शनिबार, कार्तिक ८ गते २०८३

सहकारीका समस्या लिपिवद्ध गरेर ल्याउनुस्, समाधानकाे पहल गर्छुः मन्त्री राई

फाल्गुण १४, २०७९ आइतबार
सहकारीका समस्या लिपिवद्ध गरेर ल्याउनुस्, समाधानकाे पहल गर्छुः मन्त्री राई

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रकाे समस्या समाधान गर्न आफू सकारात्मक रहेकाे बताएका छन् । ‘सहकारीका समस्या के हुन् लिपिवद्ध गरे ल्याउनुस्, समाधानकाे पहल म गर्छु’, उनले भने । 

आर्थिक मिडिया सञ्चालक संघ (इमान) ले आइतबार आयोजना गरेको ‘सहकारीको संकटका कारण र समाधानका उपाय’ विषय अन्तरक्रिया कार्यक्रममा बाेल्दै मन्त्री राइले हामी कहाँ काम गर्ने भन्दा पनि भाषण मात्र गर्ने प्रवृत्ति बढी रहेकाे भन्दै उनले आफू भने काम गर्न आएकाे जनाए । 

उनले  सबै सहकारी गलत नभएको भन्दै सबैलाई एकै बास्केटमा राख्न नहुने बताएका छन् । उनले गल्ती गरेका सहकारीहरुलाई कारबाही हुनुपर्ने बताए । केहि लोभी व्यक्तिका कारण सहकारीमा अहिलेको अवस्था सिर्जना भएकाे भन्दै उनले गलत गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए। समस्या समाधानका लागि कार्यदल बन्ने काम मात्र हुने गरेको भन्दै कार्यदलले दिएको सुझावलाई कार्यान्वयन गर्नु पर्ने मन्त्री राईको जाेड थियो । 

‘गाउँगाउँमा सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन् । तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । समस्या छन् भने समाधानका लागि पहल गर्नु पर्छ,’ मन्त्री राइले भने । सहकारीमा देखिएका समस्या समाधानका लागि आफू सधै सकारात्मक रहेको उनको भनाइ थियो ।