीवन बीमा सेवा दिने ५ सर्वश्रेष्ठ कम्पनीको पंक्तिमा उभ्याउने बताए।