बुधबार, भाद्र ३ गते २०८३

शासनमा आउने नयाँ जमातले देखाउनका लागि पुरानालाई भ्रष्ट घोषित गरी दण्ड दिएजस्तो गर्छन्ः अर्थशास्त्री कार्ल गुन्नार मिर्दल


जेठ १, २०८० सोमबार
शासनमा आउने नयाँ जमातले   देखाउनका लागि पुरानालाई भ्रष्ट घोषित गरी दण्ड दिएजस्तो गर्छन्ः अर्थशास्त्री कार्ल गुन्नार मिर्दल

कार्ल गुन्नर मिर्दल (१८९८–१९८७) अर्थशास्त्रमा नोबेल पुरस्कार (१९७४) प्राप्त स्वेडेनका चर्चित लेखक, अर्थशास्त्री, समाजशास्त्री एवं राजनीतिज्ञका साथै राजधानी स्टकहोमस्थित विश्वविद्यालयका प्राध्यापक हुन् । गुन्नरले एक दशक लगाएर ‘एशियाली नाटक : राष्ट्रहरूमा विद्यमान गरिबीभित्रको छानबिन’ (Asian Drama: An Inquiry into the Poverty of Nations) १९६८ मा प्रकाशित गरेपछि एशियाली प्रबुद्ध वर्गमा पनि उनको उल्लेखनीय प्रभाव रह्यो ।

महात्मा गान्धीको स्वावलम्बी अर्थतन्त्रबाट प्रभावित गुन्नरले उक्त पुस्तकमा आर्थिक विकासको गतिलाई जनसंख्या बृद्धिले उछिनेको माल्थसवादी जनसंख्या सिद्धान्तअनुरुप अर्थ लगाउँदै गरिब अर्थतन्त्रमा विकासको मोडेल माथिबाट अवतरित होइन, जनस्तरबाटै उठेको (‘फ्रम ग्रासरुट, नट प्यारासुट’) हुनुपर्ने जिकिर थियो । आदरणीय बरिष्ठ पत्रकार श्रीधर खनालले धेरै वर्षअघि मलाई पढ्न ‘एशियन ड्रामा’ को पहिलो खण्ड दिनुभएको थियो । त्यो बेलाको मेरो भाषा र समझको स्तरले सो पुस्तक पढिसक्न निकै धौधौ परेको थियो । तर जे-जसरी पढियो, आज पनि धेरै सम्झिन्छु । माथि उल्लेखित विचार सोही पुस्तकबाट नोट गरिएको हो ।

गुन्नरकै समान विचार, प्रख्यात जर्मन–ब्रिटिश अर्थशास्त्री अर्नेस्ट फ्रेडरिक सुमाकर (१९११–७७) को थियो, जो ‘बुद्धिस्ट अर्थतन्त्र’ बारे पनि लेखेर चर्चित भएका थिए, गान्धीवादी अर्थतन्त्रबाट निकै प्रभावित रहे। उनीबाट बीपी कोईराला पनि प्रभावित हुनुभएको थियो र सुमाकरका विचार पढेपछि गान्धीवादी अर्थतन्त्रबारे छर्लङ्ग हुन्छ भन्नुहुन्थ्यो । सुमाकर भन्थे, “स्थानीय आवश्यकता पूर्तिको लागि स्थानीय स्रोत साधनबाट हुने उत्पादन आर्थिक जीवनको तर्कसंगत तरिका हो...’ (Production from local resources for local needs is the most rational way of economic life) ।

मौद्रिक तथा आर्थिक उतारचढावका सिद्धान्तका साथै आर्थिक, सामाजिक र संस्थागत गतिविधिका अन्तरसम्बन्ध र तिनको अन्तवर्ति विश्लेषणमा गुन्नर मिर्दलसहित अस्ट्रियाका सामाजिक अर्थशास्त्री फ्रेडरिक हाएकले विश्वमा नोबेल पुरस्कार पाउने स्तरको बहसपूर्ण हलचल ल्याएका थिए । स्वेडेनलाई कल्याणकारी राज्यको स्थापनामा उनका प्रजातान्त्रिक समाजवादी आर्थिक सिद्धान्तहरूले असाधारण योगदान पुर्याएको थियो ।

भियतनाम युद्धमा अमेरिकी संलग्नताका कट्टर विरोधी गुन्नर सो युद्ध समाप्तिको मध्यस्थता गर्ने स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानका सहअध्यक्ष पनि भए । उनी प्रजातान्त्रिक समाजवादीकै पहिचानमा तीनपटक स्वेडिस संसदको सदस्य र व्यापारमन्त्री पनि भए । मन्त्री हुँदा स्वेडेनको मौद्रिक संकट (१९४७) र तत्कालीन सोभियत संघसँग वित्तीय सम्झौतालाई लिएर नराम्रोसँग विवाद र विरोधमा पनि परेका थिए । १९४४ मा प्रकाशित पुस्तक ‘अमेरिकी अन्योल : काला जातीको समस्या र आधुनिक लोकतन्त्र’ (An American Dilemma : The Negro Problem and Modern Democracy) ले उनलाई अमेरिकामा चर्चाको शिखर दिलायो । यसले गर्दा अमेरिकी सर्बोच्च अदालतले १९५४ मा विद्यालयहरूमा काला जातीका विद्यार्थीमाथि भेदभावपूर्ण व्यवहार अपनाईनु असंवैधानिक हुन्छ भन्ने सारको फैसला दिँदा महत्वपूर्ण कोशेढुङ्गा नै सावित भएको थियो ।
आधुनिक अर्थशास्त्रका उद्भट विद्वान जोहन मेनार्ड किन्स् को हलचलकारी पुस्तक ‘रोजगारी, ब्याज र मुद्राको सामान्य सिद्धान्त’ (General Theory of Employment, Interest and Money),जसको मार्गदर्शनलाई अपनाएर अमेरिका १९३० को दशकको महामन्दीबाट मुक्त भएर महाशक्ति बन्ने यात्रामा विश्वयुद्धको तयारी गर्नथाल्यो, १९३६ मा प्रकाशित हुनुभन्दा ४ वर्षअघि नै गुन्नरले त्यही विचार समुहमा पर्ने पुस्तक ‘मौद्रिक अर्थशास्त्र’ (Monetary Economics) प्रकाशित गरेर हलचल ल्याईसकेका थिए । १९२४ मा बिहे गरेका उनकी पत्नी अल्बा मिर्दल (१९०२–१९८६) निशस्त्रीकरण अभियानकी अभियन्ता, नोबेल शान्ति पुरस्कार (१९८२) प्राप्त स्वेडेनकी निकै चर्चित महिला हुन्। गुन्नरको पार्किन्सन समस्याबाट निधन भयो ।
साभार : गाैतमजीकाे मुहारपुस्तिकाबााट