शनिबार, आश्विन १७ गते २०८३

डा. मिनेन्द्र रिजालद्वारा बाल अस्पतालका लागि ५० लाख सहयाेग

बैशाख २१, २०८० बिहीबार
डा. मिनेन्द्र रिजालद्वारा बाल अस्पतालका लागि ५० लाख सहयाेग
 

बिर्तामाेड। नेपाली काग्रेसका नेता तथा पूर्ब मन्त्री डा. मिनेन्द्र रिजालले झापाकाे दमकमा हालैमात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई  रु ५० लाख प्रदान गर्नुभएको छ । उनले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसनमार्फत  बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापकसमेत रहेका काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान् कोइरालालाई उक्त रकमकाे चेक प्रदान गरे।

झापाकाे रतुवामाई नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद सिंह र दमक नगरपालिकाका कार्यवाहक प्रमुख भीमप्रसाद पौडेलको रोहवरमा भएको कार्यक्रममा  डा. रिजालले बाल अस्पताललाई सहयोग पुर्याउन आफूले स्वेच्छिक सहयोग पुर्याएको बताए ।

रिजालले समाजका लागि दिने योगदानले भावी सन्ततिको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  त्यसअघि उनले त्यस अस्पतालको स्थलगत निरीक्षणसमेत गरेका थिए । 

त्यस अवसरमा  अस्पताल सञ्चालन पक्ष र पुण्यश्री फाउन्डेसनबीच सीमान्तकृत एवं  विपन्न समुदायका बालबालिकाको स्वास्थ्योपचार सेवासम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भएको छ ।

साे कार्यक्रममा डा.भगवान कोइरालाले बाल मृत्युदर घटाउने सरकारको अभियानमा सहयोग पुर्याउनकै लागि देशका सातवटै प्रदेशमा कम्तीमा एक–एकवटा यस किसिमका बाल विशिष्टिकृत बाल अस्पताल सञ्चालनको अवधारणा ल्याइएको बताए ।

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखासँगको सहयोगमा दमकमा सञ्चालन आएको सो अस्पतालमा बालबालिकाका सबै रोगहरूको उपचार गर्ने विशिष्ट किसिमको अस्पतालका रूपमा यसले सेवा पुर्याउदै आएको जनाइएकाे छ ।