नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले स्थानीय सरकारले बीमालाई अनिवार्य गर्नुपर्ने जनाएका छन् । स्थानीय तह जनताको अभिभावक भएको भन्दै उनले सेवा प्रवाह गर्दा बीमा अनिवार्य गरे जोखिम न्यूनीकरण हुने बताएका हुन् ।
लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा बुटवल उपमहानगरपालिकामा भएकाे बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘स्थानीय सरकार जनताको अभिभावक हो, त्यसैले बीमालाई अनिवार्य गरेर सेवाप्रवाह गरेमा जोखिम न्यूनीकरण हुन्छ । घरको नक्सा पास गर्दा नै बीमा अनिवार्य गर्नुपर्छ । त्यसो भएमा कुनै घटनाबाट क्षति भएमा बीमा कम्पनीबाट नै क्षतिपूर्ति पाउने सुनिश्चितता हुन्छ ।’
अध्यक्ष सिलवालले भूकम्प, आगलागी, बाढी, पहिरो लगायतका विपत्तिमा राहत वितरणका लागि छुट्याइएको बजेट बीमामा सदुपयोग गर्नसके बीमाबाट सबैको जोखिम व्यवस्थापन हुन सक्ने औंल्याए ।
स्थानीय सरकारले बीमाका बारेमा बुझेपछि स्थानीय जनतासम्म बीमाका बारेमा जानकारी पुर्याउन सजिलो हुने उनले बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरी बीमाका समग्र विषयमा जानकारी दिएकोमा प्राधिकरणप्रति आभार प्रकट गरेका थिए । नागरिकको जीवन तथा सम्पत्तिको जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्नका लागि बीमालाई प्राथमिकतामा राखिने उनले जनाए ।
उपमहानगरपालिकाकी उपप्रमुख सावित्री देवी अर्यालले पहिलो प्रयासका रूपमा न्यून आय भएका बर्गको बीमा गर्ने कार्यलाई अगाडि बढाइने र बीमाको पहुँच विस्तारका लागि उपमहानगरपालिका सम्बद्ध सबै निकायसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयसँगको समन्वयमा जीवन तथा निर्जीवन बीमालाई प्रभावकारीरूपले अगाडि बढाउने र त्यसमा कुनै कमी कमजोरी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।