शुक्रबार, कार्तिक ७ गते २०८३

  नागरिक बेच्नेहरू

जेठ १२, २०८० शुक्रबार
  नागरिक बेच्नेहरू

sahakari-bibhag press meet.jpg

(वसन्ततिलका)

===============================
सामान्य नागरिक भ्रष्ट हुँदैन साथी
औँला उठाउँछ स्वयं बरु भ्रष्टमाथि
बेचौँ तिनै श्रमिक बन्धकमा निहत्था
यस्तो उपाय नगरे रहँदैन सत्ता ।१।
हाँक्दैछ देश जसले तिनको छ दाउ
यो देश नित्य वशमा कसरी बनाऊँ
छन् शक्ति राष्ट्र तिनको नबनेर दास
भन्छन् हुँदैन हित, बन्दछ सर्वनाश ।२।
यो दास मालिक प्रवृत्ति छ आजसम्म
स्वाधीनता कति रह्यो छ यहाँ अचम्म
खेलो टिकाउन यही छ ठुला बडाको
खाने कहाँ र कसरी छ सधैँ रडाको ।३।
सम्भ्रान्त उच्च पदका र कुलीनबाट
हड्पी समस्त जनता सब राजपाट
चल्दैछ खासखुस बिक्दछ भित्रभित्र
गर्ने लुछालुछ छ यो यिनको चरित्र ।४।
घुम्छन् सँगै अघिपछि शठ चण्ड मुण्ड
झोला समाल्न तिनको र उचाल्न दण्ड
हुन् भाट ती मुलुकनिम्ति सदैव भार
जालो छ देशभर वेष्टित वारपार ।५।
यी दास मालिक मिलेपछि बिक्छ देश
ढुक्छन् असुल्न धन लम्पट निर्निमेष
ढुङ्गा नदी बगर फाँट हिमाल ताल
बेच्छन् यिनै असुर नित्य बनेर जाल ।६।
काला तिनै उदरभित्र जहाज चल्छन्
पस्छन् नदी मुलुकका अनि दीप बल्छन्
त्यै पेटमा छ कति कोभिडको दबाई
भन्सारको सुन पचाउँछ त्यो चपाई।७।
उद्योग कौशल कलाकृति कारखाना
बन्छन् यिनै असुरका रसिला खजाना
व्याधा प्रवञ्चक महाखल यी सुदामा
छन् लिप्त यो प्रकृति निर्मित सम्पदामा ।८।
सामान्य नागरिक बेच्नु छ कर्मजस्तो
नेतृत्वको कुशल नैतिक धर्मजस्तो
पाएर जन्म जननीसित छैन नाता
छन् बाहिरी मुलुकमा यिनका विधाता।९।
जो न्याय माग्छ उसको हक खोस्नुपर्छ
आगो लगेर मुखमा अनि झोस्नुपर्छ
बोल्दैन फेरि तब त्यो गणतन्त्र टिक्छ
बेचिन्छ नागरिकता जतिसम्म बिक्छ।१०