एक साताकाे अवधिमा नियामकले ३ वटा बैंक बन्द गराएपछि अमेरिकी वित्तीय बजारमा तरंग उत्पन्न भएकाे छ । एक पछि अर्काे गरी छाेटाे अन्तरालमा ३ वटा प्रमुख बैंक टाट पल्टिएको घोषणापछि लगानीकर्ता त्रसित भएका छन् । सिलिकन भ्याली, सिल्भरगेट र सिग्नेचर नामक ३ बैंक टाट पल्टिएकाे हुन् ।
पछिल्लो पटक सिग्नेचर बैंकलाइ नियामकहरूले बन्द गराएका छन् । क्रिप्टो कम्पनीहरूको लागि लगानी गर्ने दुई ठूला अमेरिकी गन्तव्यहरू मध्ये एक रहेको सिग्नेचरलाइ न्यूयोर्क स्टेटका नियामकहरूले बन्द गरेको छ। ट्रेजरी, फेडरल रिजर्भ र फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त बैंकका निक्षेपकर्ता भने पूर्ण रूपमा सुरक्षित रहने भनिएको छ ।
सन् २०२२ डिसेम्बर ३१, सम्म सिग्नेचरमा ११० बिलियन डलर सम्पत्ति थियाे भने ८८.५९ बिलियन डलर निक्षेप रहेकाे थियाे । न्युयोर्क डिपार्टमेन्ट अफ फाइनान्सियल सर्भिसले बैंकलाई आफ्नो नियन्त्रणमा लिएको छ।
सिग्नेचरभन्दा अघि मार्च ८ मा नै सिल्भरगेट बैंक पनि बन्द भएको छ । यी दुवै बैंकले क्रिप्टो कम्पनीहरूलाई वास्तविक समयमा डलरमा एक्सचेञ्ज गर्न दिन्छन्। दुबै क्रिप्टो बैंकहरू बन्द भएपछि, डलरमा रकम फिर्ता पाउने सम्भावना न्यून भएको छ ।
शुक्रबार मात्रै अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंक बन्द गराइएको थियो। बचतकर्ताको पैसा असुरक्षित हुने सम्भावना देखिएपिछ नियामकहरूले यो बैंक बन्द गराएर डिपोजिटहरु नियन्त्रणमा लिएका हुन्। सेकेण्डरी मार्केटमा बैंकको स्टकको खराब प्रदर्शन पछि बैंकका ठूला निक्षेपकर्ता फटाफट निक्षेप फिर्ता लिन पुग्दा (बैंक रन) यस्तो स्थितिमा ब पुगेको जनाइएको छ ।
४० वर्षदेखि सञ्चालित सिलिकन भ्याली अमेरिकाको १६ औं ठूलो बैंक हो। सन् १९८३ मा स्थापित, बैंक लामो समयदेखि अमेरिकामा आइटी कम्पनी र क्रिप्टो कम्पनीलाई बढी ऋण दिने बैंकको रुपमा चिनिएको थियो।
क्रिप्टो फर्महरुलाई दिएको कर्जा र पछिल्लो समय बढेको ब्याजदर तथा क्रिप्टो मार्केटमा आएको संकटले बैंक डुब्ने स्थितिमा आएको हो। बैंकले दुई खर्ब ९ अर्ब अमेरिकी डलर बराबरको ऋण दिएको थियो भने बैंकमा एक खर्ब ७५ अर्ब अमेरिकी डलर बराबरको निक्षेप थियो ।
उक्त बैंकले तरलता व्यवस्थापन गर्न नसक्दा निक्षेपकर्ताको पैसा फिर्ता गर्न सकेको थिएन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एसभीबीमा २ लाख ५० हजार अमेरिकी डलरसम्म निक्षेप भएका निक्षेपकर्ताहरू भने सुरक्षित रहने जनाइएको छ । बैंक डुबे पनि दुई लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेप बिमा कम्पनीले फिर्ता दिने प्रावधान रहेको छ ।