राष्ट्रिय सहकारी महासम्मेलन हरेक पाँचपाँच वर्षमा गर्ने घोषित कार्यक्रम नै हो । यस अघि २०७४ सालमा महासम्मेलन भएको थियो । आगामी चैत्र २३ देखि २५ गतेसम्म तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन गर्न गइरहेका छौं । अहिले विषम परिस्थिति सिर्जना भएको छ । विश्व अर्थतन्त्र नै संकटमा रहेको कारण मुलुकको अर्थतन्त्र पनि समस्यामा परेको छ । मुद्रास्फिति उच्च भएको, आयात अधिक र निर्यात न्यून भएका कारण व्यापार घाटा बढ्दो छ । त्यसको असर बैंक तथा वित्तीय र सहकारी संस्थामा परेको छ ।
तरपनि विश्वव्यापी रुपमा सहकारीले खेलेको भूमिका र नेपालमा पनि सहकारीले कसरी काम गरिराखेका छन्, वर्तमान अवस्था कस्तो छ र सहकारीका चुनौतिहरु के के हुन् ? ती चुनौतिको सामना गर्दै सहकारी अभियानलाई कता लैजाने भन्ने मार्गनिर्देश महासम्मेलनले गर्नेछ । वर्तमान अवस्थामा सहकारी क्षेत्रमा आएका समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रिसोर्स पर्सनहरुले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । त्यसमाथि छलफल हुन्छ र विज्ञ व्यक्तिहरुबाट थप फिडब्याक आउँछ । सन् २०३० सम्म नेपालको सहकारी अभियानलाई कहाँ पु¥याउनुपर्छ भन्ने निक्र्यौलका साथ प्रतिवद्धतापत्रहरु सार्वजनिक गरेर महासम्मेलनको समापन गर्छौं ।
सहकारीसँग सम्बन्धित धेरैवटा विषयहरुमाथि छलफल हुन्छ । ८ सय भन्दा व्यक्तिहरु देशविदेशबाट सहभागि हुनुहुनेछ । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) र एसिया प्यासिफिक क्षेत्रको बोर्ड मिटिङ पनि नेपालमा नै हुन्छ । एशिया प्रशान्त क्षेत्रिय कृषि सहकारी संस्थाहरु (नेडाक) को सञ्जालको मिटिङ पनि नेपालमा नै हुँदैछ । देशविदेशका सहकारी अभियन्ताहरु महासम्मेलनमा सहभागी हुनुहुँदैछ । र उहाँहरुबाट पनि मार्गनिर्देश हुनेछ । आइसिए बोर्ड अध्यक्षले भिडियोमार्फत सन्देश दिनुहुनेछ । सहकारी संस्थालाई लोकतान्त्रिक गभर्नेन्सको मोडलबाट कसरी लैजान सकिन्छ भन्ने विषयदेखि आइसीएले अगाडि सारेको कोअपरेटिभको आइडेन्टीटी र यसले कसरी सुन्दर विश्व निर्माण गर्छ भन्ने विषयमा पनि महासम्मेलनमा छलफल हुन्छ ।
‘सहकारीको दिगोपनाः स्वनियमन र सुशासन’ भन्ने थिम यो वर्षका लागि तय गरेका छौं । त्यसलाई कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि गहन छलफल हुनेछ । सहकारी क्षेत्रका केहि कमीकमजोरी छन् त्यसलाई सुधार गर्दै अगाडि जानुपर्छ । सहकारीमा स्वनियमन र सुशासनलाई कसरी बलियो बनाएर लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल हुन्छ । अहिले विश्व प्रविधिमैत्री भएर अगाडि बढेको सन्दर्भमा समग्र सहकारी अभियानलाई पनि कसरी प्रविधिमैत्री बनाउने भन्नेमा पनि छलफल गर्छौं ।
विश्वको अभ्यासलाई हेर्ने हो भने शुरुमा धेरै सहकारी संस्था खुल्ने र पछि त्यसलाई मर्ज गरेर बलियो संस्था बनाएर आफ्ना सदस्यका सबै आवश्यकतालाई पूरा गर्न सक्ने संस्था बनाउने गरेको देखिन्छ । एकिकरणमा लामो अनुभव भएको राष्ट्र जापानका श्रोत व्यक्तिले प्रस्तुतिकरण गर्नुहुनेछ । आर्थिक सामाजिक समावेशीकरणमार्फत महिला र युवाहरुलाई कसरी सहकारीमा आवद्ध गर्न सकिन्छ, कृषि क्षेत्रको उत्पादन वृद्धि र व्यवसायिकरणलाई पनि कसरी सहकारीमार्फत अगाडि बढाउनदेखि संस्थागत सफलताका लागि केके टुल्सहरु आवश्यक पर्छ भन्ने विषयमा पनि छलफल हुन्छ । दिगो विकास लक्ष्य पूरा गर्न सहकारीले कसरी भूमिका खेल्नुपर्छ, ३ खम्बे अर्थनीतिमा सरकार, सहकारी र निजी क्षेत्र कसरी सँगै मिलेर जान सकिन्छ भन्ने विषयमा पनि छलफल हुनेछ । अहिलेको समस्या, चुनौति र सम्भावनाहरुलाई केलाउँदै आगामी दिनमा सहकारी अभियानलाई कसरी अगाडि बढाउन सकिन्छ ? ३ खम्बे अर्थनीतिमा एउटा खम्बाको भूमिका सहकारीले खेल्न सक्छ भन्ने निचोडका साथ सम्मेलन समापन गर्छौं ।
अहिलेको चुनौतिलाई सामना गर्ने माध्यम महासम्मेलन हो । यसलाई चिरेर अगाडि बढ्न महासम्मेलनले मार्ग प्रशस्त गर्छ । अहिले देखिएको समस्याका बारेमा पनि बृहत् छलफल हुने भएकाले सम्पूर्ण सहकारीकर्मीलाई महासम्मेलनमा सहभागि हुन मेरो अपील छ । सहकारीमा देखिएका कमीकमजोरीहरुलाई हटाउने र वर्तमान चुनौतिलाई सामना गर्दै नेपालको सहकारी अभियानलाई अझ उचाइमा पु¥याउन सबैले एकतावद्ध भएर साथ सहयोग गरौं ।
(अध्यक्ष कँडेलसँगको कुराकानीमा आधारित)