मुलुकमा देखिएको वित्तीय संकट र तरलता अभावको अवस्थाका वावजुद पनि चतरा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुको मन जितेर पर्याप्त तरलता व्यवस्थापन गर्न सकेको छ । संस्थामा २० प्रतिशतभन्दा माथि तरलता रहेको संस्थाका व्यवस्थापक बाबुराम खत्रीले जानकारी दिए । बजारमा वित्तीय संकटको चाप रहेपनि संस्थालाई त्यसले कुनै असर नगरेको उनले बताए । संस्थाप्रति सदस्यहरुको विश्वास राम्रो रहेको छ । संस्थामा हाल ५ हजारमाथि शेयरसदस्य, ९ करोडको शेयरपुँजी, ५० करोड बचत संकलन र ६७ करोडमाथि ऋण लगानी गरेको छ । संस्थाले तरलता व्यवस्थापनका लागि १० करोड रुपैया राखेको छ । संस्थाले सदस्यहरुलाई अधिकतम १० लाखसम्मको ऋण समेत लगानी गर्दै आएको छ । व्यवसाय र आयमुलक क्षेत्रमा लगानी बढिरहेको र घरजग्गा खरिदका लागि सदस्यबाट नै ऋण माग कम भएको उनले बताए । संस्थाबाट ३० प्रतिशत व्यवसायिक क्षेत्रमा, ३० प्रतिशत उत्पादनमूलक क्षेत्रमा र ४० उपभोग तथा घरजग्गा खरिदका लागि लगानी हुँदै आएको छ । चतरा सामुदायिकलाइ यस भेगकै अब्बल संस्थाको रुपमा स्थापित गराएका छाैं ।
संस्थाले आफैंले डेरी फर्म सञ्चालनमा ल्याएको छ । सदस्यबाट उत्पादन गरेको दुध पनि संस्थाले लिने गरेको छ । दैनिक २ हजार लिटर दुध सदस्यहरुबाट संकलन हुने गरेको छ । संस्थाले सञ्चालन गरेको फर्मबाट भने ८५० लिटर उत्पादन हुँदै आएको छ । संस्थाको फर्ममा बाच्छाबाच्छी र माउ गरेर १७५ वटा गाई रहेका छन् । ७० वटा गाई दुहुना छन् भने ४० वटा ब्याउने अवस्थामा रहेका छन । बाँकी बाछी र कोरली रहेको व्यवस्थापक खत्रीले जानकारी दिए । संस्थाले कृषि फर्मका लागि ३ करोड लगानी गरेको छ भने त्यसका लागि १० बिगाहा जमीन समेत खरिद गरेको छ । संस्थाले आफ्नै पुँजीबाट कृषि फर्म सञ्चालन गरिरहेको उनले जनाए । संस्थाले सहकारी बैंकबाट ऋण लिएको तर त्यो भने परियोजनामा लगानी नगरी सदस्यहरुमाझ नै गरेको छ । नजिक जंगल क्षेत्र भएकाले बेसार खेती शुरु गर्ने योजना बनाएको भएपनि त्यसलाई हाल स्थगित राखेर डेरी फर्मलाई नै थप अगाडि लैजाने योजनाका साथ अघि बढेको उनले बताए ।
संस्थाले यस वर्ष १ हजार जनालाई सहकारी शिक्षा दिने कार्यक्रम बनाएको छ । जसमध्ये ४ सय जनालाई शिक्षा तालिम दिइसकेको छ भने यस वर्ष बाँकी ७ सय जनालाई सहकारी साक्षरता तालिम दिँदै जाने संस्थाले जनाएको छ । १५० जना सदस्यलाई सहकारी तथा कृषि तालिम र २५० जनालाई सहकारी अवलोकन भ्रमणमा लैजाने कार्यक्रम संस्थाको रहेको छ । यी सबै कार्यक्रममार्फत् १३५० सदस्यलाई सहकारी शिक्षा, तालिम तथा भ्रमणमा जोड्ने योजना रहेको उनले सुनाए ।
समुदायमा आधारित संस्था भएको र सदस्य नै संस्थाको मालिक भएकाले कुनै समस्या नपरेको उनको भनाई छ । ‘कतिपय संस्थामा आन्तरिक समस्या छ, त्यहाँ सञ्चालकहरुले मनोमानी ढंगले संस्था चलाएको हुनुपर्छ,’ उनले भने, ‘संस्थागत सुशासन र सिस्टममा चलेका संस्थामा कुनै समस्या छैन ।’
संस्था २५ वर्ष पुरानो भइसकेकोले सदस्यहरुले बैंकलाई भन्दा बढी विश्वास गर्ने गरेको उनले बताए । ‘बैंकमाभन्दा सदस्यको कारोबार सहकारीमा बढी छ । हामी चौबीसै घण्टा सेवा दिइराखेका हुन्छौं । सेवालाई अझ व्यवस्थित बनाउन लागिपरेका छौं ।’
संस्थाले दीर्घकालिन बचत अर्थात अनिवार्य बचतलाई अघि बढाएको छ । सदस्यले क्षमता अनुसार मासिक २ सय देखि १ हजार रुपैयासम्म नियमित बचत गर्ने गरेका छन् । संस्थामा त्यस्तो बचत नै १५ करोडको हाराहारीमा पुगेको छ । ऐच्छिक बचतमा सदस्यको ४ करोड जति रहेको छ । ३ वर्षसम्मका लागि स–साना आवधिक बचतहरु लिने गरिएको छ । संस्थामा सीमित सदस्यको मात्रै ठूलो बचत रहेको छैन । धेरै सदस्य भएकाले थोरैथोरै बचत भएपनि त्यसको भोल्युम वृद्धि हुँदै गएको छ । कुल बचतमा नियमति बचतको हिस्सा ३०–३५ प्रतिशत हुन आउँछ । त्यही मात्रमा दीर्घकालिन बचत पनि रहेको छ । यो सबै जोड्दा संस्थामा ५० प्रतिशतभन्दा बढी दीर्घकालिन बचत रहेको छ । सानो बचत लामो समयको लागि संस्थाले लिने गरेको उनको भनाई छ ।
संस्थाले सदस्यहरुलाई मात्र ऋण लगानी गर्ने गरेको छ । सदस्यहरुले बचत फिर्ता माग्न आउँदा ऋणमा मिलान गर्न सक्ने व्यवस्था रहेको छ । संस्थाले लघुवित्त समुह बनाएर काम गर्दै आएको छ । ५ देखि ९ जना सम्मका ६०० लघुवित्त समुह गठन भएको छ भने १२३ केन्द्र रहेका छन् । ४ हजार सदस्य ती समुह र केन्द्रमा आवद्ध छन् । संस्थाले सहकारीको मोडलमा लघुवित्त कार्यक्रम सञ्चालन गरेको र त्यसले सदस्यहरुको आयआर्जनमा टेवा पु¥याएको उनले बताए ।
संस्थाले एकडेढ वर्ष अघिसम्म ९ प्रतिशतमा कृषि ऋण र १२–१३ प्रतिशतसम्ममा अन्य ऋण लगानी गर्दै आएको थियो । अहिले ब्याजदर बढेकाले १३ देखि १६ प्रतिशतसम्ममा ऋण लगानी गर्ने गरेको व्यवस्थापक खत्रीको भनाई छ । संस्थाका कुल सदस्यमध्ये ९५ प्रतिशत महिलाको सहभागिता रहेको उनले जनाए । संस्थाले कार्यक्षेत्र विस्तार गरी नयाँ नयाँ ठाउँमा सेवाकेन्द्र विस्तार गर्ने योजना बनाएको छ । प्रकाशपुर क्षेत्रमा ३०० नयाँ सदस्य बनेका छन्, त्यहाँ छिट्टै सेवा केन्द्र खोल्ने संस्थाको तयारी छ ।
संस्थाको अबको योजना सदस्यहरुलाई बढिभन्दाबढि उत्पादनमूलक क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने रहेको छ । उत्पादन वृद्धि गरी बजारीकरण र प्रशोधन कसरी गर्न सकिन्छ भनेर रणनीति बनाउन संस्था लागेको छ । बचतऋण भन्दा पनि उत्पादन र बजारीकरण गर्ने नै संस्थाको उद्देश्य रहेको छ । सदस्यले जति दुध उत्पादन गरेपनि संस्थाले लिने गरेको छ । सदस्यलाई दूधमा सरकारले दिने भन्दा ५ रुपैया बढि दिने गरेको उनले बताए । ‘अन्य उत्पादनमा कसरी जान सकिन्छ भनेर अध्ययन अगाडि बढाएका छौं,’ उनले भने, तीनचार सय सदस्यले कृषिमा लगानी गरेका छन् । बराह क्षेत्र व्यवसायिक एरिया भएकाले संस्थाबाट ऋण लिएर धेरै सदस्यले व्यापारव्यवसाय गर्दै आएका छन् । गाउँमा बस्नेले पशुपालन, कुखुरापालन, बाख्रा, बंगुर र भैसीपालन गर्ने गरेका छन् । आफुले खाने आफैं उत्पादन गर्छन् र बाँकी रहेको बजारमा लगेर विक्री गर्छन् ।’ उनले भने ‘बजारमा आर्थिक मन्दी भएको उनीहरुलाई खासै अनुभव नै छैन ।’ ‘पैसा कम भयो भने लत्ताकपडा ३ महिनाको साटो ६ महिनामा फेर्न सक्छन्,’ उनले थपे, ‘सदस्यबाट बचत आउने क्रममा कुनै अवरोध देखा परेको छैन । आर्थिक मन्दीको कुनै असर संस्थामा छैन ।’
(सुनसरीकाे बराहक्षेत्र नगरपालिकामा रहेकाे चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीका व्यवस्थापक खत्रीसँगकाे संक्षिप्त कुराकानीमा आधारित)