कार्ल गुन्नर मिर्दल (१८९८–१९८७) अर्थशास्त्रमा नोबेल पुरस्कार (१९७४) प्राप्त स्वेडेनका चर्चित लेखक, अर्थशास्त्री, समाजशास्त्री एवं राजनीतिज्ञका साथै राजधानी स्टकहोमस्थित विश्वविद्यालयका प्राध्यापक हुन् । गुन्नरले एक दशक लगाएर ‘एशियाली नाटक : राष्ट्रहरूमा विद्यमान गरिबीभित्रको छानबिन’ (Asian Drama: An Inquiry into the Poverty of Nations) १९६८ मा प्रकाशित गरेपछि एशियाली प्रबुद्ध वर्गमा पनि उनको उल्लेखनीय प्रभाव रह्यो ।
महात्मा गान्धीको स्वावलम्बी अर्थतन्त्रबाट प्रभावित गुन्नरले उक्त पुस्तकमा आर्थिक विकासको गतिलाई जनसंख्या बृद्धिले उछिनेको माल्थसवादी जनसंख्या सिद्धान्तअनुरुप अर्थ लगाउँदै गरिब अर्थतन्त्रमा विकासको मोडेल माथिबाट अवतरित होइन, जनस्तरबाटै उठेको (‘फ्रम ग्रासरुट, नट प्यारासुट’) हुनुपर्ने जिकिर थियो । आदरणीय बरिष्ठ पत्रकार श्रीधर खनालले धेरै वर्षअघि मलाई पढ्न ‘एशियन ड्रामा’ को पहिलो खण्ड दिनुभएको थियो । त्यो बेलाको मेरो भाषा र समझको स्तरले सो पुस्तक पढिसक्न निकै धौधौ परेको थियो । तर जे-जसरी पढियो, आज पनि धेरै सम्झिन्छु । माथि उल्लेखित विचार सोही पुस्तकबाट नोट गरिएको हो ।
गुन्नरकै समान विचार, प्रख्यात जर्मन–ब्रिटिश अर्थशास्त्री अर्नेस्ट फ्रेडरिक सुमाकर (१९११–७७) को थियो, जो ‘बुद्धिस्ट अर्थतन्त्र’ बारे पनि लेखेर चर्चित भएका थिए, गान्धीवादी अर्थतन्त्रबाट निकै प्रभावित रहे। उनीबाट बीपी कोईराला पनि प्रभावित हुनुभएको थियो र सुमाकरका विचार पढेपछि गान्धीवादी अर्थतन्त्रबारे छर्लङ्ग हुन्छ भन्नुहुन्थ्यो । सुमाकर भन्थे, “स्थानीय आवश्यकता पूर्तिको लागि स्थानीय स्रोत साधनबाट हुने उत्पादन आर्थिक जीवनको तर्कसंगत तरिका हो...’ (Production from local resources for local needs is the most rational way of economic life) ।
मौद्रिक तथा आर्थिक उतारचढावका सिद्धान्तका साथै आर्थिक, सामाजिक र संस्थागत गतिविधिका अन्तरसम्बन्ध र तिनको अन्तवर्ति विश्लेषणमा गुन्नर मिर्दलसहित अस्ट्रियाका सामाजिक अर्थशास्त्री फ्रेडरिक हाएकले विश्वमा नोबेल पुरस्कार पाउने स्तरको बहसपूर्ण हलचल ल्याएका थिए । स्वेडेनलाई कल्याणकारी राज्यको स्थापनामा उनका प्रजातान्त्रिक समाजवादी आर्थिक सिद्धान्तहरूले असाधारण योगदान पुर्याएको थियो ।
चन्द्रमणि गाैतम