बुधबार, भाद्र ३ गते २०८३

धमाधम नयाँ सहकारी दर्ता, समयमै सचेत नभए जोखिम निम्तने खतरा

श्रावण २७, २०७८ बुधबार
धमाधम नयाँ सहकारी दर्ता, समयमै सचेत नभए जोखिम निम्तने खतरा

 

सहकारी संस्थाहरुको संख्या अधिक भयो भन्दै एकिकरणको माध्यमबाट संख्या घटाउनुपर्ने बहस चलिरहेका बेला धमाधम नयाँ संस्थाहरु दर्ता भइरहेका छन् । सहकारीको संख्या सबैभन्दा धेरै रहेको बागमती प्रदेशमा समेत नयाँ सहकारी दर्ता रोकिएको छैन । विभिन्न उद्देश्य राखी सहकारीहरु दर्ता भइराखेका छन् । भइरहेका संस्थाहरु नै धेरै भएको अवस्थामा नयाँ संस्था दर्ता हुँदा यसले भोलिका दिनमा वित्तीय जोखिम ल्याउन सक्ने सम्भावना देखिन्छ ।

सहकारीकर्मीहरु स्वयंले सहकारीको संख्या अधिक भएको स्वीकार्दै आएका छन् । समान प्रकृति र एउटै कार्यक्षेत्रभित्र रहेका संस्थाहरुबीच एकिकरण गरी सबल र सुदृढ संस्था बनाउनुपर्नेमा अभियान र राज्य दुवैको जोड रहेको छ । तर अझैपनि एकथरि मानिसहरु नयाँ संस्था दर्ता गरी नाफा कमाउने सोचमा रहेका पाइन्छन् । सहकारीका संख्या सँगै वित्तीय अपलचन, अस्वस्थ प्रतिष्पर्धा र विकृति सबैभन्दा बढि बागमती प्रदेशमा नै देखिएको छ । तर पनि ऐनमा भएको व्यवस्था भन्दै प्रदेश रजिष्ट्रार कार्यालयले भटाभट नयाँ संस्था दर्ता दिइरहेको छ ।

बागमती प्रदेशका सहकारी रजिष्ट्रार विक्रम पाण्डेले आफुहरुले नयाँ सहकारी संस्था दर्तालाई प्राथमिकता नदिएको बताउँछन् । त्यति हुँदा हुँदै पनि ३ वर्षको अवधिमा ११० वटा संस्था दर्ता भएको उनी स्वीकार्छन् । यति धेरै नयाँ संस्था दर्ता दिनु भएछ नि भन्ने जिज्ञासामा पाण्डेले भने ‘१३ जिल्लामा ११० वटा संस्था थपिनु आफैंमा धेरै होइन । अझैपनि दर्ताको लागि दवाव आएकोआयै छ, थामिसाध्य छैन । संस्था दर्ता दिन दवाव व्यापक छ । अहिले पनि धेरै संस्था दर्ताका लागि पाइपलाइनमा छन् ।’ रजिष्ट्रार पाण्डले थपे ‘कानुनले नरोकेको विषयमा मैले के गर्न सक्छु । नियमावलीको नियम ५ को सम्पूर्ण प्रक्रिया पूरा गरी आएका निवेदनका आधारमा संस्था दर्ता रोक्न मिल्दैन ।’

विधायकहरुले नै ऐन बनाउँदा संस्था दर्ताको प्रावधान राखेकाले कार्यालयले यसलाई रोक्न नसक्ने उनले उल्लेख गरे । ‘कानु बनाउन विधायकलाई यो कुरा भन्नुपर्याे,’ उनले भने, ‘कानुनले रोके यो कुरा स्वतः रोकिन्छ, कानुनले नरोके कसैले रोक्न सक्दैन ।’

प्रदेशले बढीमा ३ जिल्ला कार्यक्षेत्र रहेको संस्था दर्ता दिन सक्छ । प्रदेशको पहिलो प्राथमिकता मर्जर नै भएको उनले दोहो¥याए । अहिले कृषि र उपभोक्ता जस्ता नाममा नयाँ संस्था दर्ता गर्ने र त्यसलाई भविष्यमा बचतऋण सहकारीमा एकिकरण गर्ने गरी संस्थाहरु दर्ता भएका देखिन्छ । बचत ऋणको उद्देश्य राखेर सहकारी दर्ता गर्न सहकारी विभागले रोक लगाएकोले बहुउद्देश्यीय, कृषि र अन्य प्रकृतिका नाममा असरल्ल संस्थाहरु थपिएका छन् । जुन उद्देश्यका नाममा संस्था खुले पनि केहि समयपछि बचतऋणमा परिणत गर्ने मनसाय सबैमा देखिन्छ । अर्कोतर्फ बचतऋण सहकारी चलाइरहेकाहरुले एकिकरणमार्फत कार्यक्षेत्र बृद्धि र सेवा केन्द्र विस्तार एवं प्रदेश कार्यालयले दिने सुविधा उपभोग गर्नका लागि पनि संस्था दर्ता गर्नेहरु देखिएका छन् ।

त्यसैगरी २ हजार भन्दा बढि शेयर सदस्य र २ करोड भन्दा बढि शेयरपुँजी भएको संस्थाको हकमा प्रतिहजार सदस्य बराबर एउटा सेवा केन्द्र दिनसक्ने कानुनी व्यवस्था रहेको उनले सुनाए तर त्यसको पालना भने भएको पाईंदैन । कतिपय बचतऋणको कारोबार गर्ने सहकारी संस्थाले एकिकरण बिना नै धमाधम सेवाकेन्द्र विस्तार गरिरहेका छन् ।

कतिपय संस्थाले प्रदेशको सहमति नलिइ  स्थानीय तहको स्वीकृतिका आधारमा सेवाकेन्द्र खोलेको उनी स्वीकार्छन् । कोभिड १९ को महामारी रहेको र अनुगमनका लागि १३ वटै जिल्लामा पुग्न असम्भव भएकाले यस्तो बेथिति आएको उनी स्वीकार्छन् । बचतऋण सहकारीले एक पटकमा एउटा भन्दा बढि स्थानीय तह थप कार्यक्षेत्र नपाउने कानुनी व्यवस्था भएपनि त्यसको कार्यान्वयन नभएको पाइएको छ ।

सेवा केन्द्र विस्तारमा बेथिति देखियो नि भन्ने प्रश्नमा पाण्डेले भने, ‘कुनै संस्थाले जतिवटा जिल्ला कार्यक्षेत्र भएको संस्था मर्ज गर्छ उति नै उसको कार्यक्षेत्र बढ्छ । धेरै कार्यक्षेत्र भएको संस्थासँग मर्ज ग¥यो भने कार्यक्षेत्र प्रदेशभर हुन्छ र प्रदेशभर कार्यक्षेत्र भएको संस्थासँग मर्ज गरेमा उसको कार्यक्षेत्र मुलुकभर हुन्छ । यो ऐनले गरेको व्यवस्था हो । यहि गतिमा संस्था दर्ता हुँदै गए सहकारीको संख्या एकदुई वर्ष एकलाख नाघ्ने भन्दै उनले संघीय मन्त्रालयले परिपत्र जारी गरेर भएपनि संस्था दर्ता रोक्नु पर्ने बताए ।

कल्याणकारी साकोसका व्यवस्थापक कुमार खत्री  सेवा केन्द्र खोल्ने विषयमा प्रदेश ऐन र केन्द्रिय ऐनमा धेरै मापदण्ड पूरा गर्नुपर्ने उल्लेख भएको तर ऐन आउनुभन्दा अगाडि सानासाना संस्थाले समेत ५—१० वटा सेवा केन्द्र स्वीकृत लिएर राखेको बताउँछन् । कानुन नभएको बेलामा राजनीतिक प्रभावले गर्दा जथाभावी सेवाकेन्द्र खोल्न दिइएको छ । उनले भने 'अहिले पनि संस्था खोल्न र सेवा केन्द्र दिन कुनै अध्ययन गरिएको छैन । स्थानिय तह र प्रदेशमा आएपछि त झनै अनुगमन भएन ।' 
संस्था खोल्ने र चलाउने दुवै विषय व्यवस्थित हुन सकेको छैन । सहकारी हेर्ने खरदार, सुब्बालाई मेयरले हप्काईदप्काई गरेर सेवा केन्द्र खोल्न दिएको अवस्था पनि छ । प्रदेशमा पनि उस्तै अवस्था छ ।  

अर्कोतर्फ कतिपय सहकारीकर्मीहरु नयाँ सहकारी दर्ता र सेवा केन्द्र विस्तारमा कडाई गरिनुपर्ने बताउँदै आएका छन् । आर्थिक चलखेल र पहुँचका आधारमा संस्था दर्ता गर्दा यसले जोखिम निम्त्याउने भन्दै यसतर्फ सरोकारवाला सबै सचेत हुनुपर्ने उनीहरु औंल्याउँछन् । हाल कायम रहेका संस्था नै बढि भएको अवस्था नयाँ संस्था दर्ता दिँदा झन् बेथिति बढ्ने र सदस्यको बचतमा डुब्ने खतरा रहेकाले विशेषगरी सम्बन्धित निकायको ध्यान यसमा जानुपर्नेमा उनीहरुको जोड छ ।

बजेट बक्तब्यमा गरिबी निवारण कोषमार्फत खुलेका ३० हजार समुहलाई सहकारीमा परिवर्तन गर्ने कुरा आएको छ । ७५३ वटा पालिका, ७ प्रदेश र संघीय संरचनाले दशबीस वटाका दरले मात्रै संस्था दर्ता दिने हो भने पनि केहि वर्षमा नै सहकारी संस्थाको संख्या थामिनसक्नु हुने देखिन्छ ।